काठमाडौँ ।
सरकारले नुवाकोटको ककनीमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र बनाउने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले प्रदर्शनी केन्द्र बनाउनका लागि काम अगाडि बढिसकेको जानकारी दिनुभएको छ । तारागाउँ विकास समितिद्धारा आयोजित बाग्मती प्रदेश होमस्टे (घरबास) कार्यशाला गोष्ठी–२०८१ को ककनीमा उद्घाटन गर्दै मन्त्री तामाङले ककनी प्रर्यटनको केन्द्र बन्ने भन्दै सरकारको योजनाबारे जानकारी दिनुभएको हो ।
पिपिपि मोडेलबाट उक्त प्रदर्शनी केन्द्र बनाउने तयारी रहेको बताउदै उहाँले यो ककनीको मुहार परिवर्तन गर्नका लागि महत्वपुर्ण थालनी हुने उल्लेख गर्नुभयो । मन्त्री तामाङले तारागाउँ विकास समितिलाई ककनीमा रहेको भौतिक संरचना र अचल सम्पतिको उच्चतम प्रयोग गरेर नाफा कमाउने गरि नयाँ योजना कार्यान्वयनमा ल्याउन सरकारले तयारी गरेकोले सोहीअनुरुप कार्य गर्न निर्देशन समेत दिनुभयो । ककनीमा रहेको रिसोर्टलाई व्यवस्थित र विस्तार गर्ने उहाँको भनाइ थियो, ‘अब तारागाउँले सञ्चालन गरेका रिसोर्टले छिट्टै नाफा कमाएको देख्न सुन्न पाउँनुहुनेछ, तपाईंहरु नआत्तिएर काम गर्नुहोस् ।’ काठमाडौंबाट ककनी सम्म आइपुग्ने तीन पिप्लेदेखि रानीपौवा सम्मको सडकको समस्या पनि चाँडै हल हुने उहाँले बताउनुभयो । हाल उक्त सडक १ अर्व ३३ करोडको लागतमा स्तरउन्नती भइरहेको छ ।
मन्त्री तामाङले होमस्टे(घरबास)लाई कार्यक्रममा मात्रै सिमित नगरी ग्रामिण भिलेज होमस्टेको रुपमा स्थापित गर्न सके पर्यटन प्रवर्द्धनका लागि थप गन्तव्यको पहिचान गराउन सकिने बताउनुभएको छ । राज्यले पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा वर्षमा लाखौँ युवा जनशक्ति विदेश पलायन भइरहेको अवस्थामा यसलाई रोक्न र बेरोजगारी अन्त्य गर्दै होमस्टे सञ्चालन गरेर गाउँलाई नै आर्थिक रुपले आत्मनिर्भर बनाउन सक्ने पनि मन्त्री तामाङको भनाइ छ । विदेशी पर्यटकलाई गाउँघरमा रहेका मौलिक आवास खाना, र संस्कार सस्कृति देखिएर आकर्षण गर्नुपर्नेमा उहाँको जोड छ । आधुनिकताको नाममा ऋण गरेर रड र सिमेन्टकको प्रयोग गरि बनाइएका नयाँ संरचनाले बिदेशी पर्यटक भित्र्याउन सम्भव नभएको स्पष्ट पार्दै मन्त्री तामाङले पुरानो शैली र संरचनामा निर्माण भएका घरहरुमा होमस्टे सञ्चालन गर्न उपर्युत्त हुने सुझाउनुभयो ।
कार्यक्रममा तारागाउँ विकास समितिका अध्यक्ष सुरेशराज जोशीले विगतमा कोरोना लगायतका विभिन्न समस्याका कारण होमस्टे प्रवर्धनका लागि यस्ता कार्यशाला गोष्ठी गर्न नसकिएकोमा यस वर्षदेखि निरन्तरता दिएको बताउनुभयो । कार्यशाला आज सकिनेछ ।