ढुङ्गो बोल्दैन
जति बोलाए पनि बोल्दैन
जति चलाए पनि बोल्दैन
मुर्दा मान्छे र ढुङ्गो एकै हो !
चिमोट्नोस्- ऐया भन्दैन
पोल्नुस्- आत्था भन्दैन
बरफमा राख्नुस्- आच्छु भन्दैन
खान नदिनोस्-भोक लाग्यो भन्दैन
दूध चढाउनोस्- आहा भन्दैन
ढुङ्गा र मुर्दा मान्छेले केही भन्दैन !
अपमान गर्नुस्- रिसाउदैन्
तारिफ गर्नुस्- खुसाउदैन्
एक्लै पार्नोस्- न्यास्रिदैन्
साथमा बस्नोस्- मुस्कुराउँदैन्
निर्जीव निस्प्राण बस्तुले केही गर्दैन्
जसरी मुर्दा मान्छे हलचल गर्दैन् !
टाउकामाथि पैह्रो खसोस्-
चुपचाप हेरिरहन्छ
बाढी आओस गुटमुट्याओस् –
शान्त बनेर सहिरहन्छ
घनले हान्नोस्- गिट्टी बन्छ
क्रसरले पिँध्नोस्- बालुवा बन्छ
सिमेन्टले जोड्नुस्- पर्खाल बन्छ
आफै केही बन्दैन्
आफै केही भन्दैन्
जे जे बनायो त्यही बन्छ
जसरी मुर्दा मान्छे
जलायो भने खरानी बन्छ
गाड्यो भने माटो बन्छ !
मान्छे, मान्छे ओ मान्छे !
जब ऐन मौकामा पनि बोल्दैनौ भने
खान बाहेक ओठ खोल्दैनौ भने
हुन सक्छ तिमी मरिसकेका छौ
बाँच्नुको मिठो भ्रममा
तिमी मुर्दा मान्छे बाँचिरहेछौ !