नुवाकोट ।
गएको साउन २४ गते रातीको अबिरल वर्षासँगैको आएको बाढी पहिरोले क्षति पुर्याएको स्थानमा पुगेर सांसद हितबहादुर तामाङ र बाग्मती प्रदेश उपसभामुख राधिका तामाङले तत्काल क्षतिविवरण संकलनका लागि निर्देशन दिनुभएको छ । विषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधिसहित बाढी पहिरोले पुर्याएको क्षतिको निरिक्षण गर्न पुगेका तामाङद्वयले समुन्द्रटारदेखी राउतबेशीको झघरेसम्म निरिक्षण गरी सम्बन्धित कार्यालय र गाँउपालिकालाई यथासक्य वास्तविक क्षति संकलन र उचित व्यवस्थापनको लागि निर्देशन दिनुभएको हो ।
निरिक्षण तथा क्षति संकलनको लागी सिंचाई डिभिजन कार्यालय, कृषि ज्ञान केन्द्र, पुर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय, पशुसेवा कार्यालय, खानेपानी कार्यालयका कर्मचारीहरु बाढी पहिरो क्षेत्रमा पुगेका थिए । टोलीलाई क्षति संकलन गरी जिल्ला विपद् व्यवस्थापन समितिमा तत्काल पेस गर्न निर्देशन दिइएको छ । वास्तविक क्षति संकलनपश्चात् प्रदेश र संघमार्फत गर्न सकिने सहयोग र क्षति पुगेको स्थानको विकासको लागी पहल गर्ने सांसद हितबहादुर तामाङले बताउनुभयो । उहाँले बाढी र पहिरोका कारण आधा दर्जनभन्दा बढि पक्की पुल, सडक, सिंचाई, खानेपानीमा क्षति पुगेका कारण संघीय सरकार र प्रदेश सरकारमार्फत निर्माण गर्न तत्कालै पहल गर्ने बताउनुभएको छ । बाढीप्रभावित क्षेत्रको निरिक्षण गर्दै बागमती प्रदेशका उपसभामुख राधिका तामाङले विपदको समयमा राजनिति पार्टी यो उ नभनी सबैलाई समान व्यवहार गर्न पालिका र वडालाई निर्देशन दिनुभयो ।
गत साउन २४ गते रातीको वर्षासँगै आएको बाढी र पहिरोले दुप्चेश्वर गाँउपालिकामा सयौँ घर, सयौँ रोपनी धानखेतमा क्षति पुर्याएको छ । दुप्चेश्वरको वडा नम्बर ३ राउतबेशीको विभिन्न स्थानका ८५ घरपरिवारको धानखेतमा क्षति पुगेको छ भने १० भन्दा बढि परिवारको घर जोखिममा परेको वडा अध्यक्ष ध्रुवकर केसीले जानकारी दिनुभयो । वडा नम्बर २ को गाँउखर्कको बडरे, हुङ, बेप्चो लगायतका स्थानमा गएको पहिरोका कारण १५ रोपनी धानबाली नष्ट भएको छ । त्यहाँका केही घर उच्च जोखिममा छन् ।
वडा नम्बर ४ को बेतीनीको धारापानी र कन्दनका ३० घरधुरी उच्च जोखिममा छन् भने खेतबाली, सिँचाइ र कुलोमा क्षति पुगेको छ । वडा नम्बर ५ बालकुमारीमा १२ घरमा क्षति हुनुका साथै धानबाली नष्ट भएको छ । यसैगरी वडा नम्बर ६ समुन्द्रटारमा २९ परिवारको घरखेतमा क्षति पुगेको छ । दुप्चेश्वर गाँउपालिकाको वडा नम्बर २, ३, ४, ५ र ५ मा २ सय भन्दा बढि परिवारको धानबाली नष्ट भएको छ भने बस्ती उच्च जोखिममा छ । बाढीले चन्द्रमती खोलाको तटबन्धन पुर्ण रुपमा क्षति भएको छ ।