
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ कि अध्यक्ष कौशिला पुडासैनीले देशमा सुरुवाती समयमै मनसुन सक्रिय भएर लगातार परिरहेको वर्षाबाट हुने क्षतिबाट सचेत हुन वडाबासीलाई आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले अबको करिब तीन महिना पहिरो र खहरे खोलामा आउने बाढीबाट हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै समयमै सचेतता अपनाउन आग्रह गर्नुभएको हो ।
वडाका ग्रामिण भू-भागमा धेरैजसो सडकमा व्यवस्थित नाली नभएकाले पानी परेको समयमा सडकबाट बग्ने र पानीले धार परिवर्तन गरी बस्ती र खेतीयोग्य जमिन प्रवेश गर्न सक्ने हुँदा बस्ती वरिपरि रहेका सडकबाट बग्ने पानीलाई खोल्सासम्म पुर्याउनको लागि समुदाय मिलेर काम गर्न उहाँले आग्रह गर्नुभएको छ ।
पुर्खाले खेतिपाती गर्दा काट्दै आएका पुराना भल पत्ता लगाइ सफाईको लागि ढिलो नगर्न समेत सुझाउनुभएको छ । त्यस्तै ठुला तथा साना पहिरो जाने सम्भाबित ठाउँ पहिचानको लागि आफ्नो घर तलमाथि जमिनमा चिराहरु देखिन सक्ने हुँदा पानी रोकिएको समयमा बेलैमा करिब तीन सय मिटर घर वरिपरि र तलमाथि गएर हेर्न र पत्ता लगाउन पनि उहाँले आग्रह गर्नुभएको छ । समस्या आइपरे नआत्तिकन सतर्क र संयमित हुन आग्रह गर्दै आफू जुनसुकै समयमा पनि वडाबासीको सेवामा समर्पित भएको हुँदा सहयोग चाहिए सम्पर्क गर्न आग्रह गर्दै फोन नम्बर सार्वजनिक गर्नुभएको छ ।
https://www.facebook.com/kaushila.pudasaini/posts/1966944620144894
यस्तो छ उहाँको सुझाव
आदरणीय वडाबासी आमाबुबा दाजुभाइ तथा दिदिबहिनीहरु देशमा मनसुन सुरुआती चरणमा नै लगातारको बर्षादले नुवाकोटलगायत देशका विभिन्न जिल्लामा साना तथा ठुला पहिरोका घटनाहरु घटिरहेका र अझै करिब 3 महिनाभित्र घट्न सक्ने हुँदा हाम्रो वडामा निम्न बमोजिमका संयमता अपनाउनुहुन हार्दिक अपिल गर्दछु ।
१. वडाका ग्रामिण भू-भागमा धेरैजसो सडक सञ्जाल व्यवस्थित नालियुक्त छैनन्, पानि परेको समयमा सडकबाट बग्ने र पानीले धार परिवर्तन गरी बस्ती र खेतीयोग्य जमिन प्रवेश गर्न सक्छ त्यसकारण बस्ती वरिपरि रहेका सडकबाट बग्ने पानी बस्ति नछिर्नेगरी समुदाय मिली खोल्सीसम्मै पुग्नेगरी तर्काउनुहोस् ।
२. पुर्खादेखि आफ्नो बाबुबाजेले खेतिपाति गर्दा काट्दै आएका पुराना भलहरु पहिचान गर्दै सफा गर्न ढिलो नगर्नुहोस् ।
३. ठुला तथा साना पहिरो जाने सम्भावित ठाउँ पहिचानको लागि आफ्नो घर तलमाथि जमिनमा चिराहरु देखिन सक्छन् पानी रोकिएको समयमा बेलैमा करिब ३०० मिटर घर वरिपरि र तलमाथि गएर हेर्नुहोस् र पत्ता लगाउने प्रयास गर्नुहोस् ।
४. जमिनमा चिरा देखिएमा त्यहाँबाट पानी नछिर्नेगरी प्लास्टिक को सहायताले केही माथिबाट नजिकको खोल्सासम्म भल तर्काउनु होस् र आफूलाई सुरक्षित महसुस गर्न पानी परुन्जेल कतै सुरक्षित ठाउँमा बस्नुहोस् ।
५. पानी परुन्जेल पहिरोको सम्भावित क्षेत्र छेउछाउ नजानुहोस् तुरुन्तै नजिकको स्थानीय निकाय, प्रहरी प्रशासनमा खबर गर्नुहोस् ।
६. साना पहिरो अत्यधिक हुने भएकले पहिरोको तल्लो भाग नचलाऊनुहोस् जस्ले अझै ठुलो पहिरो निम्त्याउन सक्छ बरु माथिल्ल्लो भागबाट पहिरोभरि पानी नछिर्ने गरी भल तर्काउनुहोस् । भल तर्काउदा कन्जुसाइँ नगरी खोल्सैसम्म पुग्नेगरी तर्काउनुहोस् ।
७. कतैको यात्रामा रहनुभएको छ भने सम्बन्धित ठाउँसम्म पुग्नुपूर्व सबै सूचनाहरु लिने प्रयास गर्नुहोस् ।
८. नअतिनुहोस् बरु सतर्क र समयमित रहनुहोस् । तपाईंको सेवामा सदैव सँगै हुँदा मेरो नं. ९८४९३३२४३९ मा सम्पर्कको लागि अपिल गर्दछु । धन्यवाद ।








































