काठमाडौं ।
नेपालमा कोरोना भाईरसका कारण एकजना महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-९ निवासी २९ वर्षीया सावित्री तिम्सिनाको कोरोना भाईरसका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।
त्रिवि शिक्षण अस्पतालमा वैशाख २३ गते भर्ना भएर सुत्केरी भएपछि वैशाख २५ मा डिस्चार्ज भएकी उनको बिहीबार राति १० बजे धुलिखेल अस्पतालमा ज्यान गएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले शनिबार राति एक विज्ञप्ति जारी गर्दै उक्त कुराको पुष्टि गरेका हुन्।
त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएर घर फिरेकी उनलाई उच्च ज्वरोसहित श्वास फेर्न गाह्रो भएपछि धुलिखेल अस्पतालमा ल्याइएको थियो।
उनको नौ दिनको शिशु जिवित रहेका छन्। धुलिखेल अस्पतालमा कोरोना पोजेटिभ देखिएपछि उनको स्वाब पुन:परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनवस्वास्थ्य ल्याबमा ल्याइएको थियो। त्यहाँ दुई पटक गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो। उनमा कोरोना देखिएपछि धुलिखेल अस्पतालमै पति, नन्द र सासुको पनि स्वाब लिइएको छ। नेपालमा जम्मा संक्रमितको संख्या पनि २८१ पुगेको छ।
शव परिवारले छुन नपाउने
यसैबीच कोरोना भाईरस लागेर मृत्यु भएकी महिलाको महिलाको सुरक्षा निकायले दाह संस्कार गर्ने भएको छ ।
कोभिड–१९ भाइरसका कारण मृत्यु भएको व्यक्तिको शव सुरक्षा निकायको समन्वयमा दाहसंस्कार गर्ने व्यवस्था छ ।
कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधिमा हालसम्म शवको संसर्गबाट रोग अर्को व्यक्तिमा सरेको प्रमाण फेला नपरे पनि सावधानी अपनाउने भनिएको छ । साथै, शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार स्थलमा लानुपर्ने पनि भनिएको छ ।
मृतकको जथाभावी सदगतलाई पनि निषेध गरिएको छ । मृतकका आफन्तले शव हेर्न चाहेनमा नछोइ कम्तीमा एक मिटर टाढाबाट एकरएक जनालाई पालैपालो गरी हेर्न दिन सकिने कार्यविधिमा उल्लेख छ ।
कोभिड–१९ ले मृत्यु भएका व्यक्तिको सामान्यता पोष्टमार्टम गर्नु नपर्ने पनि कार्यविधिमा भनिएको छ ।