-आहुती
२००७ सालभन्दा अगाडिको नेपाली समाज स्वतन्त्रताको युगको चाहना राख्ने समाज थियो । सात सालसम्मको यात्रा चाहे त्यो लोकतान्त्रिक धारा होस् वा २००६ सालबाट शुरु भएको कम्युनिष्ट धारा । यी दुवैको मुख्य उदेश्य सामन्तवादी एकतन्त्रीय राणा शासनबाट स्वतन्त्र हुने थियो । सात सालको परिवर्तनपछि ०१७ सालसम्म, पञ्चायतकाल र पञ्चायतपछि २०६०÷६२ सालसम्म नेपाली समाजमा रहेका विभिन्न उत्पीडनहरु, वर्गीय, जातमा आधारित,जातीय,लिङ्गीय,क्षेत्रीय र धार्मिक रुपले समेत उत्पीडित र शोषितहरुले यी तमाम प्रकारका उत्पीडनहरु विरुद्ध आफ्नो अधिकार स्थापना गर्न चाहेको काल देखिन्छ । २००७ भन्दा अगाडी स्वतन्त्रताको चाहनाको युगको रुपमा र त्यस पछि २०६२÷६३ सम्मचाहीँ अधिकार स्थापनाको चाहनाको कालको रुपमा बुझ्नु नै सही हुन्छ । नेपालमा शुरुदेखि राजनीतिका दुई धारा छन् । एउटा हो पुँजीवादी धारा जसले नेपालमा सामन्तवादको अन्त्य गर्न चाहन्थ्यो । त्यसको सबभन्दा प्रतिष्ठित नेताको रुपमा इतिहासमा बी.पी.कोइराला रहे । त्यस धाराले मोटामोटी ४० को दशक शुरु हुने बेलासम्ममा राजतन्त्रसगँको अन्तरविरोध वा लडाईलाई त्यागिदियो । त्यो धाराले गरेको एउटा राम्रो काम चाहिँ २०१६ मा विर्ता उन्मुलन ऐन ल्याएर ’क’ वर्गको विर्ता उन्मुलन गर्ने काम ग-यो । त्यो काम इतिहासमा अहिलेसम्मकै जस दिन मिल्ने काम थियो । त्यस बाहेक त्यसले पञ्चायत विरोधी आन्दोलन वा राजनीतिक स्वतन्त्रताको निम्ति संघर्ष गरे पनि अरु ठोस योगदान दिन सकेन । राजतन्त्रको विरोध समेत त्यागेकाले यो लोकतान्त्रिक भनिने पुँजीवादी धाराले सामन्तवाद विरोधी संघर्ष पनि ठीक ढंगले सञ्चालन गर्न सकेन । त्यसकारण सामन्तवाद विरुद्धको संघर्षमा अर्को राजनीतिक धारा अर्थात् कम्युनिष्ट धारा एक वा अर्को रुपमा प्रभावशाली हुँदै आयो ।
०४६ सालको परिवर्तनसम्म पुग्दा उत्पीडित वर्ग र समुदायको आशा पञ्चायत गएपछि आफ्नो अधिकार पनि स्थापना हुन्छ भन्ने थियो । तर पञ्चायतको अन्त्य हुँदा सात सालकै जस्तो मोटामोटी संवैधानिक राजतन्त्र इत्यादीमा सीमित हुने स्थिति बन्यो । त्यसले सात सालपछि थुप्रिदै आएको जातीय, वर्गीय, क्षेत्रीय,लिंगीय अधिकारका मुद्धाहरु चाहीँ समाधान हुनुको साटो झन् झन् थेग्रिन चुलिन पो थाल्यो । त्यही पृष्ठभूमिमा नेकपा (माओवादी)ले ०५२ सालबाट जनयुद्ध शुरु गर्यो । जनयुद्ध सन् १९७६ सम्म अर्थात् माओसम्मले विकास गरेको माक्र्सवादमा आधारित थियो जबकि माओसम्मको विकास स्वयम् चीनमा अपुग भएर चीनमैं प्रतिक्रान्ति भैसकेको हो । त्यतिखेरसम्मको कम्युनिस्ट आन्दोलन माओले देखाएको बाटोमा अघि बढ्ने कि नबढ्ने भन्ने प्रश्न वरपर मात्र केन्द्रीत थियो । माओले देखाएको बाटोमा अघि बढ्दा पनि विश्व परिस्थितिमा आइसकेको परिवर्तनका कारण माक्र्सवादीमा थप विकास कुन कुन विषयमा कति आवश्यक छ भन्नेतिर खासै वहस थिएन । माओको योगदान मान्ने कम्युनिष्टहरुबीच पनि दुईवटा खेमा थियो । नेकपा(माओवादी) ले वस्तुगत परिस्थिति जनयुद्धको निम्ति तयार भएको मान्दथ्यो भने अरु युद्धको निम्ति वस्तुगत परिस्थिति तयार नभैसकेकाले जनसंघर्षकै बाटो तत्काल अड्नुपर्ने मान्दथे ।
यसै सेरोफेरोमा तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा २०५२ फागुन १ बाट जनयुद्ध शुरु भयो । त्यो नेपालको अहिलेसम्मको इतिहासमा नेपाली जनताले सबभन्दा माथिल्लो स्तरको बलिदानसहित परिवर्तनको निम्ति गरेको पहल थियो । त्योभन्दा अगाडि पनि हतियार उठाउने काम त भएका थिए तर त्यो स्तरको थिएन र वर्गसचेत र सैद्धान्तिक रुपमा पनि त्यस उचाईमा दिशामा थिएनन् । त्यो पहलकदमिपछि सरकारले दमनको नीति लियो । किलो सेरा टु आदि । जनयुद्ध २००७ सालदेखि ४६ सालसम्म उत्पीडित वर्ग र समुदायका थेग्रिएका मुद्धामाथिको भावभूमिमा उभिएको थियो । जनयुद्धको क्रममा दुईवटा कुरा महत्वपूर्ण देखिन्छ । एउटा, कार्यनीतिमा हदैसम्मको लचक हुने क्षमताको प्रदर्शन । कतिपयले त यसलाई प्रचण्डपथ पनि भने तर त्यो होइन । अर्को , ०५५÷५६ सालपछि नेपालमा जात, जाति,लिंग र क्षेत्रको मुद्धा जनयुद्धले व्यवस्थित रुपमा उठाउने प्रयत्न गर्यो , जुन चाहीँ दक्षिण एशियामै नयाँ प्रयोग थियो । मुख्यतः भारतीय कम्युनिष्टहरु बर्ग भन्दै वर्ण व्यवस्थाको कोणबाट जातमा आधारित उत्पीडनबाट टाढा रहे । जनजाति वा जातिका सवालमा पनि नीति ठोस हुन सकेको थिएन । उनीहरु परम्परागत वर्गको कुरामा मात्र जोड दिइरहेका हुन्थे । नेपाली कम्युनिष्ट आन्दोलनको कुरा गर्दा पनि पुष्पलालले अलि अलि उठाउन खोजेको देखिन्छ । उनले तीन ठूलालाई आधार बनाएर तीन वटा प्रान्त बनाउने कुरा गरेको देखिन्छ तर यो मूर्त छैन । जनयुद्धको क्रममा कम्युनिष्ट पार्टीको सैद्धान्तिक र रणनीतिभित्र राखेर जातगत, जातीय , क्षेत्रीय र लैंगीक मुक्तिको विषयलाई उठाइयो । त्यो अलि नयाँ प्रयोग मात्रै थिएन नेपाली समाजको सापेक्षतालाई पक्रने प्रयत्न पनि थियो र यसले ह्वात्तै मानिसहरुको समर्थन वृद्धि भयो । त्यसले कहिले हतियार बोक्न नपाएका महिलालाई हतियार दियो , दलितहरुलाई हतियार दियो , जनजाति, मधेशी, कर्णाली जस्ता क्षेत्रलाई स्वायत्तताको सपना दियो । यसले नेपाली समाज जुन जुन उत्पीडनको कारण थेग्रिरहेको थियो त्यसलाई झक्झकाउने काम गर्यो । ब्यापक जागरण उत्पीडित समुदायमा देखा पर्यो ।
जनयुद्धले पहिलो कुरा उत्पीडित वर्ग , जाति क्षेत्र आदिमा व्यापक राजीतिक जागरण ल्यायो । हजारौ नेता कार्यकर्ता तल्लो वर्ग , जाति, क्षेत्र आदिबाट उत्पादन गर्यो । एक प्रकारले तत्कालीन राज्यविरुद्ध द्वैध सत्ताको स्थिति सिर्जना गर्यो । त्यहाँसम्म आउदा बलिदानहरु भए । दुनियाको इतिहास हेर्दा १० बर्षमा भएको बलिदान सापेक्षतामा धेरै नै चाहिँ हैन । यसले नेपाली समाजका आधारभूत अन्तरविरोधहरुलाई सतहमा ल्यायो । अन्तमा राजालाई काग्रेससम्मले पनि छाड्ने स्थितिमा ल्यायो । अर्को चाहिँ उत्पीडित बर्ग, जातिको मुद्धालाई केन्द्रीय राजनीतिको मुद्धा बनाउन सफल भयो । महिलाको मुद्धा पनि केन्द्रीय राजनीतिको मुद्धा बन्यो । त्यसै गरी मधेश, कर्णाली, सुदुरपश्चिमको क्षेत्रीय,जातिय उत्पीडन आदि मुद्धालाई पनि केन्द्र भागमा ल्यायो ।
वंशाणुगत राजतन्त्र अन्त्य गर्न पनि मुख्य भूमिका खेल्यो । त्यसै गरी संस्कृतिको क्षेत्रमा जनयुद्धले गाईको पवित्रतामाथि प्रश्न उठाउने प्रयत्न गर्यो । त्यो भनेको हिन्दुवादमाथि प्रहार गरेर भौतिकवादको बाटोमा लाने कोशिस हो । महिला र दलितलाई हतियार बोक्न दियो । यो पनि ठूलो कुरा हो । त्यो भनेको उनीहरुको शक्तिलाई , वैधानिकतालाई स्वीकार गर्नु हो । रुढीबादबाट मुक्त हुने दिशातिर यसले उत्प्रेरित गरिरहेको थियो । अन्तरजातीय विवाहको संस्कृतिको विकास त्यो सचेत प्रयत्न नभए पनि जनयुद्धको उपज चाहिँ थियो । पछि त्यस्ता विवाहरु टुटेको देखियो । त्यसको कारण भनेको जनयुद्धको राजनीतिक हार भएकाले भएको हो । जनयुद्धको राजनीतिक उपलव्धि नै उल्टिन्छ भने त्यो पनि भताभुङ्ग हुने नै भयो । किनभने नेताहरु नै भकाभक धार्मिकीकरण हुन थाले भने टिनेजरहरुले गरेको बिहे नटिक्नु त स्वाभाविकै थियो ।
बैचारिक रुपमा भने धेरै सबै विषयमा पछिल्लो कालमा जनयुद्ध अन्यौलग्रस्त थियो । जनयुद्धमा शहीद परिवार,घाइते आदिलाई राखेर कम्युन बनाइएको थियो । त्यो कम्युनबारे कोही पनि प्रष्ट थिएन । त्यो के गर्न खोजेको ? त्यो जनयुद्धका कारणले असहाय हुन पुगेका , भरणपोषणमा समस्या भएका साथीहरुको सामुहिक बासस्थान भनेको भए फरक पर्ने थिएन । त्यो केही पनि अध्ययन नगरी बनाइएको थियो र त्यो कम्युन थिएन । कम्युन नभएकैले त्यो भत्कियो । बैचारिक रुपमा माक्र्सवाद वा माओवाद जे भने पनि आजको युगअनुसार विकास गर्नु पर्ने थियो त्यहाँ त्यो देखिएन । प्रचण्डपथ भनिएको थियो तर त्यहाँ नयाँ कुरा केही थिएन । माओवादको कुरा प्रचण्डको खोज होइन । बब अबाकियनले भनेका हुन् ,पेरु कम्युनिष्ट पार्टीले भनेको हो , चीनकै कम्युनिष्ट पार्टीले एक पटक पारित गरेको हो लिन प्याओको प्रस्तावमा । माओ बहुमतमा आएपछि फेरी हटाइएको हो । त्यतिखेरको पार्टीमै पनि भक्तराज श्रेष्ठ हो प्रस्तावक माओवादको । कार्यनीतिकै कुरामा पनि प्रचण्डपथको नयाँ विकास केही होइन । त्यतिखेरै लेनिनले कार्यनीति २४ घण्टामा फेर्न सकिन्छ भनेर संश्लेषण गरिसकेकै हो । मेरो विचारमा प्रचण्डले विकास गर्न सक्थे , उनले दक्षिण एशियामा रहेको जात व्यवस्था,यहाँ रहेको जातिय र क्षेत्रीय उत्पीडनलाई मार्क्सवाद अन्तर्गत कसरी परिभाषित गर्ने ? वर्गीय मुद्धासँग कसरी जोड्न सकिन्छ भनेर विकास गरेको भए एउटा ठूलो संभावना थियो । २०५५/५६ पछि जनयुद्धमा जुन ज्यान आएको थियो , त्यसमा सबैभन्दा तल परेका दलित र थारुहरु बलिदानमा निम्ति गाँउका गाँउ सकिंदा पनि आए । तामाङ , मगर र अन्य जातिहरु आए । उनीहरु किन आए भन्दा नेपालमा आन्तरिक राष्ट्रियताको मुद्धा यसले सम्वोधन गर्छ भन्ने लागेर आएको हो । त्यसलाई माक्र्सवादमा विकास गर्न संभव थियो तर त्यतातिर ध्यान दिइएन । माओको अध्ययन र परम्परागत नेपाली कम्युनिष्ट आन्दोलनमा गरेको प्रयत्न र त्यतिबेलासम्मको बैचारीकी अनि त्यसमा कार्यनीतिक लचकता र नेपालको जातिय, क्षेत्रीय, लिंगीय कुरा उठाउनाले त्यो आन्दोलन चुनवाङसम्म पुग्यो । प्रचण्डपथको प्रस्तावक बादल जी हुनुहुन्थ्यो । किरण र बाबुराम समर्थक थिए । प्रचण्डपथको खजाना चुनवाङ बैठकमा पुगेपछि सकियो । त्याहाँभन्दा अगाडि जाने खजाना थिएन । मेरो अध्ययनमा जनयुद्ध प्रचण्ड बेइमान भएर सिध्याएको , नियत खराब भएर वा कायर भएर त्यो पछि हटेको भन्दा पनि उनीहरुसगँको खजाना सकिएर हो । माओले आधार क्षेत्र बनाउने भनेको थियो , त्यो अलिअलि बन्यो । चीन जत्रो बिशाल मुलुक त थिएन यो । अलिकति घेर्ने वत्तिकै गाउँ सकिन्थ्यो । त्यसपछि प्रचण्डले पटक पटक भनेको काडेतारको कुरा छ । त्यो भनेको आजको विश्वको गुरील्ला युद्ध , चलायमान युद्ध वा कुनै पनि युद्धको सबैभन्दा कमसल हतियार हो । अथवा त्यो हतियारै होइन । वास्तवमा २०५८ साल छि माओवादी विरुद्धको युद्धको जिम्मा अमेरीका र इन्डियाले लिए । उनीहरुले अर्थतन्त्रको क्षेत्रमा पनि नयाँ नीति लिए । उनीहरुले सदरमुकाममा पस्न नदिने , बैंक, सहकारी सबथोक शहरमा ल्याउने पैसा थुपार्ने । गाँउमा पैसा हुने ठाँउ हुदैन र नभए पछि त्यो एक्लिदै जान्छ र कमजोर हुदै जान्छ , सप्लाई पनि कम हुदै जान्छ भन्ने नीति लियो । यो रणनीतिमा अमेरीकी जर्नेलहरुले प्रशिक्षण नै दिए । नाईट भिजन हेलिकप्टर आदिको प्रयोग गरियो । त्यसो भएपछि माओवादीसित एउटा उपाय बाँकी थियो । सुरुङ युद्ध । चीन, भियतनाम, कोरीयनहरुले पनि लडेको त्यही सिकेको आधारमा डाँडा डाँडामा सुरुङ खन्न शुरु पनि भयो । जनयुद्धलाई राष्ट्रिय मुक्ति युद्धमा फेर्ने भन्ने नीति लिइयो तर सफल भएन । आजको युगमा पुरानो प्रकारको सुरुङ युद्ध सफल हुँदैन । आजको युगमा सुरुङ हेर्ने छ्याप छ्याप्ती प्रविधि छ । त्यो एक प्रकारको प्रोपोगाण्डा थियो त्यतिकै बिलायो ।
बिचारमा पनि विकास गरेको छैन, सैन्य रुपमा पनि साम्राज्यवादसँग लड्ने सैन्य रणनीतिको विकास पनि गरेको छैन भने पछि त्यो के हुन्थ्यो त ? जनयुद्ध अनिवार्य रुपमा खजाना सकिएको सिपाही जस्तो भयो ।
यसप्रकारले त्यो युद्ध किन फर्कियो त भन्दा नेतृत्वसँग बैचारिक रुपमा पनि नयाँ कुरा केही भएन । २१ औं शताव्दीको जनवाद के रहेछ भन्ने कुरा त एमालेसँग एकता गर्दा थाहा भैहाल्यो । बहुदलीय जनवादमा मिलाउन मिल्ने रहेछ भने पछि माक्र्सवादमा विकास थियो त त्यो ? त्यो त एउटा भ्रम थियो । प्रचण्डपथ पनि भ्रम थियो । बैचारीक खजाना र सैन्य रणनीति पनि सकिए पछि चुनवाङ बैठक, शान्ति प्रकृया भन्ने शुरु हुन्छ । निष्कर्ष के हो भने जनयुद्धले विचारमा मार्क्सवादको विकास गर्न सकेन । जसका कारणले ती उपलव्धिहरुलाई जस्ताको तस्तै थेग्न सकेन । माक्र्सवादमा विकास गरेको भए कि त क्रान्ति अगाडि जान्थ्यो कि त आफ्ना बर्गीय अडानहरुलाई नछोडी फेरि तयारी गथ्र्यो । वैचारीक तथा रणनीतिक विकास गर्न नसकेका कारणले आफैले उत्पादन गरेको, आफैले निर्माण गरेको बहुसंख्यक श्रमजीवी जनताको बीचमा उत्पादन भएको नेता कार्यकर्ता थेग्न सकेन । कतै चेतना नै भाषिनतिर गयो, प्रतिगमनतिर गयो, कोही आन्दोलन छाड्नेतिर गए त कोही गद्धार बन्नेतिर गए । अर्कोतिर राजनीतिक मुद्धाहरु जो केन्द्रीय भागमा ल्याएको थियो त्यसमा पनि टिक्न सकेन । माक्र्सवादमा विकास गर्न नसकेको हुनाले विकास गर्नु पर्ने दायित्व छाडेर माक्र्सवाद परित्याग गर्नेतिर गयो । दक्षिणपन्थतिर गयो मुल हिस्सा । त्यसपछि जो इमान्दार थिए, पार्टी क्रान्तिमा निष्ठापूर्वक हिडेका थिए, उनीहरुमध्ये केही नयाँ गर्न सकिन्छ कि भन्नेहरु त्यहाँबाट निस्किने कुरा भयो । निस्कने कुरा हुँदा पनि अहिले पनि विचारको विकासको मुद्धाचाहिँ हल भएको छैन । गलत चीजलाई साथ नदिने सही गर्नलाई महेनत गरौं भन्ने पक्ष विद्रोहमा निस्कनु सांगठनिक अभियान चलाउनु सराहनीय छ । त्यो हुनु पर्छ नियम पनि हो । अहिले विभिन्न समुहहरु त्यहाँबाट निस्किएर लागेका छन् । नेत्र विक्रम जीहरु लाग्नु भएको छ , मोहन बैद्य जीहरु लाग्नु भएको छ । गोपाल किरातीहरु लाग्नु भएको छ । नयाँ कम्युनिष्ट आन्दोलन निर्माणको निम्ति प्रयत्नरत हुनुहुन्छ । हामी पनि आफ्नो तरिकासहित नयाँ निर्माणको यात्रामा निस्केका छौ ।
नेपालको कम्युनिष्ट आन्दोलन आज जहाँ पुगेको छ, त्यहाँबाट अघि बढ्नका निम्ति जुन बैचारिकी निर्माण हुनु पर्नेछ माक्र्सवादको विकाससहित त्यो मुद्धामा छलफल गर्नु सच्चा नेपालको प्रगति चाहने र वर्ग संघर्षलाई अगाडी बढाउन चाहनेहरुको मुख्य कार्यभार हो । त्यो वैचारिक मुद्धा हल नभइकन माओको कालसम्म विकास भएको बैचारीकीले मात्र अब पर्याप्त छैन किनकि साम्राज्यवाद र विस्तारवाद त नयाँ सैन्य र अर्थतन्त्रसहित आएका छन् । त्यसलाई भेदन गर्ने गरी माक्र्सवादको विकास गर्न नसक्नु नै अहिलेको मुख्य दुर्भाग्य हो । व्यक्तिहरु कोही अवसरवादी हुन्छन् ,कोही विद्रोहमा जान्छन् , त्यो अर्कै विषय हो । मुल कुराचाहिँ माक्र्सवादको विकास हुन सकेन । अहिलेको विश्व साम्राज्यवादको राजनीतिक रणनीति, त्यसको अर्थतन्त्र र सैन्य रणनीतिसँग आजको सर्वहारा बर्गले कसरी लड्छ त ? भन्ने रणनीतिको विकासमा अहिलेका नेपाली कम्युनिष्ट क्रान्तिकारीहरुको सबभन्दा बढी बहस, छलफल र रणनीति निर्धारणका निम्ति कोशिस हुनु पर्छ । त्यसले मात्रै इतिहासमा भएका धेरै ठूला उपलव्धि र कमजोरीबाट शिक्षा लिएर अघि जान सकिन्छ ।