काठमाडौं ।
प्रधानमन्त्री केपि शर्मा ओलीले मुलुक कोरोना संक्रमणबाट मुक्त नहुँदासम्म आफुले पारिश्रमीक नलिने घोषणा गरेका छन् । नयाँ बर्ष २०७७ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले आफ्नो पारिश्रमीक कोभिड १९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको बताए ।
‘कतिपय मित्रहरुले चालु बजेटको विभिन्न शिर्षकमा रहेका श्रोतलाई रकमान्तर गर्न पनि सरकारको ध्यानाकर्षण गर्नुभएको छ । कतिपयले उच्च ओहदामा रहेका र जनप्रतिनिधिले पाउने सुबिधामा कटौती गर्न समेत सुझाव दिनुभएको छ ।’ सबै सुझावमा आफ्नो गम्भिर रुपमा ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘आवश्यक पर्दा हुनेको गास काटेर नहुनेलाई बचाउने त हाम्रो परम्परा पनि हो । मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना माहामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमीक कोभिड १९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।’
उनले कोरोना भाइरसविरुद्धको लडाइँ जित्नका लागि स्वास्थ्यकर्मीका सुझाव र सरकारका निर्देशन पालना गर्न आग्रह गरेका छन् । यस्तो संकटको बेला मन विचलित नबनाउन उनले सबै नागरिकलाई अपिल पनि गरेका छन् ।