नुवाकोट १५ साउन ।
नेपालमा कार्यान्वयनमा रहेको संघीयताले दिएको अवसर र उपलब्धीलाई सदुपयोग गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नुवाकोटको विदुरुमा नेपाली काँग्रेस नुवाकोट संगठन विभागले आयोजना गरेको नेपालमा संघीयताका अवसर र चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुतकर्ता टिप्पणीकर्ता र वक्ताहरुले चुनौती र अवसरका बारे विस्तृत धारणा राख्दै यसका उपलब्धीलाई संस्थागत गरी अघि बढ्नुपर्ने बताएका हुन् । नेपाली कांग्रेस नुवाकोट संगठन विभाग प्रमुख श्रीराम श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा संघीय व्यवस्थाले अवसर र चुनौती दुवै एकैसाथ ल्याएको बताउनुभयो । अधिकार विकेन्द्रीकरणको अवधारणलाई संघीय व्यवस्थाले सार्थक बनाएको उहाँको भनाइ थियो ।
कार्यपत्रमाथि टिप्पणी गर्दै प्रजातान्त्रिक विचार समाज नुवाकोटका अध्यक्ष होमनाथ नेपाल र लेखक नारायण नेपालले संघीयताको अभ्यासका सकारात्मक पक्षबारे चर्चा गर्नुभयो । यस्तै यसका समस्था समाधानका अभ्यासबारे जानकारी दिनुभयो । कमजोर पक्ष सुधारेर संघीय व्यवस्थालाई सुदृढ गर्न सकिनेमा टिप्पणीकर्ताहरुको जोड थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठले संघीय व्यवस्थाअनुसार अधिकार विकेन्द्रिकरणमा राजनीतिक दल तथा राज्यले गरिरहेको कञ्जुस्याई सुधार गर्नुपर्ने बताउनुभयो ।