काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा निर्वाचनका लागि भएको टिकट वितरण हेडक्वाटर भन्दा परबाट भएको उल्लेख गर्नुभएको छ । सोमबार नाचघरमा पार्टीको बाग्मती उपत्यका र सम्पर्क समन्वय समितिको जनतासँग माओवादी अभियानको समापन गर्दै उहाँले हेडक्वाटर वरिपरि घुम्नेले मात्र टिकट पाउँछन् भन्ने कुरा सुनेको भन्दै अहिले त्यस्तो नभएको बताउनुभयो । ‘हेडक्वाटर वरिपरि घुम्ने मात्रैले पाउँदारहेछन् भनेको सुने मैले, सरी कमरेडहरु अहिले हेडक्वाटरभन्दा धेरै टाढा टाढाकालाई दिइएको छ ।’ उहाँले भन्नुभयो, ‘गाउँमा दुःख गर्नेलाई छानेर दिइएको छ । छनोटहरु पनि वर्गतिर फर्किने बल भएको छ भन्ने याद गर्नुहोला ।’
उहाँले सरकारको ध्यान बढी नीति तथा कार्यक्रम, बजेटलाई वैज्ञानिक, वस्तुवादी, जनपक्षीय, परिणाममुखी बनाउनेतिर केन्द्रित रहेको बताउनुभयो । उहाँले विगतको जस्तो ख्याल ठट्टा नठान्न चेतावनी दिनुभएको छ ।
‘को को केन्द्रीय सदस्यले जिम्मेवारी पुरा गरे ? अभियानमा को कोले जिम्मेवारी पुरा गरेनन् । यसलाई विगतको जस्तो ख्याल ठट्टाको विषय बन्न दिइने छैन । आउने दिनमा केन्द्रीय समिति कस्तो बनाउने आधारमा कसलाई कस्तो रोल दिने भन्ने हुनेछ,’ उहाँले भन्नुभयो ।