काठमाडौं ।
काठमाडौँ नुवाकोट जोड्ने पासाङ ल्हामु सडकको तीनपिप्ले-रानीपौवा खण्ड बहुवर्षिय ठेक्का प्रक्रियामा लगिने भएको छ । काठमाडौँ नुवाकोट जोड्ने सबभन्दा पुरानो मार्ग बालाजु-त्रिशूली सडकको तीनपिप्ले-रानीपौवा खण्डलाई बहुवर्षीय ठेक्का सहमतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय योजना आयोगलाई लेखी पठाएको छ ।
‘चालु आ.व. २०८०/८१ को लागि तीनपिप्ले- रानीपौवा सडक खण्डको लागि रु. ५० करोड विनियोजन भएको र उक्त सडकको चेनेज ९+०८५ देखि – १+६०० सम्म (१२.५१५ कि.मि.) सडक स्तरोन्नतिको लागि रु. १ अर्ब ३३ करोड ९३ हजार २ सय ६८ रुपैयाँको लागत अनुमान पेश भएकोले अन्य ठेक्काहरुसँग दोहोरोपना नहुने गरी, यसअघि सो खण्डमा भएको ठेक्काको सम्बन्धमा प्रचलित कानुनबमोजिमका Post-termination का कार्यहरु सम्पन्न गरी साथै आयोजना कार्यान्वयनका सम्पूर्ण पूर्वतयारीका कार्यहरु सम्पन्न गरी प्रचलित कानुन तथा स्वीकृत मापदण्डको अधीनमा रही खर्च/कार्यान्वयन/व्यवस्थापन गर्ने गरी रु. १ अर्ब ३३ करोड ९३ हजार न्य ६८ रुपैयाँ रकम बराबरको बहुवर्षीय ठेक्का गर्न सहमति सम्बन्धमा तहाँ अनुरोध गरी पठाइएको महोरा मिति २०८०/०४/३२ (मा. मन्त्रीस्तर) को निर्णयानुसार अनुरोध छ,’ शाखा अधिकृत अस्मिता पन्थीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

सोही मार्ग (काठमाडौं–बालाजु–रानीपौवा खण्ड) को मुड्खु–तीनपिप्ले ५ किलोमिटर ‘फास्ट ट्रयाक’मार्फत गत वर्ष नै कालोपत्र गराइएको छ । बालाजु–रानीपौवाको १७.१० किलोमिटरमध्ये ५ किलोमिटर सडक स्तरोन्नति भएकाले अर्थको स्रोत सुनिश्चितासहित अब योजना आयोगले सहमति दिएपछि १२ किमि सडक असफाल्ट प्रक्रियाबाट निर्माणका लागि सडक सुधार तथा विकास आयोजना निर्देशनालयले ठेक्का आह्वान गर्नेछ ।
सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङले आफूहरुले लामो समयदेखि प्रतिनिधिसभा र सम्बन्धित मन्त्रालय अनि प्रधानमन्त्रीकहाँसमेत ध्यानाकर्षण र आवाज उठाइएकोले तीनपिप्ले-रानीपौवा सडकको स्तरोन्नतिको प्रक्रिया तीव्र गतिमा अगाडि बढेको बताउनुभयो । सांसद तामाङले सामाजिक सञ्जाल फेसबुकमा ‘पासाङ ह्लामु राजमार्गको तीनपिप्ले रानीपौवा सडकको भदौ महिनाभित्रै टेण्डर हुने’ उल्लेख गर्नुभएको छ ।
बालाजु–रानीपौवाको १७.१० किमि सडक स्तरोन्नतिका लागि ९ वर्षअघि भारतीय निर्माण कम्पनी एआईपीएलसँग शैलुङ कन्स्ट्रक्सनले संयुक्त ठेक्का लिए पनि काम हुन सकेको थिएन । सात पटक म्याद थप्दा पनि आयोजनामा प्रगति नभएपछि सडक सुधार तथा विकास आयोजना निर्देशनालयले गत वर्षको असार ५ मा ठेक्का तोडेको थियो । ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले गत भदौ ८ मा तीन वर्षका लागि कालोसूचीमा राखेको छ ।
सुरुमा बालाजु–रानीपौवा खण्डको कुल ठेक्का रकम ३४ करोड ९४ लाख ७१ हजार रुपैयाँ रहेकामा १८ करोड ९५ लाख ४७ हजार रुपैयाँ भुक्तानीसमेत दिइएको थियो । रानीपौवा–त्रिशूली खण्डको पनि ठेक्का तोडिसकिएको थियो । पटक पटक म्याद थप्दा पनि प्रगति नभएपछि ठेक्का तोडिएको हो, जसको ठेक्का दिनेशचन्द्र आर अग्रवालसँग नागार्जुन–कोसी एन्ड न्यौपाने कम्पनीले जेभीमा लिएको हो । यस कम्पनीलाई तीन वर्षसम्म नयाँ ठेक्का नपाउने गरी गत वर्षको साउनमा कालोसूचीमा राखिएको हो । जुन खण्डको दूरी ३४.१८ किमि छ ।








































