नुवाकोट ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लिखु गाउँपालिका कमिटीले निर्वाचन लक्षित कार्यक्रमलाई तीव्रता दिएको छ । प्रचार प्रसार एवं घरदैलो कार्यक्रमका लागि गाउँपालिकाभर नेता तथा कार्यकर्ता परिचालन गरिएको नेकपा माओवादी केन्द्र लिखु गाउँपालिका अध्यक्ष भीम ढकालले जानकारी दिनुभयो । गाउँपालिकाका सबै नेता कार्यकर्ता निर्वाचन नतिजा आफ्नो पक्षमा पार्न संगठित रुपमा लागिपरेको उहाँले बताउनुभयो ।
लिखु गाउँपालिका पार्टी कमिटीको कमाण्डस्तरीय बैठक, टोल कमिटीको गठनका साथै पहिलो चरणको घरदैलो कार्यक्रम सम्पन्न गरी दोस्रो चरणको कार्यक्रम सुरु गर्न लागिएको अध्यक्ष ढकालले जानकारी दिनुभयो । साविक खानीगाउँ, सूर्यमती, चौघडा र थानसिंह गाउँ विकास समितिको भूगोल मिलाएर लिखु गाउँपालिका बनाइएको छ ।

तत्कालीन समयमा लिखु गाउँपालिका प्राप्त गर्न भएको आन्दोलनका नेतृत्वकर्ता धर्म अधिकारी माओवादीको लिखु गाउँपालिका कमाण्डर तोकिनुभएको छ । जनयुद्धका समयमा लिखु गाउँपालिकाबाट १२ जना सहिद र एकजना बेपत्ता भएका थिए । बद्री ढकाल ‘गाउँले’, नवराज अधिकारी ‘हरि’, प्रकाश न्यौपाने ‘श्रवण’, वीरबहादुर आलेमगर ‘राम’, चञ्चला आलेमगर ‘चेतना’, रामबाबु अधिकारी, गोरेबहादुर श्रेष्ठ, राजकुमार श्रेष्ठ ‘निरव’, राजाराम भण्डारी ‘बासु’, शेरबहादुर भण्डारी ‘कुवेर’ र नवराज अधिकारी ‘विकल्प’ले सहादत प्राप्त गर्नुभएको थियो भने रामचन्द्र भण्डारी राज्यतर्फबाट बेपत्ता हुनुहुन्छ ।
माओवादी आन्दोलनको जगमा बनेको स्थानीय सरकारले ५ वर्षमा नागरिकले अनुभूत गर्न सक्ने कुनै काम गर्न नसकेको नेकपा माओवादी केन्द्र लिखु गाउँपालिकाको निष्कर्ष छ ।
५ वर्षको अवधिमा देखिने गरी कुनै काम नभएकोले समृद्ध लिखु बनाउन अबको निर्वाचनमार्फत माओवादी केन्द्रले नेतृत्व लिनुपर्ने अध्यक्ष ढकालले बताउनुभयो ।
घरदैलो कार्यक्रममा नेतृत्व गरिरहेका धर्मप्रसाद अधिकारी, गणेश अधिकारी, रेखा भण्डारी, रामकृष्ण श्रेष्ठ, महेन्द्र डङ्गोल, भीम प्रसाद ढकाल, धनबहादुर मिजार, विवेक ढकाल, कृष्णबहादुर राई, पार्वती उप्रेती, लक्ष्मी देवी श्रेष्ठ, कल्पना अधिकारी, सरस्वती अधिकारी, रिता अधिकारी लगायतका नेताहरुले जसको नीति उसकै नेतृत्व स्थापित गर्न गाउँपालिकामा कार्यक्रम तीव्र पारिएको प्रतिक्रिया दिएका छन् ।









































