नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी राजधानी काठमाडौँ केन्द्रित गतिबिधि बढाएको छ । माओवादीले यही मङ्सिर ८ गते नेपाल कम्युनिष्ट पार्टीको ७ औं पुनर्गठन दिवस मनाउने भएको छ । सोही कार्यक्रमको प्रचारस्वरुप विप्लवका कार्यकर्ताले काठमाडौँका विभिन्न स्थानमा ब्यानर टाँसेका छन् ।
शनिबार बिहान सबैरै टोखा नगरपालिका–३,भूतखेलस्थित मालपोत कार्यालयको पर्खालमा अखिल क्रान्तिकारीले ब्यानर टाँगेको छ ।
विप्लवले राष्ट्रघात, दलालतन्त्र र भ्रष्टाचारबिरुद्ध एकजुट हुन र एकीकृत जनक्रान्तिमार्फत् वैज्ञानिक समाजवाद स्थापनाको लागिसमेत आह्वान गरेको छ ।
यसैबीच प्रहरीले विप्लव नेतृत्वको माओवादीका केही कार्यकर्तालाई पक्रेको छ । कोटेश्वरबाट तीनजना पक्राउ परेका छन् । मृगेन्द्र न्यौपानेको कोटेश्वर महादेवस्थान, सहयोगी नगर, घर नम्बर १ सय ५ को कोठाबाट न्यौपानेसहित हंसराज सैजुवाल र रमेश ओलीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका तीनैजनालाई नेपाल प्रहरीको बानेश्वर वृत्तमा राखिएको बताइएको छ ।