सुमन तिमिल्सेना
के राजा विरेन्द्र हुदा यो देश स्वर्ग थियो ? के राजा हुँदा नेपालको नक्सा टिस्टादेखि काँगडासम्मै थियो ? के वर्ग, जाति, धर्म, लिङ्ग, क्षेत्रका आधारमा कुनै विभेद थिएन ? के विकासको यात्रामा यो देशले स्वर्णपदक पाएको थियो ? के ३० वर्षको विरेन्द्रको शासन अवधिमा कानुनी राज्य थियो ? जनतामा कुनै शोषण दमन नै थिएन ? विभेद थिएन, छुवाछुत थिएन ? के पुरै प्रजातन्त्र कायम थियो ? मौलिक हकहरु सजिलै पुर्णतः पाइएको थियो ? राजनैतिक अधिकार सुनिश्चित थियो ? जनता सर्वोपरी थिए ? जनताको इच्छाको बहुतै कदर गरिन्थ्यो ?
२८ देखि ५८ को अवधि विरेन्द्रको शासन अवधी हो । हरेक मानिसमा गुण र अवगुण हुन्छन् । विरेन्द्रमा पनि कतिपय राम्रा गुण पक्कै थिए, उनको सरलता र राष्ट्रप्रेम सम्झनलायक होला । तर उनकै शासन अवधिमा जनताले अधिकार प्राप्तिको लागि सडक संघर्षदेखि हतियार बोकेर युद्द गर्नुपर्यो । २०२८/०२९ असफल झापा बिद्रोह, व्यापक जनदवाब तथा संघर्षपछि २०३६/०३७ जनमतसंग्रह घोषणा साथै चुनाव, सेना, प्रहरी तथा कर्मचारीको व्यापक दुरुपयोग गरी निर्दल विजयी, २०४२ सालमा देशैभरिका परिवर्तन पक्षधरहरुमाथि बमकाण्ड तथा राज्यद्रोहको मुद्दा, २०४६ सालमा ऐतिहासिक भनिएको जनआन्दोलन, शान्तिपुर्ण आन्दोलनबाट अधिकार सुनिश्चित नभएपछी देशैभर हत्या/हिंसा तथा दमन भएपछी २०५२ सालदेखी शसस्त्र माओवादी जनयुद्धको सुरुवात, २०४८ मा मन्त्रीपरिषद्को बैठकद्वारा वैदेशिक सहयोगमा चलेका उद्योगधन्दाहरु बन्द गर्ने निर्णय, मनखुशी पटक-पटक नजिकका आफ्ना स्तुतिगान गाउने र पाउमा दाम राखेर ढोग्नेहरुलाई प्रधानमन्त्री नियुक्ती तथा मन नपर्दा बर्खास्त । यी र यस्ता धेरै दुर्घटना बेहोरेकै उनको पालामा हो ।
भलै वंश नै विनास हुनेगरी आफ्नै दाजुभाइबाट मारिनु दुर्भाग्यको कुरा थियो । राजा, राजसस्था, र राष्ट्रमा संकट आइपरे मर्न र मार्न तयार छु भनेर कसम खाएको तत्कालिन शाही सेनाकै सुरक्षा घेराभित्र किन र कसरी मारिए ? रहस्यमय छ । मरेपछी महिमागान गाउने, स्तुतिगान गर्ने नराम्रा गुणहरु सबै भुलेरै माफी दिने भएर नै बाँच्दासम्म धेरै इमान्दार, देशभक्तहरुमाथी अन्याय भएको छ । दरबार हत्याकाण्ड, दासढुङ्गा हत्याकाण्ड बाँदरमुढे, सुखानी, रोल्पा, रुकुम, कैलाली, गौर लगायत ठाउँमा भएका सबै हत्याकाण्डहरुको निष्पक्ष छानबिन हुनुपर्छ । पीडितको घाउमा मलमपट्टी लगाउनुपर्छ । यसो गर्दा आजका नेताहरु जो मृत्युदेखि डराएर आफ्नो विवेक गुमाइराखेका छन् । देशै बेच्ने घृणित सम्झौताहरु गरिराखेका छन् ।
विरेन्द्र, मदन वा सुलेमान बन्न डराइरहेका छन् । उनिहरुको थोरै भए पनि डर कम गर्न सकिन्थ्यो कि ? हेग सम्झेर बारम्बार झस्कने कमरेड सुप्रिमो नाफाको जिन्दगी जनताकै सेवामा चढाउन डर मान्दैनथे कि ?
२०५८ मा दरबारमा भएको हत्याकाण्ड ग्रान्ड डिजाइन नै थियो । गिरिजा लगायतका सेनाका हाकिम तथा दरबारका एडिसी लगायतकालाई यो पहिल्यै थाहा थियो । घटना प्रत्यक्ष देखेका सैनिक प्रहरी तथा अन्य काम गर्ने कर्मचारीहरुलाई आंशिक सत्य थाहा छ । उनिहरुको मुख बन्द गराइएको छ । ज्ञानेन्द्रलाई राम्रै स्पेस (सेवा सुबिधा तथा भिभिआईपी सुरक्षा) दिइनुको पछाडि केही कारण पक्कै लुकेका छन ।
बयलगाढा चढेरै अमेरिका पुगेका ओलि बा देशको प्रधानमन्त्री हुनुहुन्छ । श्रीपेच खोलेर चुनाव लड्न आइबक्स्योस् महाराज भन्नेकै धर्मपत्नी श्रीपेच लगाउने ठाउँमा हुनुहुन्छ । तर पनि जनताको आसा भरोसालाई कुल्चदै सिङ्गो गणतन्त्र धरापमा पार्दै राष्ट्र र जनतामाथि घात प्रतिघात गर्दै अगाडि बढिराखेको कारण हिजो दुत्कारेको, जनता आफैँले लखेटेको राजा मागिरहेछन् । यो सानै रुपमा भएको भएपनि पछाडी फर्कने कुरा पक्कै राम्रो होइन । गणतन्त्र गरिब श्रमजीवि जनताको पक्षमा, राष्ट्रियताको पक्षमा दह्रो भएर उभिएनौं भने हामी हाम्रो पुस्ता र भावी पुस्ताले फेरि अधिकारको अर्को लडाइँ निर्ममतापुर्वक लड्नुपर्ने हुन्छ ।
Recent Comments