प्रकाश सिग्देल ।
कालीगण्डकी नदीमा ३१ हजार माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडा मकवानपुरले रहु र नैनी जातका माछाका भुरा कालीनदीमा छाडेको हो । गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यतामा माछाका भुरा छाडिएको हो ।
गैँडाकोट नगरपालिका वडा नम्बर ३ को ढोडेनीदेखि १० किलोमिटरमाथि महेश्वर खोला भ्रोक्रेफाँट भन्ने स्थानमा पुगेर काली नदिमा माछा छाडिएको कार्यालयका प्रमुख सरोज कुमार यादवले बताउनुभयो ।
मेयर पौडेल आफैँ त्यहाँसम्म पुगेर कार्यक्रममा सहभागिता जनाएर उहाँकै हातबाट माछाको भुरा नदीमा छोड्न पाउँदा आफूहरु धेरै खुसी भएको यादवले बताउनुभयो । कालीनदीमा माछाका भुरा छाड्दै मेयर पौडलले नदीमा माछाको प्रवर्द्धन गरी प्रकृतिको संरक्षणमा प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रले महत्वपूर्ण काम गरेको बताउनुभयो । जलीय जैविक विविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रित समुदायको आयस्तर अभिवृद्धिका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने मेयर पौडेलको भनाइ छ ।
कार्यालयले यसअघि मकवानपुरको सामारी नदीमा पनि ३४ हजार र नारायणी नदीमा ४० हजार भुरा छोडिसकेको छ । त्यस्तै कोशी नदीमा पनि माछाको भुरा छोड्ने योजना रहेको यादवले बताउनुभयो । खोला नालामा फोहोर ढल मिसाउने, बिषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने, नदिजन्य पदार्थको चरम दोहन गर्ने लगायतका कारणबाट जलचर मासिने क्रम बढेकाले यसको संरक्षण गरी नदीमा आश्रित समुदायको जीवनस्तर विकासका लागि आफूहरुले यो कार्यक्रम गरेको यादवको भनाइ छ ।
त्यस्तै कार्यालयले गैँडाकोट ३ स्थित ढोडेनी बजारमा रहेको विद्यालय परिसरमा माछा संरक्षणका लागि सचेतनामूलक होडिङबोर्ड समेत लगाएको छ । आफूहरुको मेचीदेखि महाकालीसम्म कार्यक्षेत्र रहेको र नदी नालाको अध्ययन गरी कुन माछा संकटमा छ त्यसको आधारमा माछालाई प्रवर्द्धन गर्न माछा भुरा छाडिदै आएको यादवको भनाइ छ । नेपालमा ४ लाख १ हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र देशमा उत्पादन हुने कुल ९७ हजार मेट्रिक टन माछा मध्ये २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने यादवले बताउनुभयो । प्राकृतिक जलाशयमा ४ लाख जनसंख्या निर्भर रहेको उहाँकोे भनाइ छ ।
जलाहारी बोटे लगायतका समुदायको आयस्तर विकास गर्न र नदीनालाबाट माछा मारेर जीवन निर्वाह गर्ने समुदायको हितका लागि यो कार्यक्रम सञ्चालन गरिएको यादव बताउनुहुन्छ । यसले पानीमा आश्रित गोही लगायतका जनावरलाई समेत फाइदा पुग्ने उहाँको भनाइ छ ।








































