पेसागत महासङ्घ नेपालले एकताबद्ध रहन देशभरका ट्रेड युनियनकर्मी र सरोकारवालालाई अपिल गरेको छ । महासङ्घले एक विज्ञप्ति जारी गरी सार्वजनिक क्षेत्रको एकीकृत ट्रेड युनियन आन्दोलन वर्तमान अध्यक्ष विश्वनाथ प्याकुरेल नेतृत्वको महासङ्घलाई निरन्तर अगाडि बढाउने व्यहोरा जनाएको हाे ।
उपमहासचिव रामप्रसाद रिमालद्धारा जारी विज्ञप्तिमा निहित स्वार्थसिद्धिका लागि केही व्यक्तिले महासङ्घको नाम, झण्डा र लोगो समेत अनधिकृत प्रयोग गरी अवैधानिक भेला आयोजना गरेको र महासङ्घकै नाममा अनधिकृत कमिटी निर्माण गरेको भन्ने सामाजिक सञ्जाल तथा संचार माध्यमबाट जानकारी भएकाले यस्ता गतिविधि नगर्न अपिल गरेको छ ।
सशक्त र एकीकृत ट्रेड युनियन आन्दोलनलाई फुट, विभाजन ल्याउने उद्देश्यले गरिएको केही व्यक्तिहरुको हठात मानसिकताबाट सिर्जित कार्य तमाम पेसाकर्मीको भावना विपरित छ भएको महासङ्घको ठहर छ ।
नेपालको नाममा अर्को महासङ्घको गठन, पुर्नगठन, कानूनतः दर्ता हुनै नसक्ने भन्दै यसबाट महासङ्घको उद्देश्य, लक्ष्य र गतिविधिमा कुनै असर नपर्ने निश्चित भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।