– सुवास राई
यसै कहाँ मिल्छ र खुसी
यति सजिलै कसरी बाँडिन्छ र खुसी
खुसी बाँड्नलाई पनि त ठूलो दिल चाहिन्छ
कसैलाई सजिलै आफ्ना दुःखान्त सुनाएजस्तो होइन नि
दुःख सुनाउनु र सुनिदिनु फरक छ
र फरक छ
सुख मिल्नु र खुसी बाँड्नुमा पनि
फेरि त्यति सजिलो कहाँ छ र
कसैले बाँडेको खुसी ग्रहण गर्न पनि
खुसी ग्रहण गर्नलाई पनि त
उस्तै संयम दिल चाहिन्छ
महोदय खुसी ग्रहण गर्नु भनेको
कुनै भावुक कहानी सुनेजस्तो हुँदैहोइन ।
उनान्सय दुखको खुड्किलो पार गर्दा
सायद एक खुड्किलो सुखको टेकिँदो हो
त्यही एक खुड्किलो सुखको
औडाहा कतिलाई हुँदो हो ।
अरुको दुःख मजाले सुनिदिने मान्छेले
के अरुको सुख पनि उस्तै मजाले सुनिदिन सक्ला ?
अरुको सुख सुनिदिनेले उस्तै गरी स्वीकार्ला ?
अरुको सुख सुनेर खुसी हुनै नसक्ने मान्छे
आफ्नो सुख अनुभूत कसरी गर्ला ?
हतार हतारमा भौतारिनेले
सुखकै खुड्किलोमा कति हतारले पाइला चाल्दोहो
हतारै हतारमा पाएको सुख अनुभूत कसरी हुँदो हो
त्यसैले त सुख पाएर मात्र हुँदैन महोदय
सुख अनुभूत गर्न पनि त
सक्षम मन पनि चाहिन्छ
सुखभोग गर्न पनि त उस्तै धैर्यता चाहिन्छ।
सन्दुकमा सुख लुकाएर हिँड्दा
दुखै दुखमा टेक्नपर्नु स्वाभाविक त हो
प्रयोग गर्न नजान्नेहरुले त थाहै नपाइ
खजना माटोमा गाड्ने पनि सक्नेरहेछन्
कमाउनु कमाएर लुकाएको धनले
कहिले रमाउला मान्छे खुसी मनले
त्यसैले त कमाएर मात्र हुँदैन महोदय
एक असर्फी फालेर
सय जम्मा गर्ने कला पनि चाहिन्छ ।
भुलभुलैयामा परेर हराएजस्तो
आफ्नै सिर्जना मारेर, समय मारेर
अरुकै सिर्जनामा रमाएर
आफ्ना सपना बिर्सेपछि
पाउने भनेको असफलता नै हो महोदय ।
हुन त अर्काको खुसीमा घोत्लिएरै
समय कटाउनु पनि क्षमता हो
उपयोग गर्न नजानेपछि
श्रृखण्ड पनि बन्ने त खुर्पाको बिँड नै हो
त्यसैले त भएर मात्र हुँदैन महोदय
भएको समय उत्पादनमा खर्चिन नजानेपछि
खाने भनेको ठक्कर नै त हो ।
कर्म त यस्तो होस् कि
हरदिन सफलता फलोस्
अनि तपाईंको फलेको सफलताले
तपाईंकै खुसी खोर्सिनेको
आत्मा जलोस् ।
महोदय तपाईंसँग छ समय
तर छैन
समयलाई सदुपयोग गर्ने कला
र छैन आफैँ खुसी हुने क्षमता
आफैँ सुखी हुने क्षमता ।