सेयर
-कृपा अधिकारी
माया के हो?
म जस्तो नादानलाई कसले सिकाउने ?
सानो छँदा मलाई मेरि आमाले भन्नुहुन्थ्यो ‘छोरी, जसमा तिमीले आफ्नो बुवाको अवतार देख्छ्यौ र तिमीलाई जसले आफ्नो बुवाजस्तै माया गर्छ उसलाई आफ्नो सपनाको राजकुमार ठान्नु।’
मेरी आमाले सिकाएको सत्कर्मलाई पछ्याउने कोशिस गर्दा मैले हकिकत मै एउटा साधारण, इमान्दार ‘तिमी’ पाए।
तिमीलाई भेट्नुअगावै म कताकता रुमलिएको सिमलको भुवाजस्तै थिएँ, तिम्रो आगमनले म बिस्तारै पात पलाउँदै गएको पारिजातको बोटजस्तै हुँदै गएँ । तिमिसँगको सम्बन्धले मैंले अनेकौँ सुगन्धित र नयाँ-नयाँ गीतका भाकाहरु गाउन थालेकी छु। मैले सुगन्ध लिने हरेक फूलका कोपिलाहरू तिम्रै बास्नाले फर्किए जस्तो लाग्छ। र मपनि तिमि जस्तै कोपिलाबाट फक्रँदै-फुल्दै, फक्रँदै-फुल्दै सुन्दर बनेर वरपर सुगन्ध छर्दै फुलिरहेँ ।
तिमि त त्यो सिमलको भुवाजस्तै उडेर टाढा गयौ, म तिमीलाई फेरी कहिले कहाँ भेट्छु थाहा नै छैन । तिमि जहाँ रहेपनि म तिमीलाई बिहानको चिसो शित बनेर म हुनुको स्पर्श गराउने छु, चर्को घाम बनेर प्रत्येक किरणले तिमीलाई छुन पो सक्छु कि? वर्षायामको तप तप पानीको थोपा बनेर तिम्रो शरीर नै सिरिङ्ग पार्न पो सक्छु कि?
जिन्दगी सुरु हुनुअगावै तिमीसंग म वाचा गर्नेछु, चाहे हालातले जहाँसुकै लैजाओस्, अवस्था जस्तो सुकै बनोस्, म तिम्रै पैतालाका डोबहरू पछ्याउँदै बुढेसकालसम्म तिम्रो सहाराको लाठ्ठी बन्नेछु।
दिलको एकदमै सफा छौँ तिमी, त्येसैले त खास छौ । तिमीभित्र म आफ्नो मनको आत्मिय साथी पाउँछु । मात्र कल्पनामा सिमित छौँ तिमी। त्यैपनि तिमीलाई नै याद गर्छु, म तिम्रो दिलमा मायाको बहार छर्ने धेरै मिठो सुगन्ध पाउँछु पहिला तिमीलाई कल्पिँदा पनि माया लाग्थ्यो, अब त् मलाई तिम्रो बानी नै बसिसक्यो।
मेरा साथीहरु धेरैजसो भन्ने गर्छन कि माया साँचो नै हुँदैन, उनीहरुको दोधारे प्रश्नहरुको जवाफ हौ ‘तिमी’। मायाको प्यारो उदाहरण हौ ‘तिमी’।
मलाई तिम्रो मायाको आभाष आत्माबाटै हुन्छ। तिम्रो हरेक शब्दले जिन्दगीमा थप उमंग छर्ने गरेको छ। तिमीसंग भेट्दाको त्यो प्यारो क्षण अनि मिठो माया, हामी भेटेको हाम्रो गाउँको खोलाको बगरमा त्यो बालुवाको कण-कणले मलाई पछि सम्मको लागि पनि सम्झना पोको पारेर सम्हालिदिएको छ। म यस्तै कल्पनामा डुब्छु । सपनामा हराउँछु तिमीसँगै ।
त्यो बालुवाको बगरमा हिँड्दा हिँड्दै मेरो खालि खुट्टा फतक्कै गलेको र घामले पोलेको हुँदा तिमिले मेरो अप्ठ्यारो महसुस गर्दै मौन भई एकनाशले मलाई नै हेरिरहन्थ्यौ । मलाई त्यो चर्को घामले पोलेको देख्दा तिमीले चिसो बोत्तल पानि किनेर मेरै माथि छर्कदै “पानि पर्यो, बिस्तारै हिँड भन्दै मेरै हातको औँलाको कापामा आफ्नो औला मिसाउदै मायाले मेरो हात समाउँदै हिँडेको कल्पना आँखा अगाडि झल्झली हुन्छ ।
म धेरै बोल्ने अनि तिमि धेरै सुन्ने हाम्रो जोडी कति मुलायम आहा! म तिमिलाई आफ्नो गाउँ घुमाउँदै थिएँ । म बाटोमा बोल्दा बोल्दै आफ्नै एकोहोरो सूरमा गाडीको छेउमा पुगेको पत्तै पाइनछु, त्यसैबखत तिमि अत्तालिएर मलाई तान्दै “बदमास! आँखा नहेरी बाटोको बिचमा हिँडछन्?” भनेर गालि गर्दै जोडले तान्दै आफनो अङ्गालोमा बेरेको कति प्यारो पल । त्यो बाटोको प्रत्येक घुमाउरा गल्लीले मलाई तिम्रै यादले अँगालो मारेजस्तो महसुस हुन्छ।
विस्तारै तिमी केहि दिनपछि आफ्नो गाउँ फर्कने भयौ । मेरो मन कता कता उडिरहेको त्यही सिमलको भुवा जस्तै एक्लो भयो,र तिम्रो नैराश्यता देख्दा तिमीलाई खुसि बनाउन देखावटी मन्द-मन्द हासिरहे। तिमीलाई राम्रो संग जाउ भन्न पनि मेरा आखा रसाए तिमि पुग्यौ वा पुगेनौ केहि थाहा नै पाइन।
तिमी त आफ्नो गाउँ पुगिसकेर गाडीबाट ओर्लनासाथ त्यसै पल मेरो गाउँ आउने गाडी चढेर मेरै गाउँ फर्किएछौं, तिमीलाई भोलिपल्ट देख्नासाथ मैले आफ्नो खुसि आफ्नो आखाँमा थाम्नै सकिन,र त्यहि पलमै मैले थाहा पाएँ कि मायामा यस्तो मिठो तागत पनि हुने रैछ, मेरो रसाएको आखाँ देख्दा तिमि एक अव्यक्त भावुकताको कैदी बन्छौ।
तिमि कहिल्यै पनि पिर नगर्नु कि यसलाई के उपहार दिउँ? यसलाई कसरी राखुँ? कसरी माया गरौँ । मलाई उपहारमा तिमीबाट महँगो गहना र सम्पति चाहिंदैन,मात्र तिम्रो सत्यकर्म, मिठो वचन र विश्वास चाहिन्छ”। अनि मेरो प्यारो तिमी मलाई कुनैपनि पर्वमा तिमीबाट महँगो होटलको खाना गाडी घोडाको चाहना नै छैन। मलाई तिम्रो घरको छतमा मेरो लागी एउटा इज्जतको प्यारो ठाउँ पाए पुग्छ।
तिमी मलाई तिम्रो आफन्तजन र साथी-भाईसंग राम्रो परिचय गराउँछौँ यसमा म पूर्ण विश्वस्त छु तर साथीहरुको बीचमा माया मात्र होइन, फोटोमाथि मिठा शब्दहरू मात्र होइन मलाई वास्तविक जीवनमा पनि इज्जत र मिठो रोमान्स चाहिन्छ।
तिमी मलाई झुटा कसम नदेउ म यति चाहन्छु कि हाम्रा कारणले परिवारमा असर आउने काम नहोस् र हामीबीच यति मिठो सम्बन्ध होस् कि जुन कसैले पनि कुनै किताब या चलचित्रमा मात्र सुनेको देखेको होस्।
तिम्रो र मेरो जीवन मलाई परआत्माको मिलन जस्तो लाग्छ। म तिमीलाई हरेक आकृतिमा पाउँछु । लाग्छ यो निलो आकाशमा मडारिएको सेतो बादल तिमी हौ। म चर्को घाममा आफ्नो कदम चाल्छु, तिमी माथिबाट ढपक्कै मलाई छोपेर शितल पारिदिन्छौ। म खुसीले त्यो बादललाई तिमी सम्झेर हेर्न र छुन चाहन्छु तर सक्दिन, र त्यो सेतो बादल सबैतिरबाट पोको पर्दै एक अर्कामा लतपतिदै बेरिन्छन् बादलको त्यो सौन्दर्य देख्दा म फेरीपनि तिमीलाई नै सम्झन्छु, तिमी र म आफ्नो तृष्णा मेटाउन एकै ठाउ भेटिएझैं।
बादलको त्यो मननै मोहित बनाउने आकृति देख्दा मेरो मुटु नै तिम्रै कल्पनाले सिरिङ्ग हुन्छ र विस्तारै मेरो आङ्गमा काँडा उम्रन थाल्छन।
तिमीसंग कहिलेकाहीँ हकको कुरा गर्न मन लाग्छ गरौँ?
तिमीसंग कुरा गर्दा म बच्चाजस्तो बन्छु अनि एकै सासमा सबै कुरा सुनाउँछु। बीच-बीचमा तिमी मुस्कुराउछौँ र मैले के भयो भनि कारण सोध्दा केहि होइन भन्छौ। तिमीलाई के लाग्छ? म कारण पत्ता लगाउन सक्दिन होला ? तिम्रो हाँसोको कारण ? खुसीको रहस्य? मलाई पनि आज जान्न मन लाग्यो तिम्रो मनले म संग मात्र झुटो बोल्छ नि? अनि ति ओठले ? त्यो मुस्कानको हकदार म मात्र छु नि?
आफ्नो जीवन कसैसंग बाँड्नको लागि चाहिने सबैभन्दा महत्वपूर्ण कुरा नै स्वीकृति हो। त्यो मान्छेलाई पूर्ण रूपमा स्वीकार्न सिक्नुपर्छ। उसको राम्रो नराम्रो सबै कुरालाई अंगाल्न सक्नुपर्दछ। अनि बल्ल त्यो सम्बन्ध मौलाउँछ।
एक अर्काको कमि कमजोरी खोज्न, खसाल्न, तौलिन, धनि गरिब को हिसाब राख्न खोज्यो भने त्यो सम्बन्धमा स्वतः चिसावट आइदिन्छ। त्यसको सट्टा उसलाई हौषला दिन र उसको प्रेरणा बन्न सक्नुपर्छ। मायामा लगाव हुनुपर्छ , त्याग गर्न सक्ने क्षमता हुनुपर्छ। यदि त्यहि व्यक्तिसङ्ग जीवन बिताउने नै हो भने एक-अर्का प्रतिको दोष यो हो भनेर घचघचाउने, पतन बनाउने भन्दा पहिल्यै एक-अर्काले आफ्नो-आफ्नो गल्ति स्वीकार गरि माफी माग्न र गल्ति सुधार गर्ने प्रयत्न गर्नु पर्छ, आफुले माया गरेको मान्छेको कमजोरीलाई उसको शक्ति बनाइ दिन मद्दत गर्नुपर्छ त्यसैले गल्ति सुधार्ने मौका पनि दिनु पर्छ,पूर्ण निष्ठाले गहिराइमा पुगेर माया गर्नुपर्छ एक-अर्काको इज्जत गर्न सिके सम्बन्ध आफै मजबुत बन्छ।
म तिमीलाई पनि तिम्रो हरेक उत्सवमा केहि दिन सक्दिनँ,सायद म केहि दिन सक्ने लायक बनेकै छैन । म माथी बिश्वास गर, म तिमिसङ्ग तिम्रै शुन्यताबाट मिसिएर एउटा् बग्ने नदि बन्न सक्छु, म तिम्रो हरेक जन्मदिन आउँदै गर्दा हृदय ठुलो बनाएर आशिर्वाद भने दिन्छु,यो ब्रह्माण्डमा रहेका हरेक वस्तुले, तिमीलाई देख्ने, तिमिलाई सुन्ने र चिन्ने सबैले तिम्रो सफलताको गीत गाउन, ति चराहरु पनि तिम्रो खुसीमा नाच्न, गाउन उत्सव मनाउन बाध्य हुन अनि एउटा कुरा याद गर्नु तिम्रो कमाइले होइन्, तिम्रो सत्कर्मले राम्रो संस्कारले, तिमिले प्राप्त गरेर सिएर राखेका मालाका गुच्छा जस्ता तिम्रै सफलताले तिम्रो बुवा आमालाई तिमी जन्माउनुको ठुलो सार हुन्छ।
मेरो आशिर्वादले तिमीमा सदैव तागत, जोस, उमंग छाइरहोस्। मेरो प्राथनाले तिम्रो दु:ख, पिडा र नैराश्यताबाट तिमीलाई नै खबरै नगरी टाढा राखोस्। तिम्ले देखेका हरिया दुबो जस्तै सप्तरंगी सपना पराल जसरि सुकेर कहिल्यै नजाउन।
मैले तिमीलाई यसै चाहेको होइन, मैले तिम्रो मायामा आफु हुनुको अस्तित्वको अर्थ पाएकी छु।
हामीबीच जब झगडा हुन्थ्यो मन जब दुख्यो, भ्रम धेरै बढ्न लाग्यो। फेरी तिमीले त्यस्ता शब्दहरु पनि सुन्न थाल्यौं जुन मैले कहिल्यै भन्दै भनिनँ, तिमीले दिएका केहि रुखो शब्दहरुले मनमा मनकै बादलहरु ठोक्किन्छन् अनि म नचाहँदा नचाहँदै पनि लुकेर दमित आवाजमा रुन थाल्छु। तिमीसंगको सकारात्मक दुरीले मन अत्तालिन्छ म केहिबेर शुन्यमा स्थिर हुन्छु र तिम्रै कल्पनामा उत्रिएका भावहरु सजाउंदै सुनौलो महसुस गर्छु।
मलाई तिमी टाढा छौ भन्ने कुराको पिर हैन, तर कतै हाम्रो मायालाई टाढा लगिदिने बैरी बतास भित्रिदिन्छ कि भन्ने पिरले चाही मनलाई बेस्सरी पिरोल्छ,अनि ति मनगडन्ते भावनालाई विथाेल्न खोज्दा-खोज्दै कोशौँ पारीको तिमीलाई सम्झेर यी आखाँले मलाई नै नसोधि आँशुले आखाँको बाँधनै भत्काई दिन्छन्।
म त तिमीले देखिने वा भेटिन नै नमिल्ने ठाउँमा छु तर म एक्लै बसिरहेको बेला तिम्रो आवाजमा त्यो पल्लो डाडाबाट कसैले मलाई नै बोलाएको जस्तो लाग्छ। म हल्मलाउदिन, मात्र त्यो आवाज घुरिएर सुन्छु। त्यो आवाज लाई त्यति नजिकै को मेरो कानले सुन्दैन तर भित्र दबेको मेरो मनले कसरी सुन्छ ?
मैले आफ्नो हरेक सोचमा तिमीलाई नै निम्ता दिने गरेकी छु। जब जब ओठ खुल्छ, नाम तिम्रै आउँछ। मायापनि त तिम्रै मात्र लाग्छ नि।
भयो छोड! कति कल्पनाको मात्र कुरा गर्नु? तिमी विश्वास गर म माथि – म भन्दिन कसैलाई तिमी मेरो सासको पनि सास हौ भनेर, तिमी मेरो धड्कनको पनि धड्कन हौ भनेर। तर उनीहरु संग कसरी लुकाउनु,जस्ले मेरो आखाँमा नियाल्दा तिम्रै तस्बिर देख्छन् ?
तिमिसँगै जोडिएको एउटा ठुलो सपना छ, तिम्रो नामको सिन्दुरले आफ़ुलाई पूर्ण बनाउन मन छ, त्यो सिन्दुरको धर्कोले तिम्रो आयु लामो होस भनी कामना गर्नु मन छ । तिमी हाम्रो जीवनमा आएका चुनौतीलाई सहज रूपमा जित्ने आँट र हिम्मत राखिदेउ, म जिन्दगीभर झुकेर सब नातालाई सयपत्री फूल जसरि फुलाएर राख्ने छु।
डुब्न नडराई मन खोलेर माया गर्न सके मायाले कहिलै डुबाउँदैन । हावाले मलाई चारैतिर बाट तिम्रो स्पर्श गराउदै कताकता काउकुती लगाउदै सुस्त भाग्ला तर त्यही सुगन्ध दिने मलाई माया गर्ने हावालाई तिमि भनेर अगाल्न खोज्दा तिमिलाई नै पाउदिन किन? मलाई त चारैतिर तिमि नै तिमि हुनुको आभाष हुदै ब्रह्माण्डका हरेक बस्तुले तिम्रै मात्र स्पर्श गराउछन। के तिमिलाई त्यस्तो गराउँदैन ?
shere this








































