काठमाडौं (कस) ।
केही दिनदेखी चिनियाँ राजदुत होउ यान्छीले नेपालका सत्तारुढ दलका नेताहरु सँगको भेटघाटलाई तिव्र बनाएकी छन् । खासगरी नेपालको आन्तरिक राजनीतिक मामलामा उती चासो नदेखाउने चीनले नेकपाभित्र अहिले देखिएको विवादका बीच भेटघाट बाक्लो बनाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यो नेपालको सन्दर्भमा मात्र नभइ विश्व शक्तिराष्ट्रहरुको सन्दर्भमा पनि ।
विशेषतः नेपालमा थोरै मात्र हलचल हुँदा भारतको चासो र हस्तक्षेप नै हुँदै आएकोमा यतिबेला भारतीय दुतावास वा कुनै कुटनैतिक पक्षको चासो देखिएको छैन । नेपालमा सत्ता सञ्चालन गरिरहेको नेकपाभित्रै नेतृत्व परिवर्तनको बिषयले चर्चा मात्रै होइन दौडधुप नै बढेका बेला भारत चुप बस्नु र चीनले चासो देखाउनु सामान्य मान्न सकिँदैन ।
उसो त अहिले विश्वका शक्तिराष्ट्र कोरोना भाइरसका कारण आर्थिक रुपमा र राजनीतिक रणनैतिक रुपमा पनि धरासायी बनेको आँकलन गरिएको छ । विश्व शक्तिराष्ट्र अमेरिका नराम्रोसँग प्रभावित भएको बेला नेपालका मुख्य दुइ छिमेकी मध्ये भारतमा पनि कोरोना असरले नराम्ररी गाँजेको छ । यतिबेला कम्युनिष्ट नेतृत्वको सरकारभित्रै फेरबदलमा भारतले चासो नदेखाएको हो या कमजोर बनेको हो ? यो यसै भन्न सकिन्न । तर घटनाक्रमले के देखाउँछ भने यसअघिका हरेक घटनामा नेपाली राजनीतिक दलका नेता सरकार र विपक्षीसमेतलाई भेट्ने र चासो राख्ने भारतिय दुतावास अहिले शान्त हुनु भारतको नेपालप्रतिको सक्रियता घटेको र चिनियाँ चासो बढेको देखिन्छ ।
चिनियाँ राजदुत होउ यान्छीले प्रधानमन्त्री केपी ओलीसहित नेकपा अध्यक्ष प्रचण्ड, नेता माधव नेपाल र झलनाथ खनालसँग भेट गरिसक्दा भारतिय राजदुत विनयमोहन क्वात्राले फोन सम्म गरेका छैनन् । चीनलाइ खासगरी नेपालमा कम्युनिष्ट पार्टी जुनसुकै नेता सरकार प्रमुख हुँदा तात्विक फरक पर्दैन् । तर भारत भने जुनसुकै पार्टी वा व्यक्ति सत्तामा पुग्छ उसलाई भारतपरस्त बनाउन हरतरहले कोसिस गरेकै हुन्छ ।
यतिबेला युरोप अमेरिका लगायतका देश कोरोनाले ठप्प हुँदा चीन कोरोनाबाट उम्किएर आर्थिक र राजनीतिक र विश्व शक्तिराष्ट्रको रंगमञ्च फरक शक्तिपहिचान बनाउँदै उभिएको छ । हालको विश्व भूराजनीतिक परिदृष्यमा चीनले पहिलो प्रभाव छिमेकीमाथी प्रभावकारी बनाउनु र विश्व मानचित्रमा बलियो बन्न खोजेको प्रष्टिन्छ । नेपालमा हाल कम्युनिष्ट नेतृत्वको सरकार आएसँगै चीनको सहयोग र सद्भाव तुलनात्मक रुपमा बढेको त छ नै त्यसमाथी कोरोना कहरका बीच चिनियाँ सक्रियताले आर्थीक र राजनीतिक रुपमा कमजोर नेपालमाथी प्रभाव जमाउन खोजेको देखिन्छ । यसअघि नेपालको ठुलै राजनीतिक परिवर्तनमा पनि चासो नदिने चीनले हाल एउटा पार्टीभित्रको सामान्य मतभेदमा यो खालको चासोलाई नजरअन्दाज गर्न मिल्दैन ।
कोरोना भाईरसका कारण विश्व शक्तिराष्ट्रको प्रभावमा फेरबदल आउने विभिन्न आँकलन गरिदै आएकोमा नेपालमा चिनियाँ चासो र चीनमा कोरोना पछिको उदयले विश्व शक्तिराष्ट्रकै रुपमा चीनको नयाँ उदय भएको हो कि भन्न थालिएको छ ।