सविना पौडेल
कुनै जमाना थियो सञ्चार, पत्रकार भनेको के हो थाहा थिएन, तर सञ्चारमाध्यमले भनेका हरेक कुरा सत्य हुन्छन् भनेर मलाई मेरो घर अनि समाजले सिकाएको थियो । सोच्थेँ, ओहो ! यो त कस्तो राम्रो क्षेत्र रहेछ । सबैले रेडियो, टिभीमा सुनेका कुराहरू सजिलै पत्याउने रैछन् । त्यसपछि विस्तारै बुझ्दै गएँ, यो त राष्ट्रको चौथो अङ्ग नै रहेछ । मलाई गर्व लाग्न थाल्यो पत्रकार र सञ्चारमाध्यमप्रति । मनले अठोट लियो, ल अब तँ पनि ठूलो भएपछि पत्रकार बन्नुपर्छ, समाजका न्याय अन्यायका बारेमा खुलेर बोल्न सक्ने हुनुपर्छ । अहिले पत्रकार र पत्रकारिता भनेको मज्जाले बुझ्ने भैसकेँ । २०६९ सालबाट पत्रकारिता क्षेत्रमा यात्रारत छु तर मैले पत्रकारमा सन्तुष्टि देखेकी छैन । समाजका बारेमा खुलेर बोल्ने पत्रकार आज आफ्नै बारेमा बोल्न हिच्किचाइरहेका छन् । जिल्लामा हुँदा राष्ट्रियस्तरका मिडियामा त शोषण छैन होला भन्ने लाग्थ्यो, जब राष्ट्रियस्तरको मिडियामा पुगेँ अनि थाहा पाएँ । राणाशासन व्यवस्था हटेको होइन, परिमार्जन भएको मात्रै हो । त्यसैको ज्वलन्त उदाहरण बनिसकेका छन् कतिपय ठूला मिडिया हाउसहरू । कर्मचारी राख्ने बेला मुसो बनेर कुरा गर्ने, एग्रिमेन्ट भैसकेपछि बाघजसरी गर्जिने, केही दिन तिनै कर्मचारीबाट काम लिने अनि बिस्तारै मानसिक तनाव दिएर राजीनामा दिन बाध्य बनाउने । यस्तै प्रवृत्तिले कहिलेसम्म पालिनुहुन्छ शासकहरू ? कुनै पनि पीडित कर्मचारीहरू केही दिन बोल्छन् अनि सेलाउँछन् भन्ने मनसाय छ भने अब त्यो भ्रम मात्रै हो । हामी बोलेकै छैनौँ बोल्न सुरु गरेका मात्रै हौं, जब बोल्छौँ न्याय नपाउञ्जेल रोकिँदैनौँ ।
स्वास्थ्य अवस्था ठिक हुञ्जेल लदाएर काम लिने मिडिया हाउसले कर्मचारीलाई अप्ठ्यारो परेको बेला मानवता देखाउनु त परको कुराउल्टै राजीनामा माग्छन् ।
हामीहरू आफ्नो दुनो सोझ्याउनका लागि मात्र होइन हरेक पत्रकारहरूको दु.खमा बोल्छौँ । दिनरात खटिएर कति छाक खानासमेत खान नभ्याई परिश्रम गरेका पत्रकारले कार्यालय छोडेको चार÷पाँच वर्षसम्म पनि पारिश्रमिक पाउन सकेका छैनन्, कस्तो लाजमर्दो कुरा ! आफ्नो पारिश्रमिक माग्दा प्रक्रिया पुगेन भन्ने सुनिन्छ । के हो त प्रक्रिया ?
कर्मचारीमाथि यस्तो दुव्र्यवहार गर्ने नियत थियो भने एग्रिमेन्टमा लेखिनुपर्ने थियो, केही प्रक्रियाहरू
१. कार्यालयले दिने मानसिक तनावलाई चुपचाप सहनुपर्ने छ ।
२. केही समय काम लिएपछि राजीनामा दिन बाध्य बनाइने छ ।
३. हामी शासकहरूको पेट भर्नका लागि बिनामूल्य परिश्रम गर्नुपर्ने छ ।
४. हाम्रोबारेमा बाहिर नराम्रो समाचार आएमा थप दबाब दिइने छ ।
यस्तै–यस्तै प्रक्रियाले चलिरहनुभएको छ अनि हजुरहरू नै सिकाउनु हुन्छ कर्मचारीलाई प्रक्रिया ? प्रतिष्ठित न्युज च्यानल भन्दै जुन अहमतामा अडिनुभएको छ नि, विचार गर्नु फेरि उभिनै लाज हुनेगरी खुट्टा चिप्लिएला ।
एक महिना आराम गर्नुपर्ने भाडा तिर्न धौ–धौ हुनेलगायत विविध समस्याका कारण उहाँले आफ्नो स्कुटी बेचिदिनु भएछ ।
एउटा प्रतिष्ठित मिडिया हाउसले पनि एक महिला पत्रकारमाथि अस्वभाविक व्यवहार गरेको छ, जुन कुरा यहाँ उठाउन आवश्यक देखेँ । मैले तपाइँप्रति गरिएको व्यवहारका बारेमा लेख्दैछु भनेर जानकारी गराउँदा उहाँले “उक्त मिडियाको नाम नखुलाउनु है फेरि मलाई गाह्रो होला” भन्नुभयो । यो कस्तो विडम्बना ? पत्रकारमाथि नै भएको दुव्र्यवहारका बारेमा पनि पत्रकार आफैँ खुलेर बोल्न सक्ने अवस्था छैन । मलाई २०७६ कार्तिक २३ गते करिब दिउँसो दुई तीन बजेको समयमा फोन आयो । हतार गर्दै काठमाडौँ मेडिकल कलेज पुगेँ । दिउँसो रिपोर्टिङ्गबाट फर्किएर खाजा खान बाहिर निस्किएकी पत्रकार साथीको स्कुटीलाई ट्याक्सीले ठक्कर दिएछ । उहाँको दायाँ खुट्टा फ्याक्चर भयो । म पुग्नुअगावै, नेपाल प्रहरीको टोलीले काठमाडौँ मेडिकल कलेज पुर्याइसकेको थियो । त्यसदिन उहाँको कार्यालयमा मैले आफैं खबर गरिदिएँ । एक महिना आराम गर्नुपर्ने भएपछि कार्यालयमा इमेल र फोनमार्फत जानकारी गरायौँ, “हुन्छ ठीक भएपछि आउनु होला ।” भन्ने कुरा आयो कार्यालयबाट । एक महिनासम्म कार्यालयबाट कुनै फोन आएन, बिदाको अवधि सकिएपछि कार्यालय जान लाग्नुभयो । खुट्टा पूरै निको नभएकाले राम्रोसँग हिँड्न नमिल्ने भएपछि ‘केही दिन मलाई अफिसभित्रकै काम दिनुस् निको भएपछि रिपोर्टिङ्गमा जान्छु’ भनेर एचआरमा कुरा राख्नुभयो । कुरा राखेको केही दिनमै कार्यालयले राजीनामा माग्यो । उहाँले चुपचाप राजीनामा दिनुभयो । स्वास्थ्य अवस्था ठिक हुञ्जेल लदाएर काम लिने मिडिया हाउसले कर्मचारीलाई अप्ठ्यारो परेको बेला मानवता देखाउनु त परैको कुरा उल्टै राजीनामा माग्छन् । अनि आफूमाथि गरिएको व्यवहारका बारेमा बोल्न खोज्दा नानाथरी डर देखाएर दबाब दिन्छन् । समयमा तलब नदिने अनि स्वास्थ्यमा समस्या देखिएपछि राजीनामा माग्ने ?
कोठा भाडा तिर्न धौ–धौ हुनेलगायतका विविध समस्याका कारण उहाँले आफ्नो स्कुटी बेचिदिनु भएछ । यो सुनेर निकै मन दुख्यो । यस्तै–यस्तै प्रवृत्तिबाट गुज्रिएका छन्, कयौँ नाम चलेका मिडिया हाउसहरू अनि यस्तै चपेटामा परिरहेका छन् पत्रकारहरू । अब केका आधारमा पत्रकार सन्तुष्ट देखिने ?
“धन्न लिपुलेक र लिम्पियाधुरामा विशेष खोज गर्न कार्यालय खोलेको रै’नछ, नत्र त्यतै पोष्टिङ हुने रैछन् बरा पत्रकारहरू ।”
“नेपालका दुर्गम जिल्लामा मात्रै किन ? अरब मलेसियातिरै खटाइदिएको भए हुने ।”
“सिधै तलब दिन सक्दैनौँ भन्न नसकेपछि सरुवाको बहाना बन्यो ।”
केही समयअघि फेसबुक भरि देखिएका यस्ता पोस्टले नेपाली मिडियाको हैसियत उदाङ्गो भएको छ । आफ्ना कर्मचारी जहाँ काम गर्न सक्दैनन् भन्ने लाग्छ त्यही ठाउँमा पोष्टिङ, जान सके जाऊ, नसके राजीनामा देऊ ।
वाह ! नेपाली मिडियाको लाजमर्दो प्रवृत्ति । आफ्नो भविष्य नै मिडियामा देखेर लागेका कैयौँ पत्रकारहरू जसले आजसम्म समय, बौद्धिकता र केही महिनाको तलबसमेत लगानी गरेका छन् उनीहरूसँग गरिएको यस्तो व्यवहारदेखि के ती मिडियाहाउसलाई कहिल्यै हिनताबोध होला ?
कोरोनाकै कारण देखाएर श्रमजीवी पत्रकार कटौती गरिरहेका धेरै सञ्चार गृहलाई पत्रकार महासङ्घले दबाब दिएपछि एक सञ्चारगृहले आफ्ना पत्रकारलाई पुनः राखेछ तर २८ दिन बेतलबी बिदा भन्दै दुई दिनको पारिश्रमिक दिएको कुरा पनि बाहिर आयो । नेपाली मिडियाको दुर्गती भनौँ या मिडिया मालिकहरूको राणाशासन प्रवृत्ति ? दुई चारजना कर्मचारीलाई पनि एक महिनाको पुरा तलब दिन नसक्ने, कथित प्रतिष्ठित मिडियाका सञ्चालकलाई आफ्नै कार्यालयमा कति कर्मचारी छन् भन्नेसमेत हेक्का हुँदैन । मिडिया मालिकसँग देखभेट नै नहुँदै कतिपय कर्मचारीले एग्रिमेन्ट गर्छन् र राजीनामा दिन्छन् । यस्ता क्रियाकलापमा मुख्य भूमिका निभाइरहेका हुन्छन् बिचौलिया पत्रकारहरूले । मालिकसँग मिलेर सहकर्मीमाथि यतिसम्म दुव्र्यवहार गरिरहेका हुन्छन् कि उनीहरू आफैं कार्यालय छोडेको भन्दै राजीनामा लेख्न बाध्य भैरहेका छन् । केही हदसम्म पीडित पत्रकार हरूको पनि कमजोरी छ, एउटै कार्यालयमा काम गरिरहेका उस्तै समस्या भोगिरहेका कर्मचारीले पनि लाजले हो या घमण्डले गर्दा हो खुलेर एकअर्कासँग यी कुराहरू सेयर गर्दैनन् । जसको फाइदा बिचौलिया पत्रकारहरूले सहजै उठाइरहेका छन् ।
सञ्चार क्षेत्र पनि लागुऔषधजस्तै रहेछ जति गाह्रो भएपनि छोड्न नसकिने । आफूले राम्रो गर्छु भनेर मात्रै पनि कहाँ सम्भव छ र बाहिरी जिल्लाबाट काठमाडौं आएर समयको ख्याल नगरी हरपल खटिएका पत्रकार, समयमा तलब नपाएपछि जीविका धान्न कति मुस्किल हुन्छ भन्ने कुरा कहिले बुझ्छन् मिडिया सञ्चालकहरूले ?
एभिन्युजमा मात्रै होइन, एउटै मिडियामा टिक्ने वातावरण कतै पनि छैन । किनभने, क्षमता भएका व्यक्तिहरू कहिल्यैपनि हिंसा सहेर बस्दैनन्, अरुको थिचोमिचोमा बस्नै रुचाउँदैनन् ।
म एभिन्युजको पूर्व कर्मचारी भएकाले त्यहाँ हुने राम्रा÷नराम्रा हरेक व्यवहारको बारेमा जानकार छु । सबैको बुझाई एउटै नहोला तर मैले बुझेसम्म सम्वाददाता नहुने हो भने डेस्कमा बसेर सम्पादन गर्ने सम्पादकज्यूको खासै काम हुन्छ जस्तो लाग्दैन । ‘काम हुन्छ है’, भनेर कसैले तर्क गर्नुहुन्छ भने त्यहाँ कपी, एडिट र पेस्टले काम चलिरहेको हुन्छ । एक दिन मैले एक सम्पादकलाई सोधेँ
“यो हेरिदिनुस् त यसलाई कसरी लेख्ने होला ?”
उहाँले जवाफ दिनुभयो “यो स्कुल होइन मैले तपाइँलाई सिकाएर बस्न, यो कार्यालय हो ।”
अहो ! मैले त भुसुक्कै बिर्सिएको रहेछु उहाँ त गर्भबाटै सम्पादक बन्छु भनेर जन्मिनुभएको रहेछ, उहाँलाई केही सिक्नै परेन ।
हो, यस्तै सम्पादकहरू हुनुहुन्छ जो आफूभन्दा माथिकालाई ज्यूहजुर गर्ने अनि माथिको कुण्ठा लिएर सम्वाददातालाई पोख्ने । यस्तो बिडम्बना एभिन्युजमा मात्रै होइन अरु धेरै मिडियाहाउसमा देखिन्छ । काम छोडेको वर्षौँ बितिसक्दा पनि बक्यौता रकम पाइएको थिएन । उल्टै कार्यालयबाट धम्कीपूर्ण पत्र आएपछि एभिन्युजका पीडित पत्रकारहरूले असार २३ गतेबाट चरणबद्ध आन्दोलन सुरु गरेका थियौँ । त्यसैबेला एक पत्रकार साथी मेनुका रावतले पोष्ट्याउनु भएको फेसबुक स्ट्याटसमा एउटा कमेन्ट देखेँ, “राम्रो मान्छे एभिन्युजमा किन टिक्दैन ?” एभिन्युजमा मात्रै होइन, एउटै मिडियामा टिक्ने वातावरण कतै पनि छैन । किनभने, क्षमता भएका व्यक्तिहरू कहिल्यैपनि हिंसा सहेर बस्दैनन्, अरुको थिचोमिचोमा बस्नै रुचाउँदैनन् । लेखेर खाने हामी जहाँ गएपनि लेख्न सक्छौँ भन्ने आत्मविश्वास सधैँ कायम राख्नुपर्छ ।
गत श्रावण २२ गते बिहानै एउटा ब्लग देखेँ, जसमा यस्तै आत्मविश्वास प्रष्ट देखिएको थियो । कुनैपनि संस्था वा कम्पनीले टेलिभिजनबाट विज्ञापन हटाएकै कारण उक्त संस्था वा कम्पनीको बदख्वाइँ गर्ने गरी समाचार लेख्न टेलिभिजनले दबाब दियो तर त्यसरी पितपत्रकारिता गर्नुपर्छ भने जागिर नै छोड्ने पक्षमा आफू रहेको कुरा प्रष्ट्याएको केही समयमै पत्रकार सुमन शर्माको जागिर खोसियो । त्यसैले कुनै पनि मिडिया हाउसले यस्तै दुव्र्यवहार गर्छ भने त्यस कार्यालयका पत्रकार एकजुट हुनुपर्छ । पछिल्लो समय एभिन्युजका पूर्वकर्मचारीहरू एउटा उदाहरण नै बने, पुरा तलब नपाएकाहरूको एक सङ्गठन बन्यो, सामाजिक सञ्जालमार्फत आन्दोलन सुरु भयो । पहिले त उक्त टेलिभिजनले अनेक कुरा गर्दै टार्न पनि खोज्यो तर एकजुट भैसकेका पूर्व कर्मचारीका अघि केही चलेन, दुई तीन वर्ष अघिबाट तलब नपाएका पूर्वकर्मचारीले तलब पाए, अहिले त्यही टेलिभिजनमा कार्यरत धेरै कर्मचारीले यो पहलको तारिफ पनि गरेकै हुन् ।
नोट ः यो लेख प्रेस काउन्सिल नेपालको त्रैमासिक प्रकाशन संहिताको २०७७ अशोज अंकमा प्रकाशित छ ।









































