नेपालको सत्ता समिकरणमा प्रभाव राख्ने गरी भारतीय नेताहरुको भ्रमण र भेटघाट सुरु भएको छ । आइतबार नेपाल आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।
बालुवाटारमा भएको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाइएको र काँग्रेस भाजपा सम्बन्धबारे चर्चा भएको बुझिएको छ । सरकार परिवर्तनसँगै भारतको यो पहिलो उच्च स्तरीय भ्रमण हो । सरकारले पूर्णता नपाइसकेको अवस्थामा यो स्तरको भ्रमणलाई महत्वकासाथ हेरिएको छ ।
केपी ओली नेतृत्वको सरकार रहँदै केही महिनाअघि एमाले नेता विष्णु पौडेलको निमन्त्रणामा काठमाडौँ आएका चौथाइवाले देउवासँग पनि भेटवार्ता गरेका थिए ।
चौथाइवालेले आइतबारै कांग्रेस सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग पनि भेटवार्ता गरेका छन् ।
भारतीय नेता चौथाइवालेले सोमबार एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेतासँग पनि भेट्ने कार्यक्रम छ ।
यो पनि पढ्नुहोस्
चौथाइवालेको आकस्मिक यात्राःबन्द हाेला त राजनीतिकाे याे गाईजात्रा !