काठमाडौं ।
हिजोदेखिको अबिरल बर्षाका कारण देशका विभिन्न भागमा क्षती पुगेको छ । सिन्धुपाल्चोकमा हिजो तीन जनाको मृत्यु भएको छ । लमजुङ, कास्की र म्याग्दीमा गुल्मी गरी १० जनाको मृत्यु भएको छ । म्याग्दीका विभिन्न ठाउँमा पहिरोमा परेर ३२ जना बेपत्ता भएका छन्। धौलागिरि, मालिका र मंगला गाउँपालिका विभिन्न स्थानमा खसेको पहिरोमा ३२ जना बेपत्ता भएको र लगातारको वर्षा र पहिरोका कारण उनीहरुको खोजीमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
धौलागिरीको मराङमा २२ जना बेपत्ता भएका छन् । धौलागिरिकै ताकममा २ जनाको ज्यान गएको खबर आएको प्रहरी कार्यालयले जनाएको छ । मालिकामा ८ जना, मंगला २ जना हराएको छन् । पानि लगातार परेर नदि बढ्दा उद्धार गर्न पनि कठिनाइ भएको छ।
मनाङ जोड्ने बेशीसहर–चामे सडक खण्डको विभिन्न स्थानमा पहिरो जाँदा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बेशीसहरदेखि चामेसम्म दर्जनभन्दा बढी ठाउँमा पहिरो गएको छ । बाढीले बेशीसहर नगरपालिका– ७ पुमाखोलामा कल्भर्डसहित सडक बगाएको छ। बेंसीसहर–६ बेलौतीबिसौनी नजिकै उत्तिसघारी खरखरेमा झरेको पहिरोले सडक पुरिएको छ । वर्षाले बेशीसहर–चामे सडकखण्ड अन्तर्गत पर्ने खरखरे भीर, सिमपानी, खुदी, अर्खलेबेंसी, घोप्टेभीर, काप्रेभीर, रामबजार, स्याँगे, शिरचौर, च्याम्चेलगायतका ठाउँमा पहिरो झरेको छ ।
गुल्मीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका-४ फुस्रेका ६२ वर्षका यमबहादुर श्रीसको कुलोको भल काट्ने क्रममा शुक्रबार बिहान करिब ८ बजेतिर माथिबाट खसेको पहिरोमा पुरिएर मृत्यु भएको पूर्तिघाट प्रहरी चौकीले जानकारी दिएको छ ।
बैतडीमा सडकमाथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर तल्लोस्वराडमा गएराति शिवनाथ गाउँपालिका ६ की १० बर्षीया उर्मिला धनाडी गम्भीर घाइते भएकी छन्।
अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लार्चामा पहिरो गएको छ। पहिरोमा दुई जना बेपत्ता भएको स्थानीयले बताएका छन् ।