-समर प्रतिक
छिमेकी मुलुक चीन यतिबेला भाइरस संक्रमणका कारण जटिल स्वास्थ्य परिस्थितीबाट गुज्रीरहेको छ । यतिबेला चीनलाई छिमेकी राष्ट्र तथा अन्य मुलुकबाट साथ सहयोग मात्र होईन दरिलो आँट र भरोषा पनि चाहिएको छ । छिमेकी हुनुको नाताले नेपालले चीनलाई सहायता दिनु र धैर्य रहन आँट दिनु आवश्यक छ । जसरी नेपालले विपत्ती भोग्दा चिनियाँ सरकार र नागरिकले निस्वार्थ सहयोग दिएका थिए, त्यसरी नै गुनको बदला गुन नेपाल र नेपालीले चीनलाई दिन आवश्यक छ । के सरकार के नागरिक सबैले संयमतापुर्वक सकारात्मक रुपमा सहयोग गर्न नसके छिमेकी हुनुको नाता र धर्म हामीसँग रहने छैन । तर यसबिचमा नेपालीहरु, विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ता र सञ्चारमाध्यमहरुले डर त्रास फैलाउने हेतुले चीनका बिषयमा र चीनमा फैलिएको कोरोना भाईरसका बिषयमा समाचार तथा विभिन्न टिकाटिप्पणी दिने गरेका छन् ।
माघ २९ गते मुलुककै सर्वाधिक हेरिने अनलाईनखबर डट कम ले ‘कोरोना तत्काल रोकथाम नभए साढे चार करोड मानिसको मृत्यु हुन सक्ने’ शिर्षकमा समाचार प्रकाशित ग¥यो । नेपालमा सबैभन्दा बढी हेरिने अनलाईनखबरमा प्रकाशित सो समाचारलाई लिएर धेरै नागरिक आतंकित भए । सो समाचारमा हङकङको पब्लिक हेल्थ मेडिसिनका प्रोफेसर ग्रेबियल लेउले गरेको आकलनलाई उल्लेख गरिएको थियो । कुनै एक प्रोफेसरको आकलनलाई शिर्षक दिएर समाचार बनाउदा त्यसले चीनप्रति हाम्रो सहानुभूति सदासयता फिक्का बनाईदियो । यतिबेला हामीले सकारात्मक शिर्षक राखेरै समाचार दिएर पनि चीनको आत्मविस्वास बढाउन आवश्यक छ ।
सैगरि नेपालमा सञ्चालित विभिन्न आयोजनामा चिनियाँ लगानी र चिनिया कामदार कार्यरत पनि छन् । कोरोना भाईरसको संक्रमणपछि केही असरमा चालु आयोजनाहरुमा परेको नै छ । स्वयं चीन यतिबेला सबै आयोजना काम र नयाँ योजनालाई थाती राखेर भाईरससँग लडिरहेको बेला हामीकहाँ सञ्चालित आयोजनाहरुमा सामान्य प्रभाव स्वभाविक हो । हाम्रा विस्वासिला सञ्चारमाध्यमले चिनियाँका कारण आयोजना रोकियो भन्ने सन्देश प्रशारण गरेका छन् । यसले पक्कै पनि नेपालीमाझ चिनियाँ छवि धुमिल्याउने काम गर्दछ । सरकारले चीनमा रहेका नेपाली नागरिकलाई नेपाल ल्याउँदै छ । विभिन्न प्रकृया र प्रयास पछि सरकारले आफ्ना नागरिक नेपाल ल्याउदैछ यो सकारात्मक पाटो हो तर यहाँ नेपालमा सरकारले आफ्ना नागरिक मर्नकै लागि चीनमा छोडेजसरी भ्रमपुर्ण सामाग्री सञ्चारमाध्यमहरुमा प्रशारण र प्रकाशन गरिएको छ ।
गएको डिसेम्बर अन्तिम साताबाट फैलिएको कोरोनाको संक्रमणबाट हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । केही तथ्यांक आधिकारिक रुपमा नआए पनि संक्रमण हजारौमा भैसकेको छ र ति उपचारका क्रममा छन् । तर नेपाली सञ्चारमाध्यमा चिनियाँ सरकारी तथ्यांकबाहेकका अन्य स्रोतलाई उद्धृत गरेर मृतक र संक्रमितको संख्या उल्लेख गर्दै समाचार लेखेका छन् । यसले चीनमा रहेका नेपालीमा पर्ने असर र आफन्त चीनमा रहेका यहाँका परिवारमा पर्ने असर ति सञ्चारमाध्यमले नजरअन्दाज गरिरहेका छन् ।
आफ्नो सबैभन्दा ठुलो शत्रु चीनलाई ठान्ने अमेरिकाले चीन पुगेका नागरिकलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएर विषवमन गरेको छ । तर हामी दुई मुलुक एक अर्काका शत्रु होईनौ । विकासका सारथी हौं । मित्रराष्ट्र हौं । एक मुलुकलाई परेको संकटमा अर्को मुलुकको सरकारले मात्र होईन नागरिकले पनि जिम्मेवार सञ्चारमाध्यमले पनि विभिन्न संघ संस्थाले पनि मित्रवत् व्यवहार र साथ दिन जरुरी छ ।
विभिन्न समयमा नेपालमा भएका प्राकृतिक प्रकोप– भूकम्प÷बाढीपहिरोजस्ता आपतका बेला चीनले महत्वपूर्ण सहयोग गर्ने गरेको छ । नेपालले चीनमा संकट पर्दा उसले आफूलाई गरेजस्तै सहयोग गर्न नसके पनि कम्तीमा छिमेकीको पीडामा नुनचुक छर्कने हर्कत गर्नु हुँदैन।
कोरोना भाईरसको संक्रमणपछि चीनको वुहानका विद्यार्थीलाई उद्धृत गर्दै केही नेपाली सञ्चारमाध्यमले शौचालयकै पानी पिउनुपरेको भ्रामक समाचार सम्प्रेषण गरे । के साँच्चै उहानमा नेपाली विद्यार्थी शौचालयकै पानी पिएका छन् त ?
बेइजिङस्थित चिनियाँ अन्तर्रा्ष्ट्रिय रेडियो (सिआरआई)को नेपाली सेवामा ‘विदेशी विशेषज्ञ’ चेतनाथ आचार्य भन्छन्, ‘चीनका हरेक क्षेत्रमा वितरित पानी उमालेर पिउन योग्य हुने खालको छ । राजधानी बेइजिङ होस् वा चीनका अन्य सहरका होटलका धारामा आउने पानी उमालेर पिउन सकिन्छ । पाँचतारे होटलमा आउने पर्यटकले समेत त्यही धाराको पानी उमालेर पिउने गरेका छन् । पाँचतारे होटलमा प्रयोग हुने पानी नै अन्य बसोबास क्षेत्र र विश्वविद्यालयहरूमा वितरण हुने गरेको छ । छात्रावास अथवा कुनै पनि बसोबास क्षेत्रका धाराको पानी पनि उमालेर प्रयोग गर्न सकिन्छ÷भइरहेको छ । कोही धनाढ्य र उच्चस्तरका व्यक्तिले मिनिरलवाटर मात्र पिउलान् अथवा कसैले पाँचतारे होटलमा मात्र खाना खालान् त्यो कुरा सबैमा लागू नहोला ।’
विना तथ्य भ्रमपुर्ण समाचार प्रकाशन र प्रशारण गर्दा चीन नेपालबिचको सम्बन्ध बिग्रन सक्छ । हाम्रो आपतमा जिम्मेवार हुने छिमेकीलाई परेको अप्ठ्यारो हामीले रुखो व्यवहार गर्नु राम्रो होईन । एकजना चिनियाँ लेखक वाङ वेनले भनेका छन्, चीनमा कोरोना भाइरस फैलिएको छ, केही चिनियाँ भाइरसबाट संक्रमित पनि छन्, तर यसको अर्थ चीन रोगी मुलुक होइन ।’ हामीले त मुलुक नै रोगीभए जस्तो करोडौं मर्ने भनी त्रास फैलाईरहेका छौं । हामीले फैलाएको त्रास कुनै पश्चिमा मुलुकले चीनलाई गरेको विभेदपुर्ण व्यवहारजस्तै त भइरहेको छैन ? सचेत बनौं ।
कोरोना भाईरससँग लडिरहेको चीनको यो लडाँइमा साथ दिउँ र भनौं, ‘ प्रिय चीन, दुःखमा हामी पनि सँगसँगै छौं ।’