काठमाडौं ।
प्रहरीले अबैध रुपमा लुकाईएको लाखौं थान माक्स बरामद गरेको छ । सतुंगलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई व्यापारी समेत पक्राउ परेका छन् ।
प्रहरीले विष्णुदेवी विन्दवासिनीस्थित एक घरबाट १ सय ७७ बोरा बरामद गरेको हो। अबैध माक्स कारोबारमा संलग्न आरडी सप्लायर्सका सञ्चालक सुरज गोयल र उनका साझेदार सुवास महेश्वरीलाई पक्राउ गरीएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
भारत राजस्थान घर भएका गोयल र महेश्वरीले कोरोना भाइरसको त्रास बढिरहेको मौकामा मास्कको कालोबजारी सुरु गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
बरामद गरिएको मास्क महानगरीय प्रहरी परिसर टेकु लगिएको छ । डीएसपी बोगटीका अनुसार कालोबजारीको मास्क टेकु लैजान ८ वटा ट्रक चाहिएको थियो ।
प्रहरीले यसअघि पनि आइतबार कपनमा १ लाख ६८ हजार थान मास्कसहित अजिम बक मियाँ र सज्जनकुमार रेग्मी र बा ७ च ७२६३ नम्बरको गाडी, गाडी चालक र हेल्परलाई समेत नियन्त्रणमा लिएको छ ।
शनिबार डल्लुबाट प्रहरीले १ लाख ६८ हजार थान मास्कसहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाकाल मञ्जुश्री ट्रेडर्सका सञ्चालक मिन्टु तामाङ, अनिस कार्की, उज्वल अधिकारी, मानकाजी लामा, थुमराज उपाध्याय, नृप कार्की, गणेश तामाङ र शिव खड्का छन् ।
कालोबजारी गरेको अभियोगमा बरामद भएका मास्कहरु सरकारले साझा औषधि पसलबाट बेच्ने तयारी गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिएसँगै बजारमा माक्सको कालोबजारी बढेपछि प्रहरीले सर्च अपरेसन चलाएर माक्स बरामद गरेको छ ।
बरामद भएका मास्क गोदाममा थन्किएका छन् । पक्राउ परेकाहरुलाई कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ अनुसार मुद्दा चलाइनछ र मुद्दाको टुंगो नगिसकेपछि मा जफत गरिएका वस्तु सरकारबाट बिक्री गर्न सकिने ऐनमा उल्लेख छ ।
तर महान्यायाधिवक्ता अग्नि खरेलले प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली र सम्वद्ध अधिकारीहरुलाई छलफलमा बोलाएर ऐन सच्याउन परामर्श थालेका छन् । बरामद भएको वस्तु तत्काल बजारमा पठाउन लिखित निर्देशन नै दिने खरेलको तयारी छ ।