-नारायण शर्मा
माओवादी फुटेर अहिले दर्जनजती टुक्रा परेको छ । धेरै टुक्रा परेर कमजोर भएपछी दयामाया लागेर माओवादी समर्थक जनता-कार्यकर्ताले सबै माओवादीहरु जुटे हुँदो हो भनेर चिन्ता र चासो गर्दै जुट्नको लागि सुझाव-दवाव पनि दिने गरेका छन् । माओवादी एक हुनुका साथै एमालेको खनाल-नेपाल समूहसँग पनि एकता गर्ने कुराले त अझ नेपाली वाम जगतको ध्यान पूरै आकर्षित गरेको छ ।
सामान्यतया पार्टीहरु जुट्ने र बलियो बन्ने कुरा दलीय व्यवस्थामा अत्यावश्यक नै हुन्छ । पार्टीहरुमा विश्वास बढाउन, राज्यसंचालनमा स्थिरता ल्याउन र देसमा विकास र समृद्धी ल्याउनका साथै सुशासनको लागि पनि पार्टी एकता र सुदृढीकरण अत्यावश्यक कुरा हो ।
तर जब पार्टी एकता गर्ने कुरा निश्चित नेता र तिनका गुट-उपगुटहरुका निहित स्वार्थमा केन्दृत रहेर नितान्त अपारदर्शी, हठात् र बलात् तरिकाले हुन्छन्-गरिन्छन् तब त्यहाँ विचार, सिद्धान्त र राजनीतिजस्ता प्रमुख कुराहरु ओझेल पर्छन् र नेता-कार्यकर्ताका संकीर्ण स्वार्थ र अदृश्य नियत अनि जनताका सतही भावनाहरु हावी हुन्छन्त्यो । स्थितिमा वास्तवमा त्यो पार्टी एकता विचार र सिद्धान्तमा आधारित एकतै हुँदैन । त्यो त भागबण्डा र लेनदेन अनि तानातान र हानाहानमा सिमित एउटा गठबन्धन मात्र हुन्छ । आज एमाले र माओवादीबीचको अनि मधेसवादी दलहरुबीचको एकता, झगडा र फुटको अवस्थाले यही कुराको पुनर्पुष्टि गरेको छ ।
हो, माओवादी केन्द्र र एमालेको खनाल-नेपाल समूहसँग एकता गरेपछी त पार्टीलाई विधिपद्धती अनुसार चलाउन र सरकार संचालनको अनुभव शेअर गर्न तथा एक-अर्का नेतृत्वबीच चेक एन्ड ब्यालेन्स गर्न सक्ने अवस्था उत्पन्न हुने तर्क र आशा गर्ने आधार त देखिन्छ तर प्रथमतः यस्तै आशा र अपेक्षा गरि सिङ्गो माओवादी र सिङ्गो एमालेबिच एकता भएको त आज लोप्पा खाइएको छ भने एमालेको खनाल-नेपाल समूहसँग बादलबिनाको प्रचण्ड माओवादीको एकता प्रथमतः हुदै नहुने कुरा आजै मात्र पनि एमालेका थिङ्क ट्याङ्क मानिएका नेता वेदुराम भुसालको कान्तिपुर एफ एम मा आएको अन्तर्वार्ताबाट समेत पुष्टि भएको छ । कथंकदा एकता भैहाले पनि त्यो दुई भिन्न धारा, स्कुल र पृष्ठभूमिबाट अर्थात् एमाले संसदीय पृष्ठभूमिबाट र माओवादी जनयुद्धको पृष्ठभूमिबाट आएका र विगतमा एकले अर्कालाई समाप्त गर्न हत्यासम्म गर्ने-गराउने प्रकृयाबाट आएकाले समयक्रममा त्यो पीडा र आक्रोसले एक-अर्कालाई पिरोल्छ र निश्चित समय र अवस्थामा एकले अर्कालाई निषेध गर्ने अवस्थामा पुग्ने र अन्ततः फुट्ने प्रबल सम्भावना हुन्छ र पुन: लोप्पा नै खाने अवस्था न आउला भन्न सकिन्न । त्यसमाथी आआफ्ना नेता र समूहहरुबीचका सत्ता र शक्ती प्राप्तिको सोंच र संस्कार अनि तिनैमा हुने विदेसी चलखेल पनि कति प्रबल रहेछ भन्ने कुरा अहिलेको ओली र माओवादीबिचको मात्र होइन ओली र खनाल-नेपाल गुटहरुबिचको विवाद र वैमनस्यले समेत स्पष्ट पारेको छ । त्यो अवस्थामा बादलहरु बिनाको माओवादी केन्द्र र खनाल-नेपाल समूहका केही होनहार युवा र केही सिद्धान्तकार मानिने सिनियर नेताहरु ढुल्मुलाइरहेको र एमालेकै एकतामा जोड दिइरहेको सन्दर्भमा माके र खनाल-नेपाल समूहबिच यो एकता भैहालेछ भने पनि दीगो र दरो हुने देखिन्न । यसरी यो न त एक नं कै दल बन्न सक्ने सम्भावना हुन्छ, न त सरकारको नेतृत्व गर्न सक्ने हैसियत नै बन्छ । त्यो स्थितिमा पृष्ठभूमि, शैली, संस्कार र मुद्दा नमिल्ने शक्तिसँगको एकता कति भरपर्दो होला र ? अनि त
यो एकतामा पनि अझै ठूलो र व्यापक विभाजन र विसर्जन आउनसक्छ । तर, त्यसपछी त नितान्त नयाँ शिराबाट क्रान्तिकारीहरु एकजुट हुने सम्भावना भने अझ टड्कारो बनेर आउँछ ।
जहाँसम्म यो भन्दा पनि प्राथमिकतामा राखेर माओवादी समर्थकहरुले सबै माओवादीहरु एक हुने कुरा गरेका छन्, त्यो त कल्पनासम्म गरेर मनको लड्डु घ्युसित खाने गर्न त सकिन्छ तर एकता गर्ने वा हुने सम्भावना यथार्थमा परिणत हुन मुस्किल छ । जसरी एमाले नेतृत्वको मोनोपोली, स्वैच्छाचारिता, सर्वसत्तावाद, हुकुम-हैकम र हालीमुहालीले विपक्षी गुटका नेताहरु हेलाहोंचो, हैरान-परेसान र पेलानमा परेपछी त्यसभित्रको गुट संघर्षले आपसमा हदैसम्म तिक्तता, विरक्तता, आवेग, प्रतिशोध, प्रत्याक्रमण र निषेधको अवस्थामा पुराएर विष्फोट र विद्रोह बढाउँदै विग्रह र विभाजन भैरहेछ, ठिक त्यसैगरी अपेक्षाकृत सिद्धान्तनिष्ठ, इमान्दार, क्रान्तिकारी, स्वच्छ, स्वाभिमानी र आलोचनात्मक चेत भएका सच्चा क्रान्तिकारीहरुप्रती हदैसम्मको अपहेलना, अन्याय र अत्याचार प्रचण्ड र उनका आसेपासे र गासेदासेहरुबाट बारम्बार हुनेगरेपछी विद्रोह र विभाजनको विकल्प रोज्न बाध्य बनेका माओवादीहरु बिच पनि अत्यन्तै तिक्तता, वैमनस्य र प्रतिशोध बढेर नै फुटेकाले सबैका सबै माओवादीहरु जुट्न पनि असम्भवजस्तै छ ।
कथं जुटिहाले पनि तिनीहरुबीच रैथाने माओवादी र आगन्तुक माओवादी, विचार र रहरका माओवादी र व्यवहार र बाध्यताका माओवादी, माओवादी र खाओवादी अनि माओवादी र गैरमाओवादी जस्ता विभिन्न गुट-उपगुटहरुको द्वन्द्वले त्यो गतिहीन हुनेछ र एकता निरर्थक हुने छ । फेरि त्यसै द्वन्द्वका बिचमा खेलेर प्रचण्ड र उनको गिरोहले गर्ने मनपरी, अनि कुनै निश्चित जिल्ला, जाती, गुट र व्यक्तिको आधारमा हुने कथित क्षमतावान र योगदानवाला हस्तिहरुको व्यक्तिवादी र परिवारवादी स्वार्थपूर्ती स्वरुप गरिने हालीमुहाली र अन्य ससाना माओवादी गुट र गैरमाओवादी गुटबिचको भावनात्मक अनेकता आदिले गर्दा पुन: एकीकृत भएको भनिने माओवादी पार्टी पनि न दीगोरुपमा एकताबद्ध हुनसक्छ न त केही गर्ने सामर्थ्य नै राख्छ । त्यसमाथी वैचारिक मात्र होइन सांस्कृतिक र नैतिकरुपले पतन भैसकेपछी केही गर्न नसक्ने निरीह र निकम्मा हुने कुरा पनि निश्चित नै छ ।
त्यसैले अब आवश्यकता त माओवादी एकताको भावुकता र रहरको होइन, सम्पूर्ण कम्युनिस्ट पार्टीहरुभित्र र बाहिर छरिएर रहेका स्वच्छ, इमान्दार, स्वाभिमानी, स्वविवेकी, स्वनिर्भर, त्यागी, तपस्वी, यशस्वी र तेजस्वी व्यक्ती-व्यक्तित्वहरुसमेतको सच्चा देसभक्त र क्रान्तिकारी कम्युनिष्ट शक्ति, समूह, मंच, मोर्चा, अभियान, प्रतिष्ठान आदि बीचको एकता नै आजको क्रान्तिकारी कम्युनिस्ट एकता हो र हुनुपर्छ ! यही वास्तविक क्रान्तिकारी कम्युनिष्ट एकता नै अहिलेको हाम्रो टड्कारो आवश्यकता हो भन्ने लाग्छ ! यस्तो विचार र आचार, राजनीती र संस्कृति, नीति र नैतिकता, अनि नेतृत्व र नियतबीच सामन्जस्य भएको नितान्त नयाँ सैद्धान्तिक आधार र व्यावहारिक कार्यभार बोकेको पार्टीले मात्र नेपाली वाम-कम्युनिस्ट जनमतको सम्मान र सम्बोधन गर्न सक्छ । यस्तो कम्युनिस्ट पार्टीले मात्रै राज्य, पार्टी र समाजमा रहेका वर्तमानका अस्थीरता, अस्तव्यस्तता, अराजकता तथा विविध विडम्बनापूर्ण वैमनस्य, वेमेल, विकृति, विसङ्गती, विभाजन र विसर्जनको प्रक्रियालाई समेत रोक्न सक्छ । यस्तो कम्युनिस्ट पार्टीले मात्र राष्ट्रिय स्वाधीनताको पूर्ण रक्षा, अधिक जनअधिकारको प्राप्ती र अत्यधिक विकास र समृद्धि गर्न सक्छ र समाजवाद-साम्यवादको दिशामा अघि बढ्ने हैसियत र विश्वास आर्जन गर्दछ । तर यस्तो गर्नुको सट्टा वा गर्न नसक्ने हीन र हरूवा मानसिकताका कारण वा कुनै क्षुद्र स्वार्थ पूर्तिको लालसाका कारण अथवा उम्किनै नसक्ने गरि संसदवादमा भासिएका कारण हालका कुनै पनि कम्युनिस्ट नामका पार्टीभित्र रहेर त्यहाँका इमान्दार क्रान्तिकारी र सच्चा देसभक्त नेता-कार्यकर्ताहरुले सम्बन्धित पार्टी भित्र रचनात्मक सुझाव, आलोचना, विरोध र दवाव गर्नुको कुनै पनि अर्थ र औचित्य छैन । यो कुरा त धेरै दलका धेरै इमान्दार क्रान्तिकारीहरुले भोग्दै आएको तीतो तर जीवन्त सत्य हो ।
तसर्थ यो स्थितिमा पार्टीका नेता-कार्यकर्तालाई मात्र होइन, राज्य र समाजमा हुकुम-हैकम कायम गरेर शोषण-उत्पीडन गर्ने-गराउने शोषक-शासक वर्ग र व्यक्तिहरुलाई समेत पार्टीभित्र र बाहिरका जिम्मेवार सदस्य र नागरिकहरुले जनस्तरबाटै पार्टी र सत्ताका जनविरोधी, देसविरोधी र क्रान्तिविरोधी तत्व र तिनका गतिविधिहरुका विरुद्धमा खबर्दारी गर्ने कुराको भने सैद्धान्तिक रुपले मात्र होइन कि व्यावहारिक रुपले पनि ठूलो अर्थ र औचित्य छ । चिनमा क्रान्तिसम्पन्न भैसकेपछिको लामो अवधिसम्म पनि पार्टीमा र सत्तामा रहेका पुँजीवादपन्थी अवसरवादीहरु र तिनीहरुद्वारा भए-गरेका प्रतिक्रान्तिकारी हर्कतहरु तथा देस र जनविरोधी कृयाकलापहरु अनि पाँच खराबी र तीन खराबीहरुका विरुद्धमा क. माओले नै व्यापक जनता र क्रान्तिकारी नेता-कार्यकर्ता एवं जनमिलिसिया र युवाहरुको परिचालन गरेर महान् सर्वहारा सांस्कृतिक क्रान्ती संचालन गर्दै पार्टी र सत्तामा रहेका पुँजीवादपन्थीहरुलाई सशक्त खबर्दारी र बर्खास्तगी गरी तत्कालको लागि प्रतिक्रान्तिलाई रोक्नुभएको थियो । त्यसैलाई आधार मानेर नै जनयुद्धकालमा समेत एकातिर पार्टीका पावरफुल नेता-कार्यकर्ता र योद्धाहरुबाट र अर्कातिर आफ्नै निर्माणाधीन नयाँ सत्ता एवं देसका प्रतिकृयावादी र अवसरवादी पार्टी र सत्ताहरुबाट भैरहेका देस, जनता र क्रान्तिविरोधी गतिविधिहरुलाई ठोक्न र रोक्नको लागि प्रचण्डले पनि जनताको प्रत्यक्ष निगरानी, नियन्त्रण र हस्तक्षेपको अवधारणा ल्याएका थिए ! तर विडम्बना के भयो भने यस्तो खबर्दारी गर्ने छुट्टै दरो र दीगो संयन्त्र निर्माण गर्न नभ्याउँदै माओको निधन भयो भने प्रचण्ड आफै प्रतिक्रान्तिकारी दिशामा उन्मुख हुँदा त्यस्तो संयन्त्र निर्माणको न त जनयुद्धकै बेलामा आवस्यकता देखे न त शान्तिकालमै म स्वयंले यस्तो संयन्त्रको टड्कारो आवश्यकता भएकोले त्यस्तो संयन्त्र निर्माण र परिचालन गर्ने सहमती माग्दा दिन चाहे ! आखिर त्यस्तो भन्ने र गर्न खोज्ने गरेबाट म प्रचण्ड नेतृत्वको पार्टिमा कि त उनको व्यक्तिगत र पारिवारिक स्वार्थपूर्ती गर्ने गरी उपयोग हुने वा उपेक्षा र उपहासको पात्र भएर निकम्मा र निरीह हुँदै चुप लागेर बस्ने अथवा पार्टीबाटै पाखा लाग्न बाध्य हुने अवस्था आयो । यो कुरा सामान्यतया वर्तमान नेपालका सबै पार्टीमा र विशेषत: कम्युनिस्ट पार्टीमा र मुख्यतः वर्तमान माओवादीकेन्द्रका सन्दर्भमा म र लोकेन्द्र विष्टजस्ता अन्य कुनै पार्टीमा नगएर स्वतन्त्र रहनेका हकमा मात्र होइन, आज एमालेमा जाने वा रहने मणि थापा लगायतका धेरैजसो इमान्दार क्रान्तिकारीहरुका हकमा समेत एकदमै सत्य हो ।
यो अवस्थामा अब त्यहाँ वा त्यस्ता सबै पार्टीमा अझ बडो, बढी र व्यापक विभाजन, विखराव र विसर्जन आउने निश्चित छ । त्यसपछी भने नितान्त नयाँ शिराबाट सच्चा इमान्दार क्रान्तिकारी कम्युनिस्टहरु एकजुट हुने सम्भावना भने प्रबल नै हुने छ ! त्यसैले सबै माओवादीको एकता मात्र भनेर मार्क्सवादबाटै विचलित भएका, क्रान्तिप्रती धोका दिएका र विश्वासघात गरेका, साम्राज्यवादी र विस्तारवादेहरुका गोटी बनेका, दास, दलाल र दम्भी चिन्तन र चरित्र भएका नामका माओवादी तर कामका खाओ-कमाओवादीहरु बिचको एकताभन्दा देसका सबै पार्टीभित्र वा बाहिर रहेका विचार र आचारमा एकरुपता भएका सच्चा क्रान्तिकारी कम्युनिस्टहरु बिचको बृहद एकता मात्रै आजको वास्तविक आवश्यकता हो । यस्तो एकता मात्रै दीगो र दरो हुनसक्छ र यस्तो कम्युनिस्ट पार्टीले मात्रै देस, जनता र क्रान्तिको सही र सशक्त ढङ्गले नेतृत्व गर्दै सच्चा समाजवादको दिशामा नेपाल र नेपालीलाई अघि बढाउन सक्छ । चेतना भया !