सिन्धुपाल्चोक ।
गएराति आएको बाढी र पहिरोमा परी बाह्रबिसे नगरपालिका ५ जम्बुमा तीन जनाको मृत्यु भएको छ। २० जना बेपत्ता भएका छन्। स्थानीय याल्मो ठाडो खोलाले ११ वटा घर बगाउँदा स्थानीय २५ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव भेटिएको छ। अर्का एक जनाको ठेगाना खुलेको छैन्। अरु १६ जना बेपत्ता भएका छन्। सेना तथा प्रहरीको टोलीले उनीहरुको खोजी गरिरहेको छ।
मृतक निकेशकी श्रीमती सबिना बस्नेत र स्थानीय सुवेस तामाङ गम्भीर घाइते भएका छन्। १० घरमा क्षति पुगेको छ भने भोटेकोशी किनार वारीपारी रहेका झण्डै ५० घर बाढीको उच्च जोखिममा रहेको उनले बताए। ठाडो खोलाले ठूल्ठूला ढुंगा र माटो बगाएर ल्याएर घरहरुमा क्षति पुर्याएको हो।
यस्तै भोटेकोशी गाउँपालिका वडा नम्बर ५ ध्यालेमा बुलकुटे ठाडो खोलाले दुई वटा घर बगाउँदा एकै परिवारका चार जना बेपत्ता भएका छन्। स्थानीय ङिमा दोर्जे तामाङ, उनकी बुहारी मञ्जु तामाङ, दुई नातीहरु साहेल र पासाङ नुर्बु बेपत्ता भएको वडा सचिव टेकप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार अरु दुई जना घाइते भएका छन्। बुलकुटे खोलाले अरनिको राजमार्गमा रहेको पक्की पुल पनि बगाएको छ।