– सुरज रोकाय
मनको पाखाभरी देश फुल्थ्यो । खोइ कसले रोपिदिएको हो ? मनमा उम्रिएको देशभक्ति सपनाको फुल हरियो र बास्नादार थियो । सोही स्वप्नाको सुगन्धित उर्जाले जीवन दौडाएको थिएँ । हजारौँ म जस्तैलाई मेरो सपनाभित्र फुलाउने मेरो अर्को सपना थियो ।
चेतनामा सदा देश बोकेर दौडिने म आज परदेश पुगेको छु । खाडीको तातो घामले देशभक्ती सपना मुर्झाएको छ । हुन त रेमिटलाई माध्यम बनाएर पनि मैले मेरो देशभक्ति जीवितै राखेको छु क्यारे । तर मेरो सपनाको देशभक्ति कन्दरामा जीवनको फुल फुलाउने आदर्शको थियो ।
बल्न लागेको दियो राजनितिक हुण्डरीले निभाइछोड्ने हाम्रो देशको बिडम्बना रहेछ । श्वास फेर्न पनि पार्टिहरुबाट हावा पैचो माग्नुपर्ने परस्थितिमा पार्टिवाला झोला कन्टेनरमा फ्याँकिदिएको मलाई परदेश नहिँडी सुखै भएन ।
सामान्य आर्थिक हैसियत भएको परिवार छ हाम्रो । मेरो पढाइ अलपत्र परिसकेको थियो । पढाइ नभएका हामीले के काम पाउनु देशमा ? काम गर्ने चेष्टा नभएको पनि होइन, धेरै ठेकेदारसँग लेवर काम गरेको छु । नाली खनेको छु । ढुङ्गा फोडेको छु । सिमेन्ट,गिट्टी र बालुवा सबैसँग खेलेको छु ।
देशमा काम गर्नुको दुइटा समस्या छ: पहिलो ज्याला कम छ र दोस्रो समयमा ज्याला पाइँदैन । कमाएको ३० हजार पाउन ६० दिन सङ्घर्ष गरेको भोगाइ छ मेरो । यही भोगाइ ले त परदेशिन बाध्य बनाइदियो ।
आमालाई अस्पतालको बेडमा सुताएर हजार डाँडा र सातौँ समुन्द्रको आकाश छेड्नुपर्ने कस्तो मेरो देश ? कस्तो हाम्रो बाध्यता ? थुक्न मन लाग्यो । देशलाई थुक्न भएन । नेतालाई थुकेँ, प्रशासनलाई थुकेँ ।यो देशको सत्ता शक्ति र समग्र सिस्टमलाई थुकेँ । थुकेर पो के हुन्छ र है ?
उमेर बढेपछि भविष्यको चिन्ता पनि बढ्दो रहेछ । भविष्य बनाउने नेपाली सुत्र त त्यही हो “पासपोर्ट”। पासपोर्ट नबनाइ भविष्य कुन नेपालीको बन्छ र ? । ए, अँ बन्छ नि ! नेतासँग फोटो खिच्नेहरुको । नेताजीको दैलोमा चाकडी टक्रयाउने । उहाँको आदेशमा ‘गु’लाई सुन भन्नेको ।अनि सामुहिकताको नारा दिएर धनको कुम्लो एक्लै उठाउनेको ।
दुनियाँको दौडले मेरो मगजको ढोका उघारिदियो । ढोकाभित्र ठुलो अक्षरमा लेखेको थियो “जीवन आदर्शले चल्दैन, पैसाले चल्छ ।” पैसा कमाउने साधन विदेश भन्दा अर्को भेटिएन । तब त काठमाडौँ हानिएँ, भिजा लगाउन । खाडीको भिजा लगाउन पनि फलामकै चिउरा चपाउनुपर्ने रहेछ । पूरा दुई महिना लाग्यो ।
भिसा लाग्दा मन दोधार भयो । खुशी हुनु कि दुखी ? एकातिर देश छाड्न पटक्कै मन नभएको, अर्कोतिर ट्राइ गरेको भिजा सफल भएको । विदेश के म मात्रै जाँदै छु र ? बग्ने सबै खोलाहरु नदिसम्म पुगेजस्तै त हो नेपालीका लागि परदेश । खोला र नेपाली जवानहरुमा एउटै फरक त छ, खोलाहरु फर्किएर मुहानसम्म आउने चाहना गर्दैनन् , जवान फर्केर घर आउने सपना देख्छ्न् ।
भिसा झरेपछि एजेण्टले काठमाडौँ बोलाए । प्लेन कहिल्यै नचढेको म, जेट विमान चढ्ने कल्पनामा मुग्ध हुँदै काठमाडौँको गाडी चढेँ । काठमाडौँ पुगेपछि थाहा भयो प्लेन चढ्ने धेरै दिन बाँकी रहेछन् । टिकट नै लिइएको रहेनछ । अब टिकटको पर्खाइमा बस्नुपर्ने भो । हिजो भिसाको पर्खाइ आज टिकटको पर्खाइ भोलि प्लेनको पर्खाइ । यो जिन्दगीमा, कतिवटा पर्खाइ परेका होलान मेरो भागमा ?
म काठमाडौँमै थिएँ । टिकट फिक्स भएको खबर पाएँ । त्यही दिन आमालाई बिरामीले च्यापेको पनि सुनेँ । खुशी र दुख सँगै घोलिएर किन आएको होला ? आमालाई काठमाडौँमै ल्याएर उपचार गर्नुपर्ने भयो । पर्सि टिकट छ, आमा अस्पतालको बेडमा हुनुहुन्छ । देश छाड्दा त्यसै त मन कमजोर हुन्छ । झन कमजोर परिस्थिती किन बनाएको होला दैवले ? हुन त मेरो हिम्मतको परीक्षा होला यो ।
उड्ने दिन आयो । ९:३० बजेको प्लेन टिकट थियो । सबै तयारी अघिल्लै दिन सकेको थिएँ ।आजको काम आमासँग बिदा माग्नु र प्लेन चढ्नु थियो । श्री विरेन्द्र अस्पताल छाउनीको बेड नं २६६ मा आमा पल्टिनुभएको थियो । कुरुवा दिदी हुनुहुन्थ्यो । अब म हिँड्नुपर्छ, म जान्छु भन्नै आँटेको थिएँ । ओठहरु कापे, आँखा नियन्त्रणबाहिर गए । आँखामा साउने मुल फुट्यो । छुट्न खोजेको डाँको रोक्दै हत्तपत्त बाहिर निस्किएँ ।अस्पतालको गेटमा आएर आँसु पुछेँ ।
ल राम्ररी गएस् है भन्न खोजेकी आमाको गला अबरुद्ध थियो । आमाले मतिर हेर्न सक्नुभएन । जमिनमा आँखा जोतेर ‘जा रामरी जा’ भन्नुभयो । तब त मेरो पनि मुटु फुट्लाजस्तो भएको हो । आमासँग बिदा मागेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर सोझिए । खिन्न मनले आफ्नै शरीर गह्रुङ्गो लागेको थियो आफैँलाई ।
आमालाई अस्पतालको बेडमा सुताएर हजार डाँडा र सातौँ समुन्द्रको आकाश छेड्नुपर्ने कस्तो मेरो देश ? कस्तो हाम्रो बाध्यता ? थुक्न मन लाग्यो । देशलाई थुक्न भएन । नेतालाई थुकेँ, प्रशासनलाई थुकेँ ।यो देशको सत्ता शक्ति र समग्र सिस्टमलाई थुकेँ । थुकेर पो के हुन्छ र है ?
हस्पिटलबाट विमानस्थल हिँड्दा ७ बजिसकेको थियो । बाटोमा जाम रहेछ । हाय रे काठमाडौँ ! मान्छेको यात्रा एक आधा घण्टा नरोके त के काठमाडौँ ? सब चिज भुल्न मिल्छ तर आफ्नो पहिचान त भुल्नै भएन नि होइन र ? जाम छिचोल्दै विमानस्थल पुग्यौँ । मलेशियासम्म सङ्गी नपाए पनि एअरपोर्टसम्म म एक्लो भइएन । मलाई गाउँका दाइहरु पुर्याउन आउनुभएको थियो ।
बिचरा ती दाइहरु । अस्ति भर्खर घर फर्किए । मलेशिया गएको तीन महिमामै घर फर्किनुपर्यो । फर्किन के सजिलै पाएर ? फर्किनकै लागि नजाने कति आँसु बगाए । नजाने कति रात अनिँदो बसे । नजाने कति जनासामु गुहार गरे । नजाने कतिपटक आफ्नै दाँत किटे । उहाँहरुलाई देश झिकाउन मैले पनि मेहनत गरेको थिएँ ।
बिदाइका लागि उहाँहरुले खादा लगाइदिनुभयो । हाम्रो जस्तै उद्दार गर्न, नपरोस् । राम्रोसँग गएस् । राम्ररी बसेस् भन्दै एक दुइटा तस्बिर खिचेर उहाँहरु फर्किनुभयो । अब म एक्लो भएँ । फेरि मन बुझाएँ सयौँजना अटाउने यत्रो प्लेनमा म एक्लो कसरी हुन सक्छु ? सबै नेपाली त हाम्रा दाजुभाइ हुन् ।
विमानस्थल कहिले गएको थिइन । प्रकृया पार गर्न गाह्रो हुने, सब सोधेरै गरेँ । वैटिङ रुममा बसेर फेसबूक खोलेँ । फेसबूकमा फेरी त्यही अघि खिचिएको फोटो देखेँ । क्याप्सन शुभयात्रा भान्जा लेखेको थियो । मैले पनि त्यही फोटो तानेँ। “सत्य पैसा बाँकी सबै भ्रम, लागियो परदेश” क्याप्सन लेखेर पोस्ट गरेँ ।
मेरो पोस्ट देखेर होला तारन्तार फोन आउन थाले । मैले जाँदै छु भनेर धेरैलाई जानकारी गरेको थिइनँ ।कसैको कल उठाइनँ । फेसबूक कमेन्ट पनि हेर्न सक्ने अवस्थामा पनि थिइनँ । सबै शुभचिन्तकलाई पुगेर फोन/रिप्लाइ गर्ने मनस्थिति बनाएँ ।
हिँड्न लागेको कुरा भन्नुपर्ने जतिलाई भनेको छु जस्तो लागेको थियो । तर बा छुट्नुभएछ । अरु एक दुई जना पनि छुटेछन् । साथी दिपेन्द्र र प्रेमिकासँग झगडा परेको थियो । उनिहरु पनि छुटेछन् । प्लेन चढ्नुअघि अर्को फोटो पोस्ट गरेँ । यो पोस्ट प्रेमिकालाई समर्पित गरेको थिएँ ।पोस्टको क्याप्सन थियो “जिन्दगीमा धेरै साथ र सहयोग गर्दा पनि जीवनभर नभुल्ने पीडा दिएर जाने मेरो प्यारो मान्छेलाई फोन गर्न नपाए पनि सम्झेको छु “।
प्रेममा अवरोध आएको थियो । मानौँ एउटै रबर चुडिएर दुइटा भएका छन् जस्तो । उ फरक व्यवहार देखाउन थालेकी थिइ। मनै दुख्ने शब्द बोलेकी थिइ । मैले उसलाई जिन्दगीको भिटामिन ठानेको थिएँ, उ त क्यान्सर रहेछ । कहिल्यै निको नहुने गरी मनको रोग लगाइ ।
प्लेन चढियो अब त फोन अफ । मलेशियाको विमानस्थल पुगेर फोन खोलेँ । मसँग मलेसियाको सिम पहिल्यै थियो । सिम हालेर फोन अन गरेँ । फेसबूकमा छिरेँ, धेरै शुभचिन्तकका कमेन्ट र पोस्टहरुमा शुभयात्रा लेखेका सन्देशहरु रहेछन् । सबैलाई कमेन्ट रिप्लाई गरेँ।
बासँग अझै कन्ट्याक्ट् हुन सकेन । कसरी गरौँ ? बाले फेसबूक नचलाउने । बाको माया हुरक्कै लागेर आयो । टाढा हुँदा परिवारको याद झन् गहिरो हुँदो रहेछ । परिवार, साथिभाइ, मेरो जन्मभूमि र मेरा सपनाहरु सम्झिँदै रिसिभर पर्खेर बसेँ ।
यहाँको ५ बजे पुगेको मैले ११ बजेसम्म रिसिभरलाई कुर्नुपर्यो । ११ बजे उ आयो । विमानस्थल बाहिर ल्याएर उसले ट्याक्सी चढायो । चिल्लो सडकमा ट्याक्सी चिप्लिन थाल्यो । बाटोको एउटा होटलमा खाना खाइयो । मलेसियाको पहिलो गास गजब लाग्यो । कम्पनी पुग्न ६ घण्टा लाग्दो रहेछ । यात्राभर उस्तो रमाइलो नभए पनि त्यति मजा पनि लागेन । छेउमा भाषा मिल्ने मान्छे भए पो मजा आओस् ।
कम्पनीमा पुगेपछि एकजना नेपाली आए । उनले अरु नेपाली भएको रुममा छोडिदिए । बल्ल म खुशी भएँ । परदेशमा नेपाली देख्दा आफ्नै दाजुभाइ जस्तो लाग्ने । सबैसँग घुलमिल भएँ ।
अनि गफ सुरु भो । घुममिल भनेकै एकले अर्कोलाई बुझ्नु त हो । एउटा दाइले कति तिरेर आयौ ? भन्नुभयो । २ लाख ८० हजार नगद खन्खन्ती बुझाएको थिएँ । त्यही भनेँ । क्रमशः कति पढेको छौ ? उमेर कति भयो भनेर सोध्नुभयो । मैले २० वर्ष भएको र १० कक्षा पढेको बताएँ ।
दाइले मेरो अनुहार हेर्दै विश्मयको भाव प्रकट गर्नुभयो । अलि हैरानीको स्वरमा भन्नुभयो “यति सानो उमेरमा, थोरैभए पनि पढेको मान्छे किन आको होला ? हामी त भाग्ने तयारिमा छौँ ।”
मेसिनले बखतमा आइलिङ पाउछ । जति सम्भार र स्याहार मेसिनले पाउँछ, त्यति हामी कामदारले नपाउनु कस्तो अचम्म ? परदेश चट्टान भन्दा कठोर हुँदो रहेछ। मृत्यु भन्दा पराइ हुँदो रहेछ । फ़ोहोर भन्दा घिनलाग्दो हुँदो रहेछ र राक्षस भन्दा नरभक्षी हुँदो रहेछ ।
म झसङ्ग भएँ । ला फसियो भन्ने लाग्यो । त्यत्रो पैसा ऋण काढेर, आमालाई अस्पतालमा छोडेर आइयाछ । अरु परदेशमा अलपत्र पर्दा उद्दारको कोसिस गर्थेँ । अब आफ्ना लागि कसलाई भनुँ ? दिमागमा चक्कर लाग्यो, पृथ्वी नाँच्न लाग्यो, हातगोडा लुथ्रुक्क भए । सम्हालिनु त थियो नै, नेपालमा मेरो टिम छँदैछ, केही गरी अलपत्र परेँ भने जसरी नि असुल गर्न सकिन्छ भन्ने आत्माविश्वास जाग्यो ।
मैले दाइलाई सोधेँ किन भाग्ने र दाइ ? के छ र यहाँ ? यहाँ कामको कुनै फिक्स छैन । पठाउँदा नेपालको सदिक्षा मेनपावर कम्पनीले माछा प्याकिङ भनेर पठाको हो । “यहाँ त जे पनि गर्नुपर्छ । कहिले जङ्गल फडानी गर्न वन कुद्नुपर्छ । कहिले जहाज रङ्गाउन शिपमा झुन्डिनुपर्छ ।कहिले ६०-७० किलोको माछा उठाउनुपर्छ” दाइको यति वृत्तान्तले झन् हैरान भएँ ।
गफका कुरा थिए ति। अब कम्पनी भोग्न सुरु भयो । काम गर्न निस्कियौँ । म पनि सि फुड माछा प्याकिङ भनेरै आएको हो । पहिलो दिन जङ्गल फाँड्ने हतियार भिराएर जङ्गल पठाइदियो ।
जङ्गल फडानी त नाम मात्रै रहेछ । त्यहाँ त जुकाको आहारा हुन गएका रहेछौँ हामी । कहाँ कहाँ पसेन जुका ? कति रगत चुस्यो चुस्यो ? बीष लाग्थ्यो भने २० चोटी मरिन्थ्यो होला त्यो टोकाइबाट ।अझ सर्पको डर हुन्छ भन्थे साथिहरु । कुनै सर्प आएर शिरमा टोकेको भए के हुँदो हो ? मृत्यु घेरामा जीवन कैद भएको थियो । दिउँसो बाह्र बजे कामबाट फर्किएर अर्को काम जानुपर्ने भयो । काम थियो जालसँग समुन्द्रमा फाल्ने बलक बनाउनुपर्यो । लागियो सिमेन्ट र बालुवासँग धमाधम ।
आजभोली काम डुङ्गाबाट माछा उठाउने । तौलिने र त्यसलाई ट्वाङमा हाल्ने, प्याक गर्ने गर्नुपर्छ । कामको कठोरता भनिसाध्य छैन । बिहान ७:३० देखि बेलुका ४:३० सम्म एकछिन रोकिन मिल्दैन ।मेसिन बरु बिग्रेरै सही, रेस्ट पाउछ होला तर परदेशमा मनुष्यले पाइँदैन । नेपाली त झन हेलाका मुनुष्य । न सम्मान छ न सजिलो काम छ ।
माछा उठाउँदा उठाउँदा हात फत्रक्क गल्छन् । गह्रौँ भएर पिरो पिडाले तुरुक्क आँसु चुहिन्छ । माछा राखिने पानीमा सायद एसिड हुँदो हो । हातका औँलाहरुमा हरेक दिन घाउ लाग्छ । औला यसरी नकाम हुन्छन्, मोबाइलको स्क्रीन टच पनि हुँदैन । हात टाउको कतै पनि कुनै सेफ्टी छैन ।
मेसिनले बखतमा आइलिङ पाउछ । जति सम्भार र स्याहार मेसिनले पाउँछ, त्यति हामी कामदारले नपाउनु कस्तो अचम्म ? परदेश चट्टान भन्दा कठोर हुँदो रहेछ। मृत्यु भन्दा पराइ हुँदो रहेछ । फ़ोहोर भन्दा घिनलाग्दो हुँदो रहेछ र राक्षस भन्दा नरभक्षी हुँदो रहेछ ।
आउँदा आइहालियो । ऋण छ,अब जसोतसो दुई वर्ष कटाएर फर्किनुपर्ला ।अनि आफ्नै जन्मभूमिको माटोमा पसिना रोपेर सन्तुष्टि फलाउनुपर्ला भन्ने सोच गरेको छु । रेमिटेन्सलाइ माध्यम बनाएर मेरो देसभक्ति जिवितै राख्ने छु ।
लेखकबारे
ठेगाना: चौरजहारी नगरपालिका वडा नं ४ रुकुम पश्चिम्