आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटमा नेपालले कुवेतमाथि सहज जित निकालेको छ । दुबईको आईसीसी एकेडेमी मैदानमा कुवेतले दिएको २८ रनको सामान्य लक्ष्य नेपालले तीन ओभर तीन बलमा मात्रै एक विकेट गुमाएर भेटायो । नेपालको जितमा इन्दु बर्माले १३, कप्तान रुबिना क्षेत्रीले १२ रन बनाइन् ।
टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ दशमलव ४ ओभरमा अलआउट हुँदै जम्मा २७ रन बनाएको थियो । कुवेतलाई सस्तैमा समेट्न नेपालकी संगीता राईले तीन, करुणा भण्डारी र रुबिना क्षेत्रीले दुई/दुई र सरस्वती कुमारीले एक विकेट लिएका थिए ।
जितसँगै नेपाल चार अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । नेपाल पहिलो खेलमा हङकङसँग पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई हराएको थियो । ६ देश सहभागी एसिया छनाेटको शीर्ष स्थानमा रहने देशले सन् २०२३ मा दक्षिण अफ्रिका हुने टी–२० विश्व कपको ग्लोबल छनोट खेल्न पाउनेछ ।




















































