-पुरुषोत्तम लम्साल
विश्वाशको जग भत्किएपछि
अघि बढ्नुअघि मान्छे
श्रीमानलाई एउटै सवाल गर्छ
दूरी कति छ
न्याय र श्रीमानबीच ?
मूल्य-अन्तर कति छ
न्याय र श्रीमानबीच ?
के श्रद्धाले झुकाउनु शीर
मन्दिरबाहिरको पत्थरलाई
जसको छातीमा
खुट्टा उचालेर भर्खरै तुक्र्याएका थिए
कुकुरहरुले ।
श्रीमान् !
मान्छेले फैसला नगरुन्
न्यायभन्दा तिम्रो मूल्य कम छ भनेर
मान्छेले फैसला नगरुन्
न्याय नै मरेपछि
न्यायाधीश पनि सुलीमा आकर्षक देखिन्छन् भनेर ।
श्रीमान् !
आवेग होइन
म विवेकले बोलिरहेको छु
न्याय मारेर न्यायाधीश बाँच्नुको के अर्थ ?
श्रीमान् !
म कानुनको दफा जान्दिन
म इमान र विवेकको दफा बोल्छु
जसले चिच्याएर भन्छ
बेइमानको ओखती मुर्खसँग मात्र हुन्छ ।
श्रीमान् !
मन्दिरको ढोकामा उभिएर
ठड्याएको छु चोरऔंला देउतालाई
प्रश्न गरेको छु लल्कार्दै
ईश्वर होस् तँ भने
रचना गरिस् किन अन्यायको भनेर ।
तिमी त न्यायको पनि होइन
न्यायाधीश हौ अदालतको
तिम्रो मूल्य म खोज्दिन
इजलाशबाहिर ।
श्रीमान् !
देउताले पनि खोस्न सक्दैन
मुड्की उठाउने मेरो अधिकार
तिम्रा देउतैले देखेका छन्
तिनका विरुद्ध मैले उठाएको मुठ्ठी।