काठमाडौँ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पर्यटन क्षेत्रका समस्या समाधानका लागि साझा मुद्दा बनाएर अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ । काठमाडौँमा भएको एक कार्यक्रममा उहाँले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालीन र तत्कालीन समस्या रहेको भन्दै साझा मुद्दा बनाएर अघि बढ्ने हो भने समस्याको समाधान हुने बताउनुभएको हो । मन्त्री तामाङले विदेशी लगानीकर्ताहरूलाई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीहरुले जोड दिनुपर्ने समेत बताउनुभएको छ ।
वैशाख तेस्रो हप्तामा सुरु हुने लगानी सम्मेलनलाई सफल बनाउन उद्योगी, व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने र अन्तर्राष्ट्रिय स्तरका लगानीकर्ताहरूलाई आह्वान गर्न आग्रह समेत गर्नुभयो । सबैले मिलेर नेपालमा लगानी गर्ने वातावरण बनेको छ भन्ने महशुस गराउनसके लगानी सम्मेलन सफल हुने उहाँको भनाइ थियो ।









































