काठमाडौं ।
नेपाल पत्रकार महासंघको आयोजनामा जागिरबाट निकालिएका पत्रकार र पत्रकारका विभिन्न १३ संगठनहरूले प्रदर्शन गरेका छन् । प्रदर्शनमा आएकाहरूले ‘मेरा सम्पादकको मुटु छ मर्म छैन’, ‘सञ्चार गृहले कमाएको अर्बौं मुनाफा खोई’, ‘कोरोना कालको पहिलो महिनामै पत्रकारको बिचल्ली’, ‘मालिक भोज र तडकभडकमा पत्रकार भोकै सडकमा’ जस्ता लेखिएका नाराहरू लेखेका प्लेकार्ड बोकेका थिए ।
पेशागत सुरक्षाको ग्यारेन्टी नहुँदासम्म आन्दोलन जारी रहने महासंघका अध्यक्ष गोविन्द आचार्यले बताए । श्रमजीवीहरुको मुद्धामा अन्तिम समयसम्म लड्ने प्रतिवद्धता जनाउँदै उनले कुनै पनि ढंगले मिडिया मालिकहरुसँग सम्झौता नगर्ने बताए ।
महासंघका अध्यक्ष आचार्यले हालको अवस्थामा पत्रकारहरुलाई पेशागत संकट परेको बताए । उनले कोरोनाका कारण देखाउदै मिडिया सञ्चालकहरुले पत्रकारिता गरी बाँच्न पाउने पत्रकारको अधिकार खोसेको बताए ।
आचार्यले पत्रकारलाई जागिरबाट निस्काशन गर्ने, बेतलबी बिदामा राख्ने गरेको भन्दै ती समस्या समाधानकालागि महासंघ भोलिदेखिनै त्यस्ता सञ्चार गृहको अनुगमन गरी निश्कासित पत्रकारको अधिकार पुनःस्थापित गर्न आन्दोलन गर्ने बताए ।
महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकारका कारण करोडपति बनेका मिडिया सञ्चालकले पत्रकारको पेटमा लात हानेको भन्दै त्यो मान्य नहुने बताए ।
प्रेस संगठनका अध्यक्ष महेश्वर दाहालले कोरोनाको बहानामा पत्रकारको पसिनाको परिश्रम नदिने मिडिया सञ्चालकलाई कुनै पनि वाहानामा नछोड्ने धारणा राखे ।
नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिंग्देलले पत्रकारको हकहितका लागि सञ्चारगृह मात्रै नभई मिडिया सञ्चालकको घरमै गएर आन्दोलन गर्ने चेतावनी दिए ।
सञ्चारिका समुहकी अध्यक्ष नितु पण्डितले जनतालाई सुसूचित गर्ने कार्यमा जस्तोसुकै अवस्थामा खटिने पत्रकारलाई कोरोनाको बहानामा पेशाबाटै बञ्चित गरिनु अत्यन्तै दुखद भएको भन्दै पत्रकारले श्रमको उचित मूल्य पाउनुपर्ने बताइन् ।