नुवाकोट ।
नेकपा (माओवादी केन्द्र) तारकेश्वर गाउँपालिका नुवाकोटले गाउँपालिकामा भ्रष्टाचार र बेथिति बढेको आरोप लगाएको छ । माओवादी गाउँपालिका अध्यक्ष सोमबहादुर तामाङ्गले आज एक विज्ञप्ति जारी गर्दै गाउँपालिका कार्यालय भ्रष्टाचारको अखडा बनेको बताउनुभएको छ ।
माओवादीले तारकेश्वर गाउँपालिकाले दरबन्दी मिलानका नाममा कतिपय विद्यालयहरुमा शिक्षक दरबन्दी कटौती गर्ने, बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई सरकारले तोकेबमोजिम पारिश्रमिकवउपलब्ध नगराई श्रम शोषण गर्ने, योग्यता/क्षमता/ बरिष्ठताको ख्याल नगरी आफ्नो दलको झोला बोकेकै आधारमा कनिष्ठ तथा अयोग्य शिक्षकलाई प्रधानाध्यापक बनाउने जस्ता काम गरेको जनाएको छ ।
शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको भन्दै विज्ञप्तिमा भनिएको छ, “सङ्घीय शिक्षा ऐन विपरीत आफुखुसी ऐन, नियम जारी गर्दै त्यसैको आडमा शिक्षा क्षेत्रलाईआफ्नो दल तथा गुटका कार्यकर्ता भर्ती गर्ने थलो बनाएको छ ।”
निर्वाचन तोकिसकेको अवस्थामा शिक्षाप्रेमी, समाजसेवी, अभिभावक र अन्य राजनैतिक दलहरुलाई वास्ता नगरी मनोमानीपुर्ण ढङ्गले गाउँपालिका भित्रका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको मनोनयन गरेको भन्दै माओवादीले त्यसको विरोध गरेको छ । “विकास र समृद्धिको मेरुदण्ड मानिने शिक्षा क्षेत्रमा स्थानीय सरकारले नाचेको नाङ्गो नाच सर्वाधिक निन्दनीय छ” विज्ञप्तिमा भनिएको छ ।
तारकेश्वर गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष छन् । माओवादीले आगामी निर्वाचनमा पराजय हुने डरले गाउँपालिकाले मनोमानी गरेको भन्दै त्यसको प्रतिवाद गर्न आम नागरिकलाई अपिल गरेको छ ।
Recent Comments