जानुका धमला
नाम जस्तै निश्चल थियो उनको काम पनि वर्गमुक्तिको खातिर । यतिखेर वर्ग संर्घषका गाथा इतिहास अर्ध मुर्छित छन् । उठ्न मन छ तर यो विरतालाई उठाइदिने कसले ? मुर्छित इतिहासको वरिपरी ठुलो समाधिस्थल छ, जहाँ त्यही समाधिमा बिलिन भएका सहयात्रीहरु चिच्चाएको आभाष गर्छु म घरिघरी । समाधिस्थल पनि असाध्यै प्यारो लाग्छ मलाई चाहे तिनीहरुका कंकालले कसैले भनेको कथाजस्तो भएर मलाई तर्साउन वा लखेट्न नै किन नआउन । डर लाग्दैन मलाई उनीहरुको त्यो चिच्यावटको । नजिक गएर सुन्न र नियाल्नको लागि । म श्वाससहित छु र त सुन्छु उनीहरु श्वासरहित छन् र पो समाधिस्थलबाट चिच्चाईरहेका छन् विलिन सपनाहरुसँग ।
योपटकको मेरो समाधिबाट आफ्नो आवाज बुलन्द गरिरहेकी साहसिक पात्र हुन्, रसुवा जिल्ला साविकको धैबु◊ गाविस हालको कालिका गाउँपालिकामा २०३८ सालमा बुबा शिवप्रसाद लामिछाने र आमा नेत्रकुमारी लामिछानेको कोखबाट दोस्रो सन्तानको रुपमा जन्मिएकी क्रान्तिकारी योद्धा गंगा लामिछाने (क.ज्वाला) । क्रान्तिको राँको देशभरी दन्किँदै थियो, त्यही राँकोमा आफूले अर्काे मसाल बोक्न आँट हिम्मत गर्ने क्रान्तिकारी सिपाही हुन् उनी । २०५६ सालमा पार्टीको पूर्णकालिन कार्यकर्ता भइन् । २०५७ सालमा नुवाकोट जिल्लाको तारुका चौकी आक्रमणको क्रममा रसुवा नुवाकोटको तर्फबाट महिला छापामार कमाण्डर । धादिङको दार्खा चौकी कब्जा गर्ने क्रममा पनि उनी सहभागी भइन् । २०,२५ वर्ष अगाडिको नेपालको सामाजिक परिवेश कस्तो थियो सजिलै बुझ्न सकिन्छ । जहाँ महिलाहरु दोस्रो दर्जाको नागरिक भएर बाँच्न बाध्य थिए, सदियौँदेखी पितृसत्तात्मक राज्यबाट पीडित थिए । महिलाले पड्काएको बन्दुक पड्किँदैन भन्ने रुढीबादी चिन्तनबाट ग्रसित मानसिकताबाट गुज्रेका पितृसत्तात्मक राज्यमा आधारित चिन्तनले ग्रस्त थियो । त्यो सारा भ्रमलाई छिचोल्दै देश संसार बदल्ने महान कार्यमा लिङ्गीयको आधारमा होइन अवसरको आधारमा मुल्यांकन हुनुपर्छ भन्ने मान्यता राखेर सदियौँदेखि जगडिएको विचारलाई चुनौति दिने काम सानो आँटले सम्भव थिएन त्यो बेला । उहाँलाई दुनियाँमा असम्भव छ भन्ने कुनैपनि कुरा लाग्दैन थियो ।
मलाई यो स्वार्थी दुनियाँको तिस वर्ष भन्दा वर्गीय आन्दोलनको पाँच बर्ष नै प्यारो लाग्छ । जीवनको भिमकाय पहाडहरुलाई छिचोल्दै सुन्दर समथर संसारमा पुग्ने सुनौलो सपना अजिव लाग्छ आज सम्झँदा । खैर, सपना बीचैमा तुहियो वा तुहाइयो त्यसको पनि समिक्षा होला कुनै कालखण्डमा । वर्गीय मुक्तिको गगनभेदी नारा लगाएर त्यही वर्गीय मुक्तिको खातिर आफ्नो भौतिक शरिरलाई हाँसीहाँसी बलिबेदीमा होमिने महान योद्धाहरुको वलिदानले प्राप्त भएको गणतन्त्रमा त्यही रगतलाई अपमान भएको देखेर मन पोल्छ र त यादहरु मेटाउने कोसिस गर्छु म ।
प्रियमनहरु तपाईहरुको वलिदानी भएको दश वर्षहरु अब कहिल्यै फर्किएर आउने छैनन् । वर्गीय मुक्तिका गीतहरु वर्गीय भावनाले ओतप्रोत मनहरु व्यक्तिगत स्वार्थभन्दा माथि वर्गीय स्वार्थ । जीते सिंगो संसार, हारे फगत एउटा जीवन । यही सिंगो संसार जित्ने तपाईंको सपनाको साक्षी म । त्यही सपना बाँड्ने क्रममा नै ढुंगे पहाडको मुनि तपार्ईंको घरमा भएको पहिलो तथा अन्तिम भेट अजिव र अमिट छ ।
वर्गसंर्घषका लागि पाइला चाल्दै गर्दा मिठा यादहरु छन् तपाईंको घर परिवारसँग । आमाको नजरमा तपाईं रसुवादेखी टाढा हुनुहुन्थ्यो र मेरो छोरीजस्तै छौ भनेर माया पाएको थिएँ । भाइबैनी सानै थिए, दिदिजस्तै हुनुहुन्छ भनेर सम्मान पाएकी थिएँ । अहिले पनि कायम छ वर्गीय नाताले जोडेको हाम्रो अमरसम्बन्ध । आजकाल धेरैले सम्झीएजस्तो लाग्दैन त्यो बेलाको वर्गीय प्रीत र सम्बन्धलाई तर मलाई अजिव प्यार छ त्यो नाताहरुसँग । गंगाजस्तो जनयुद्धको लागि छोरी जन्माउने महान आमा बाबाप्रति कृतज्ञता प्रकट गर्दछु ।
युद्धभित्रको भिमकाय संघर्षको बारेमा त्यती धेरै जान्ने अवसर तपाईंबाट पाएँ, जुन मैलेभन्दा अगाडि तपाईंले भोगीसक्नु भएको थियो । म पूर्णकालिन हुँदै गर्दा तपाई नेता कमाण्डर बनिसक्नु भएकोथियोे क्रान्तिको अभिभारा काँधमा बोक्ने हैसियत बनाइसक्नुभएको थियो र त रसुवा नुवाकोटमा हुने सबै फौजी गैरफौजी कारवाहीहरुमा तपाईंको समान सहभागिता थियो । तपाईंले फौजी मोर्चाको बारेमा कुरा गरिरहँदा बन्दुक पड्काएको कुरा सुनिरहँदा मलाई अलि–अलि डाहा पनि लागेको थियो । मैले पनि कहिले तपाईंलेजस्तै गरी बन्दुक पड्काउने होला ? जसलाई वर्गदुश्मन करार गरिएको थियो उनीहरुको राज्यलाई ध्वस्त बनाएर सर्वहारावर्गको राज्य स्थापना कहिले गर्ने होला ? अनगिन्ती प्रश्नका भारी थिए मन भित्र ।
कम्युनिस्ट व्यवहारिक हुनुपर्छ, त्यो तपार्इंको मान्यता थियो ! काङ्ग्रेस कहिलै जनतामुखी हुन सकेन यो देशको लागि बिडम्बना हो उहाँ भन्नुहुन्थ्यो † साम्राज्यवाद, पुँजीवाद मुर्दावाद । मान्छेले मान्छेलाई शोषण गर्ने व्यवस्थाको अन्त्य हुनुपर्छ भन्ने तपाईको वर्गीय प्रेमप्रतिको मान्यता थियो । अदम्य साहसको धनी अर्थात क.ज्वाला । जो एक्काइस बर्षको कलिलो उमेरमा सहिद हुनुभयो र क्रान्तिले सुम्पिएका जिम्मेवारी पूरा गर्नुभयो ।
मैले त्यसै भनेको होइन यो स्वार्थी दुनियाँको ३० बर्षभन्दा युद्धको पाँच वर्ष नै प्यारो भनेर किनकी यो स्वार्थी दुनियाँकोजस्तो पैसा कमाउने होडबाजी थिएन त्यो समय इमान्दर कार्यकर्ता नेताहरुको लागि । उनले बोकेका वर्गीय सपनाहरु, उनले प्रमिथस ,स्पार्टाकस, माक्र्स, लेनीन, माओत्सेतुङ, भगत सिंह, चे, गंगालालजस्तै आदर्श मानेका नेताहरुका लागि । पुँजीवादी संसदीय व्यवस्था प्रधानमन्त्री, सांसद, किनबेच गर्ने थलो बनेको छ जनता उनीहरुलाई सत्तासम्म पुर्याईदिने भर्याङ बनेका छन । अझैपनि आश बाँकी छ तपाईंहरुको सपना बोकेर इतिहास प्रत्येक घात/प्रतिघात चिरेर अगाडि बढिरहन्छ । जबसम्म मान्छेले मान्छेलाई शोषण गर्ने व्यवस्थाको अन्त्य हुँदैन ।
उनी मेरो प्रिय कमरेड
उनको शहादत मसान भएको होइन
उनैले बोकेको मशाल भएको छ
उनको शहादतलाई
लालसलाम
सहादत भएको आज अठार बर्ष पुगेको छ । उनका सपनाहरु मुर्छित छन् । तर उहाँ हिँडेको बाटोमा निरन्तर हिँडिरहने प्रणका साथ अभिवादन ।
तपाईंहरुको रगतबाट सिर्जित गणतन्त्र नेपाल स्थापना भएको छ । गणतन्त्र सँगसँगै संघीयता, धर्मनिरपेक्षता, समानुपातिकताका कुरा उठाउँदा बाख्राको टाउको भैसीको सिङ भनेर संघीयताको विरोध गर्नेहरु सत्ताको नेतृत्व गरिरहेका छन् । तपाईंको वलिदानमा भर्याङ बनाएर सत्तामा मस्त नवधनाढ्यहरु थपिए । जनताको जनजिविकाको सवाल झन कमजोर भएको छ । वलिदानबाट निस्किएको सुन्दर पक्ष हुन्, हुम्ला÷जुम्लाका झोका वि.क.हरु निर्धक्कका साथ जनताहरुको समस्यालाई मञ्चमा अगाडि उभिएर बोल्न सक्ने बनाउन तपाईंहरुको महान बलिदानविना यो सम्भव थिएन ।
जनयुद्ध रणनैतिक प्रत्याक्रमणको चरणमा प्रवेश गरेको थियो । प्रत्येक पल जीवन मृत्युलाई हत्केलामा राखेर हिँड्नुपर्ने समय । परिवर्तनको खातिर आफूलाई वलिवेदीमा चढाउनुभएको तपाईंको अमुल्य जीवनले कहिल्यै भौतिक सुख र अवसरवादलाई अंगाल्नुभएन । युद्धको समयमा पनि कति गद्दारहरु निस्किएका थिए तर तपाईको वर्गप्रतिको त्याग÷समपर्णले त्यो सारा कुरालाई तिजाञ्जली दिँदै सहिदको कोटामा आफ्नो नाम थप्नुभयो । तपाईं त्यहिबेला सहिद हुनुभयो जुन बेला संसदवादी दल र दरबारको योजनामा संकटकाल घोषणा भएको थियो । त्यो समय अत्यन्तै क्रुर र पासविकताको थियो । संकटकाल घोषणा हुनेवित्तिकै गाउँदेखि शहरसम्म प्रतिकार समितिहरु बने, गाउँघरमा भएका महत्वपूर्ण कुराहरु वा माओवादी आन्दोलनमा सहभागी भएका नेता तथा कार्यकर्ताहरुको प्रत्येक गतिबिधिहरु दुश्मनहरुको अखडामा पुग्न थाल्यो । उनीहरुले त्यही अनुसारको योजना बनाएर गाउँ–गाउँमा शाही सेनालाई परिचालन गरे । त्यहीक्रममा धादिङ्ग जिल्लाको बैरेनी गाविस कोइलीखर्कमा पार्टीको जिम्मेवार कमरेडलाई खतरामुक्त स्थानमा स्थानान्तरण गराउँदै गर्दा तपाईं शाही सेनाको घेरामा पर्नुभयो त्यहीँ तपाईंको हत्या गरे । तपाईंले चाहेको भए आत्मसमपर्ण गरेर बाँच्न सक्नुहुन्थ्यो तर गद्दारी तपार्इंलाई कहिले मन परेको थियो र ?
२०५९ साल श्रावण महिनाको २८ गते तपाईंले क्रान्तिले दिएको जिम्मेवारी पुरा गर्नुभयो । राक्षसहरुले तपार्इंलाई लुछिलुछि मारे । आमाको काख रित्तियो, आमाले मुटुको टुक्रा गुमाउनुभयो भाईबैनीले अभिभावक गुमाए । तपाईंको हत्यापछि आमाको अवस्था अहिले पनि याद छ मलाई कयाँै रात तपाईंको यादमा आमाको परेली रुझीरहे । तपार्इंको बहिनीलाई जिम्मेवारी बोधले सतायो भाइ र कान्छी बहिनी सानै थिए । त्यो घरको सम्पूर्ण अभिभारा सानै उमेरमा बोकेर असल अभिभावक बनेर आफ्नो दायित्व पूरा गर्ने बहिनीलाई पनि मिठो सम्झना ।
तपार्इं सर्वहारा जनताको नजरमा कहिल्यै पनि मारिनुभएन । झन् आगोको झिल्का बनेर निस्कनुभयो । तपाईंको सहादत प्रतिरोधमा दरिलो मुठी कसेर गाउँ बस्तिहरु उठे । विडम्बना त यो भयो कि, तपाईंहरुको रगतले सर्वहारावर्गले मुक्ति पाएन ठेकेदारहरुको राज चल्यो देशमा । गणतन्त्र दाइबरादोजस्तो भयो । दशकौदेखी असल नेता नपाएको नेपालले गणतन्त्रमा पनि एउटा असल नेता पाउन सकेन । ठेकेदार र सामन्ती चिन्तनले नै प्रश्रय पायो । ठेकेदारको चिन्ता भनेको नाफा घाटाको हुन्छ । ठेकेदारलाई के वास्ता जनताको जनजिविकाको सवालसँग जनताको चासो संग ? सुन्दर गणतन्त्र नेपाल घोषणा गर्न तपाईंको भौतिक शरिरको बलिदानीलाई लाखौंलाख सलाम गंगा लामिछाने क.ज्वाला प्रति लाखौं लाख श्रद्धान्जली । अजर अमर सम्झना ।