नेपालमा निकै विवादित बनेको अमेरिकी सहयोग नियोगको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना श्रीलंकाबाट फिर्ता भएको छ ।
४८ करोड अमेरिकी डलर बराबरको परियोजना रद्ध गर्दै श्रीलंकाले उक्त योजना राज्यको हितमा नभएको भन्दै फिर्ता गरेको खबर हिमाल पोष्टले लेखेको छ ।
नेपालमा जस्तै श्रीलंकामा पनि विवादित बनेपछि एमसीसी श्रीलंकाले फिर्ता गरेको बताइएको छ ।
एमसीसी सम्झौता अन्तर्गत ४८ करोड अमेरिकी डलर अनुदानको यातायात पूर्वाधारको स्तरोन्नति गर्न र सम्पूर्ण देशलाई समेट्ने भूमिसुधार गर्नका लागि उपयोग गर्न प्रस्ताव गरिएको थियो ।
एमसीसीले सन् २०१९ अप्रिलमा श्रीलंकालाई पाँचवर्षे कार्यक्रमअन्तर्गत ४८ करोड अमेरिकी डलर दिने जनाए पनि श्रीलंकाली सरकारले त्यसमा हस्ताक्षर गरेको थिएन । परियोजना सन् २०१६ मै छनोट भएको थियो तर अघि बढ्न सकेको थिएन ।
कोलम्बो विश्वविद्यालयका प्राध्यापक ललिथसिरी गुणारुवानको नेतृत्वमा विशेष समितिको सिफारिस पछि सरकारले उक्त सम्झौतालाई ‘बिना शर्त अस्वीकृत’ गर्ने निर्णय गरेको थियो ।