
दलजित कार्की
कर्णाली प्रदेश ।
“संसारलाई बुझ्नु र व्याख्या गर्नु मुख्य कुरा नभइ मुख्य कुरा भनेको त संसारलाई बदल्नु हो” यो भनाइ मानव इतिहासको ऐतिहासिक व्याख्याता कार्ल मार्क्सको हो । मानव समाज निरपेक्ष नभइ सापेक्षतामा अगाडि बढेको हुन्छ भन्ने कुरामा सायदै बिमति नहोला र मानव जीवनको तथा सामाजिक जीवनको सारभूत लक्ष्य र गन्तव्य भनेकै संसारलाई बुझ्नु र व्याख्या गर्नुभन्दा पनि यसलाई सापेक्षताका आधारमा परिवर्तन गरी मानव जीवनलाई सरल र सहज तुल्याउनु नै हो । आज मुलुकमा जति राजनैतिक परिवर्तन सँगसँगै यसले ल्याएका अवसरहरुको उपयोग र उपभोगलाई आम जनस्तरसम्म पुर्याउनको लागि मुलुकको संरचनालाई तीन तहको संघात्मक ढाँचामा रुपान्तरण गरिएको छ र हामी यसलाई कार्यान्व्यन गर्ने युगीन घडिमा छौँ ।
भौगोलिक विकटता, पूर्वाधारको न्यूनविकास, राज्यको केन्द्रीकृत मानसिकता र कमजोर सामाजिक चेतना आदि इत्यादि कारणहरु हुम्ला जिल्ला विकासको बाधक हुन भन्ने कुरामा विवाद छैन । यसका बाबजुत पनि तुलनात्मक हिसाबले समग्र हुम्लाको विकास आसालाग्दो गतिमा अगाडि बढिरहेको कुरालाई समेत हामिले भुल्न भने हुँदैन । मैले यहाँ समग्र हुम्लाको सन्दर्भ नभई जिल्लाको केन्द्रबिन्दुमा रहेको सिमकोट गाँउपालिकाको नेतृत्वको आगामी यात्रा र गन्तव्य कता र कसरी तय हुनुपर्छ भन्ने विषयमा आफ्ना धारणाहरु प्रस्तुत गर्ने कोसिस गर्नेछु । जनताको सन्निकटताको सिद्दान्तमा आधारित स्थानीय सरकार जनताको घरदैलोको सरकार भएकाले यसले विकास, सेवा प्रवाह र सुशासनलाई जनताले प्रत्यक्ष अनुभूत गर्नेगरी आफ्ना नीति तथा रणनीति अख्तियार गर्नुपर्ने हुन्छ । भर्खर सम्पन्न स्थानीय निर्वाचनमार्फत सिमकोट गाँउपालिकामा विजय भण्डारीको नेतृत्वमा जोस जाँगर बोकेका र विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा अनुभव सङ्गालेका युवाहरुको टिम निर्वाचित भएपश्चात् आम सिमकोट गाँउपालिका निवासीमा आसाको दियो जागेको छ भने यो दियोलाई जगाइराख्नु निर्वाचित जनप्रतिनिधिहरुको प्रमुख अवसर र चुनौति हो । हुम्ला जिल्लाका अन्य छ वटा स्थानीय सरकारभन्दा तुलनात्मक रुपमा जिल्ला सदरमुकाम भएको हुनाले यसको विकास आम चासोको विषय बन्नु अस्वाभाविक हैन । आन्तरिक साधन र स्रोतमा सिमकोट गाँउपालिकामा धेरै सम्भावनाहरु रहेका छन् । जस्तैः घर जग्गा वहाल कर, मालपोत कर, व्यवसाय कर, विज्ञापन कर, घर जग्गा रजिस्ट्रेसन शुल्क, सवारीसाधन कर आदि वैज्ञानिक ढङ्गबाट परिचालन गर्नसके आन्तरिक स्रोत बलियो हुन्छ र सेवा प्रवाह र विकास क्रियाकलापहरु प्रभावकारीरुपमा अगाडि बढाउन सकिन्छ अन्यथा केन्द्र सरकार र प्रदेश सरकारको मुख ताक्नुसिवाय अर्को विकल्प छैन । यसका लागि यो निर्वाचित टिम अलोकप्रिय भइने डरले हैन कि निर्ममरुपमा माथिका कर संकलनमा प्रतिबद्ध रहनुपर्ने हुन्छ । त्यस्तै सिमकोट गाँउपालिकामा कार्यरत जनशक्तिलाई परम्परागत कागजी घोडा, प्रक्रियामुखी कार्यशैली र भद्दा सांगठनिक संरचनाबाट रुपान्तरण गरी चुस्त संगठन, प्रविधिमैत्री, परिणाममुखी कार्यशैलीमा हिँडाउन उपयुक्त पात्रलाई उपयुक्त स्थानमा राख्दै सकारात्मक सोच भएका र क्षमतावान् जनशक्तिलाई पुरस्कृत र खराब आचरण भएकालाई दण्डित गर्न सकिएन भने परिणाम हासिल हुन सक्दैन भन्ने कुरामा कुनै सन्देह छैन । किनकि जनप्रतिनिधिका नीति तथा कार्यक्रम कार्यान्वयनको अग्रपङ्तिमा कर्मचारीतन्त्र खडा हुन्छ र यसले जनतासँग गरेको कार्यसंस्कृतिले नै जनताको धारणा निर्माण गर्दछ ।
गाँउपालिकाले तय गर्ने वार्षिक नीति तथा कार्यक्रम बजेट निर्माण, कार्यान्वयन र अनुगमनका हरेक चरणहरुमा सरोकारवाला निकायहरु, राजनीतिक दल, शिक्षक बुद्धिजिवी, नागरिक समाज, गैरसरकारी संघ संस्था, बालक्लव, युवा क्लव, महिला समूह, आमा समूह, कृषक समूह, व्यवसायिक वर्ग, दलित वर्ग र अपाङ्गता भएका नागरिकहरुको अर्थपूर्ण सहभागिता गराइ व्यापक छलफल र संवादको माध्यमबाट जनताका खास खास आवस्यकतालाई सम्बोधन गर्नेगरी योजनाहरुको प्राथमिकीकरण गर्ने र छनौट गरी बजेट तयारपश्चात् सबैको पँहुचमा पुग्नेगरी बजेट किताब प्रकाशन र प्रसारण गरी प्रादर्शिता र सूचनाको हकलाई प्रवर्द्धन गरी सुशासन हासिल गर्न सहयोग पुग्दछ । अर्को कुरा जनप्रतिनिधिको वरिपरि घुमेर रोटी सेक्ने समाजको एउटा वर्ग सदैव रहन्छ र त्यस्ता वर्गको चङ्गुलमा नफसी योजना बाँडफाँड, अनुदान वितरणमा भुँई तहका जनतालाई केन्द्रबिन्दुमा राख्नसके समाजमा साँचो अर्थमा सामाजिक न्याय र आर्थिक समानता हासिल हुन्छ । वितरणमुखी आयोजनाभन्दा पुँजी निर्माणमा सहयोग पुग्ने आयोजनाहरुको छनौट गरी व्याप्त गरिबी निवारण र रोजगारी सिर्जनामार्फत् सामाजिक आर्थिक रुपान्तरणको गन्तव्यमा पुग्ने दिशामा सिमकोट गाँउपालिका अग्रसर हुनेछ भन्ने आम सरोकारको विषय बनेको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, आधारभूत खानेपानी तथा सरसफाई, सडक सञ्जाल, विध्धुतिकरण र प्रविधिकरण आजको विकासको पहिलो प्राथमिकता बनेको छ यसलाई व्यवस्थापन गरी जनताको जीवनस्तरमा देखिनेगरी परिवर्तन ल्याउनु नेतृत्वको आगामी कार्यभार हुनेछ ।
अन्तमा सिमकोट गाँउपालिकाको भविस्य सुन्दर रहेको छ । यसका लागि पालिकाको नेतृत्वले अलमल नगरिकन आम सरोकारवालाको सहयोग र साथ हासिल गर्दै जनशक्ति व्यवस्थापन प्रभावकारी बनाउँदै विकास, सेवा प्रवाह र सुशासनको कसीमा आफ्नो पाँच वर्षे कार्यकाल स्वीम बनाउने छ भन्ने विस्वास सर्वत्र छाएको छ ।