विज्ञहरुको सहयोगमा ।
मकैबालीमा फुल फुल्ने अर्थात चमार निस्कने समयमा तापक्रम आवश्यकभन्दा बढी या कमी हुँदा फौजीकिराले आक्रमण गर्छ । फुल फुल्ने बेला ३५ डिग्री सेन्टीग्रेडभन्दा बढी र १० डिग्री सेन्टीग्रेड भन्दा कम तापक्रममा परागसेचन दर कम हुनाले मकैको घोगामा दाना लाग्दैन ।
मकै छरेदेखि नै विभिन्न किराहरुको आक्रमण त हुने नै गर्छ । ति मध्ये एक हो अमेरिकन फौजी किरा यो विशेषत अमेरिकाको उष्ण तथा उपोष्ण क्षेत्रमा पाईने रैथाने किरा हो ।
यो किरा सन् २०१६ मा अमेरिकामा देखिएको थियो । त्यसपछि सन् २०१८ मा भारत चीन बंगलादेश हुँदै नेपाल प्रवेश गरेको हो । नवलपूरको गैँडाकोटमा पहिलोपटक सन् २०१९ को अगस्ट १२ मा देखिएको यो किरा मकैमात्र होईन धान गहुँ कोदो र जुनेलोमा पनि लाग्छ ।
अमेरिकन फौजी किराको पहिचान
यस किराको अण्डा पातको तल्लो सतहाम रहेका हुन्छन् । यिनिहरुलाई सेतो खैरो कत्लाले ढाकेको हुन्छ ।
यस किराको लार्भा सुरुको अवस्थामा सेतो वा ह हुन्छ भने टाउको कालो रंगको हुन्छ । हुर्कदैँ जाँदा लार्भाको शरिर साधारणतया खैरो रंगको हुन्छ भने टाउको गाढा खैरो हुन्छ ।
लार्भाको जीवन १४ देखि २१ दिनको हुन्छ ।
यदि किराको लार्भाको पेटको आठौं भागमा चारवटा ठुला ठुला धब्बा छन् भनेपनि त्यो फौजी किरा हुन सक्छ । पूर्ण विकसित लार्भा ३ देखि ४ सेन्टिमिटर लामो हुन्छ ।
यो बेलुका र रातीको समयमा चर्न रुचाउँछ ।
बालीमा क्षती
यसले मकैको पातमा लाम्चा आकारका झिल्ली मात्र बाँकी छोडेर मकैको पातलाई कोतरेर खाने गर्दछ ।
यसले मकैको घोगा पात जुंगा र गुभोमा क्षती गर्छ । मकैको गुभोमा काठको धुलो जस्तो किराको दिसा भेटिएमा गुभो खोलेर हेर्दा फौजी किराको लार्भा देखिन्छ । लार्भा धेरै खन्चुवा हुन्छ ।
यसले मकै लगाएको ८ देखि १० दिनमा नै क्षती गरिसक्छ ।
बालीमा फौजी किराको व्यवस्थापन
फौजीकिराको शत्रुजीव बारुलोको प्रयोगबाट यसको प्रकोप कम गर्न सकिन्छ ।
मकै रोप्नुअघि गहिरो गरेर खनजोत गर्ने । खेतभित्र र बाहिर रहेका झारपात नष्ट गर्ने ।
बर्खे मकै निश्चित ठाउँमा सबैले एकैचोटी एकै समयमा रोप्ने ।
कोशेबालीलाई मकैसँग अन्तरबालीको रुपमा लगाउँदा यस किराको प्रकोप कम हुन्छ ।
यो किरा बेलुका र रातिको समयमा चर्न रुचाउने भएकाले बत्तीको पासो अर्थात लाईट ट्रयाप को प्रयोग गरेर पनि वयस्क किरालाई नियन्त्रण गर्न सकिन्छ ।
डेस्मोडियम घाँसको सुगन्ध यो किरालाई मन नपर्ने र नेपिएर घाँसको सुगन्धबाट पोथी किरा आकर्षित हुने हुनाले डेस्मोडियम घाँसलाई मकैको बीच बीचमा लगाउने र नेपियर घाँसलाई छेउ छेउमा लगाएर किरालाई आकर्षित गर्ने र जैविक विषादीको प्रयोग गरी किरा मार्ने ।
हरियो खुर्सानी गाईको गहुँतमा पकाएर १–१० को अनुपातमा पानीमा मिसाई गुभोमा राख्दा पनि यस किराको प्रकोप कम गर्न सकिन्छ ।
जैविक विषादी जस्तैः महाशक्ती डायपेल आदि २ मिलिमिटर वा २ ग्राम प्रतिलिटर पानीमा राखेर स्प्रे गर्ने ।
इमामेक्टीन बेन्जोयट ५ प्रतिशत एसजी शुन्य दशमलव ५ ग्राम प्रतिलिटर पानीमा राखेर स्प्रे गर्ने ।
स्पिनोसाड ४५ प्रतिशत एसजी र क्लोरान्ट्रानिलिप्रोल १८ दशमलव ५ प्रतिशत एसजी १ मिलिमिटर प्रति ३ लिटर पानीमा राखेर बोटमा स्प्रे गर्ने ।
सिफारिस नगरिएको रासायनिक विषादीको प्रयोगले गर्दा सही विषादी पनि प्रभावहीन हुन्छ त्यसैले कृषि प्राबिधिकको सल्लाह अनुसार सिफारिस रासायनिक विषादीको प्रयोगले यस किराको जोखिम कम गर्न सकिन्छ ।
गाउँघरमा पाईने जडीबुटीहरु निम बकाईनो तितेपाती खुर्सानी असुरो आदि मिसाएर गाईको पिसाबमा पकाउने र आएको रसमा एक भाग रसमा १० भाग पानी मिसाएर टंकीको सहायताले पुरै गुभो बोट भिज्नेगरी छर्ने । यो ६⁄७ दिनको फरकमा फेरि छर्ने ।
ठुला किराको लागि गाउँघरमा पाईने खरानी वा काठको धुलो वा मसिनो माटो मकैको गुभोमा थोरै थोरै राखिदिनाले पनि किराहरु मर्छन् ।