काठमाडौं ।
विभिन्न विद्यार्थी संघ संगठनले भारतको मिचाहा प्रवृती र नेपाल सरकारको लम्पसारवाद दुवै मुलुकका लागि खतरनाक भएको जनाएका छन् । शनिबार विभिन्न सात विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ती निकालेर भारतबाट नेपाली भूमि फिर्ता ल्याउन सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले सर्वधारणलाई त्यसका लागि तयार रहन भनेका छन् ।
नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवि ढकाल, अखिल पाँचौका अध्यक्ष घनश्याम मिश्र, अखिल (क्रान्तिकारी)का अध्यक्ष आलोक रायमाझी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघका अध्यक्ष महेश बहादुर सिंह, अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष सन्देश भट्टराई र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ (संयुक्त)का अध्यक्ष धनसुर शाहीले संयुक्त विज्ञप्ती निकालेर भारतले गरेको मिचाहा प्रवृतिको विरोध गर्न अपिल गरेका हुन् ।
संयुक्त विद्यार्थी आन्दोलनको तर्फबाट परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र तथा भारतीय दुतावासमा विरोधपत्र बुझाईने विज्ञप्तीमा जनाईएको छ ।
संगठनहरुले मिचिएको नेपाली भूमि फिर्ता गर्न भारतीय दादागिरी बन्द गर्न र नेपालको सार्वभौमसत्तालाई सम्मान गर्न भारतीय शासकवर्गलाई कडा चेतावनी दिएका छन् । नेपालमा ठुला संकट पर्दा भारतले नेपालमाथी निर्मम हस्तक्षेप गर्ने गरेको भन्दै ति संगठनले सरकारलाई तत्काल आफ्नो भूमि फर्ता ल्याउन काम गर्न भनेका छन् ।









































