नेपालमा भएको दुई विदेशी नागरिकको हत्यामा संलग्न रहेको कसुरमा सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाइएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज रिहाइको माग गर्दै फेरि सर्वोच्च अदालत पुगेका छन् । बिकिनी किलरको रुपमा कुख्याती कमाएका उनको मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको छ । उमेर हदका कारण कारागारबाट रिहाइ गराइपाउँ भन्दै शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदन बिहीबार सिन्हाको एकल इजलासमा परेको हो ।
शोभराजले आफू वृद्ध भएको कारण सजायबाट उन्मुक्ति पाउनुपर्ने भन्दै बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । उक्त रिट निवेदन बिहीबारका लागि न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासको पहिलो नम्बरमा परेको छ ।
कारागार नियमावली, २०२० मा ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली नागरिकलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने व्यवस्था गरिएको छ । तर विदेशी कैदीबन्दीको हकमा उक्त नियमावलीले केही नबोलेको कारण के गर्ने भन्ने अन्योल नै रहेको छ । शोभराजले भने आफ्नो उमेर ७७ वर्ष पुगिसकेको कारण आफूले पनि उक्त सुविधा पाउनुपर्ने दावी गर्दै आएका छन् । विगतमा पनि असल चालचलन भएको विदेशी नागरिकलाई समेत उक्त सुविधा दिइएको भन्दै आफूले पनि उक्त सुविधा पाउनुपर्ने शोभराजले जिकिर गर्ने गरेका छन् ।