नारायण नेपाल
लगभग उचाईमा मैजत्रो मान्छे थियो उ । दर्बिलोसँग हात मिलाउँदा उसले दियो परिचय र भन्यो, कमरेड ! मेरो नाम आनन्द सापकोटा, कमरेड रमणको भाषामा डाँका ! यो कुरा सुनेर तिनछक खाएँ म । मैले त्यो मनुवाको चियो गर्न थालेको आज ठ्याक्कै १४ वर्ष भएछ । बन्दाबन्दीको बखत फोन गरेँ, सम्झिएँ एकपटक र केही कथा उतार्न थालेँ तपाईंलाई पस्कनुपर्छ भनेर । उसलाई उनले पनि दिल खोलेर भने अनौठो थियो त्यो जीवनको यो सत्यकथा । कति बगेको थियो कोल्पु खोलामा धमिलो पानी त्यो भन्दा पनि धेरै थिए त्यो मनका अमिलो समरका धमिलो कथाहरू ।
कुमरी गाउँ विद्रोहीहरूको किल्लाको प्रतिविम्ब थियो । त्यो गाउँभित्र पनि ति सबै विद्रोहीहरू भन्दा चर्का विद्रोही थिए, आनन्द सापकोटा । यतिबेला लगभग गुमनाम जस्तै छन् उनी । कुमरीमा भएको भ्रष्टाचार र अनियमितताको मुद्दाको फाइलहरू भूमिगत मार्गबाट अख्तियारको दैलो र गाउँका सिंहदरबारको मझेरी ओहोरी–दोहोरी गरिरहेछ । माओवादीहरूले मेयरको टिकट थमाएका जगत लामा पिता सुकुमानको सम्झनामा बनाएको अस्पतालबाट सिटामोल र सलाइन बाँडेर जनताको माया बटुलिरहेका छन् आजसम्म । यतिबेला कोरोना महामारीले माक्स र सेनिटाइजर बाँड्न भ्याइ–नभ्याई छ उनलाई । हाम्रो स्वभाव पनि उही त हो, सित्तैमा पाए तिनपाथी चुक खाने संस्कारको नेपाली न परियो, जितेका भन्दा हारेका मेयरको फुर्तिफार्ती चर्को छ । मान्छे त यो पो तगडा रहेछ भन्दै उकेरा लगाउन व्यस्त छन् गाउँलेहरू । उनी फुरुक्क पर्दै कुदिरहेका छन् । कतिपय चाहिँ जगतबहादुरको अनुहारलाई भन्दा उसले ल्याउने हरियो डलर देखेर मुख मिठ्याउँदै थिए । जलजले थाप्लोको यो कथाभन्दा पल्लोपट्टी रुपिङ डाँडामा भएको लक्ष्मेश्वरी मा.वि.लाई उ.मा.वि बनाउन लक्ष्मी कमजोर भएको भन्दै सप्ताह लगाउन विवश थिए गाउँलेहरू । यो त्यतिबेलाकै कुरा थियो, जतिबेला गाउँदेखि केन्द्रसम्मको सिंहदरबारमा कम्युनिस्ट नामधारीहरूको हालिमुहाली चलेको थियो । र, त्यो अभियानको नेतृत्वकर्ता चाहिँ मास्टरको स्थायी जागिर छोडेर जनयुद्धतिर पूर्णकालीन भएका शिक्षक नेता शम्भु पनेरु थिए । जनयुद्ध र त्यस अगाडी गरेर अनवरत १७ बर्ष नुवाकोट जिल्ला कमिटी सदस्य रहेका पनेरु जनयुद्धको उतालछालमा हेलिएर डाँडागाउँतिर सुस्ताएपछि भने स्कुल चलाउने र बनाउने यो अभियानमा दिलोज्यानले लागेका थिए । त्यो पनेरु सरको कथा एकबार फुर्सदमा उतारौंला । आज भने उनले लडेको जनयुद्धले के दियो दिएन त थाहा भएन, तर यो सप्ताहले भने विद्यालय सञ्चालनको लागि पैसाको जोहो मजैले ग¥यो माननिय कमरेडहरूले पनि दान गरे रुपिङ्ग डाँडामा उच्च शिक्षाको अध्ययनको नयाँ अध्याय सुरु भएको सत्य हो ।
कुनैबेला यस्तो माओवादी खोज्न र न्याय खोज्न मान्छेहरू कुमरीतिर लाग्ने गर्थे । यो आजभन्दा एकदशक अघिको कुरो हो । यतिबेला भने कुमरीका मान्छेहरू न्याय खोज्न अख्तियार र रवि लामिछानेको दैलोतिर किन पुग्छन् होला ? शिक्षा स्वास्थ्यलाई जनताको आधारभूत अधिकार ठान्ने कम्युनिस्ट पार्टीले सत्तामा हालीमुहाली गरेको बेलामा स्कुल चलाउन महायज्ञ लगाउँछन् । यो त्यहि गाउँको कुरा हो जुन गाउँले दशौँ वर्ष नुवाकोटको थवाङझैँ जनयुद्धको आधार किल्लाको पहिचान बनाएको थियो र झण्डै दुई दर्जन हाराहारी योद्धाहरूले रगत बगाएका थिए ।
किन गर्छ विद्रोह मान्छेले ? किन मान्छे विद्रोही बन्छ ? कसरी दबाइन्छ होला त्यो विद्रोह ? स्वार्थको ढाकछोपमा के–के हुन्छ जालीझेली कुराहरू राजनीतिमा ? त्यो गहिरो अध्ययन र अनुसन्धान गर्ने गरेको पाइन्न । धेरै ठालुहरूको जिन्दगी र स्वार्थको चित्रण होला भनेर गुमनाम भएका त्यस्ता पात्रको कथाले हामीलाई केही कुरा भने पक्कै पढ्ने अवसर मिल्नेछ ।
अझै लागेको छैन् आनन्दलाई मनमा आनन्द । उनको नाम आनन्द चाहिँ बाआमाले राखिदिएका हुन् । क्रान्तिको यात्रामा पवनको उपनाम पाएका उनी २०२९ सालमा नुवाकोट जिल्ला साविक बेलकोट गाविसको शेरामा जन्मिएका थिए । धन नहुनेको नाम धनबहादुर, बुद्धि नहुनेको नाम बुद्धिबहादुर र सबैभन्दा धेरै असन्तुष्ट विद्रोहीको चाहिँ नाम थियो आनन्द ! यस्तै छ यहाँ पनि । कलाकारमा तबला बजाउने थिए उनी । कतिपयले उनलाई तबला उपनामसमेत दिएका थिए । जनयुद्धको उठानपछि गाउँमा माओवादी समर्थकहरूमाथि व्यापक रूपमा दमन शुरु भएको थियो । त्यही दमनको कथा उतारेर संगीत र लयमा उतारेको सम्झना आनन्दको मनमा ताजै छ ।
सुन्नुहोस् है साथी हो, आफ्नो गाउँघरको खबर
गाउँमा बसी जीउन पनि भैसक्यो रहर ।
यो शब्द संगीत उनै कमरेड आनन्दको थियो । त्यतिबेलाको जनसेनाका कमाण्डर यमबहादुर अधिकारी ‘प्रतिक्षा’ र सहकमाण्डर रामबहादुर भण्डारी ‘ज्योती’ खुब तारिफ गर्दै हौस्याउँदै थिए आनन्दलाई । कुमरी, चन्द्रकान्त र माओवादी अन्तर सम्बन्धित छ । कुमरीमा माओवादी जन्माएको उनै चन्द्रकान्तले भन्ने श्रेय छ आजसम्म । कुमरी पञ्चायतमा थियो शारदाप्रसाद मुडवरीको साम्राज्य । त्यहाँ कसरी उदाएको थियो क्रान्तिको चेत विद्रोहको विगुल र विद्रोही चेतना उनैले लेखुन् । तर उनी माओवादीका गुरु थिए, कुमरीका । हुन त उनी गुरु नै हुन् । तर त्यो गुरु काल माक्र्स, स्टालिन, लेनिन, माओ होइनन् जस्तो केही युवाहरूलाई लागेको थियो । ती हाम्रो गुरु अवसरवादी नै गुरु थिए भन्ने आँकलन गर्ने युवाहरू वर्तमानमा उभिएर नियाल्दा त्यो चेतना वस्तुवादी देखिन्छ तर उबेला भने लगभग आन्तरिक सेभेटेज गरियो । यो गाउँमा जनमोर्चा चुनाव जिताएर आनन्दसँग बसेर जागिर खाउँला भन्ने ती गुरुको सपना भताभुंग पार्ने त्यो अराजक विद्रोही चेलो भनेको कमरेड आनन्द नै थियो ।
त्यतिबेला नुवाकोट जिल्ला पार्टीको बैठकले स्थानीय चुनाव बहिस्कारको निर्देशन दिएपछि कमरेडहरू दिनभरी बहिस्कार अभियान चलाउने र रातभरी घर–घर पसेर भोट माग्ने गर्दथे । जिल्लाबाट रामकृष्ण बानियाँको नेतृत्वमा बहिस्कार अभियान सञ्चालनका लागि कमरेडहरू गाउँ पसेका थिए । गाउँतिरको यो द्धैध चरित्रको चित्र आनन्दको ब्रह्मले देखेपछि रातभरीमा गाउँ पुगेर आफैँले बम बनाएर निर्वाचन केन्द्र छेउमा पड्काएर आफू पनि गाउँ छाडेर हिँडेका थिए । बम पड्किएपछि बिमला सुवेदीलाई खबर दिएर उनी भने जीवनपुरको पाखोतिर बसेर कुमरीको अवसरवादीहरूका रुवाबासीको रमिता हेर्दै थिए । किन होला बिमलालाई खबर गरेको ? भन्ने जिज्ञासामा उनी भन्छन्, ‘बिमला चाहिँ सोझीजस्तो लागेर किन फसाउनु भन्दै खबर गरेँ ।’ अनी अरु त सबै चोर र स्वार्थीजस्ता थिए । त्यसो हुँदा कसैलाई केही भनेनन् । पार्टीको लाईन नमान्नेहरूलाई एक दनक यो विद्रोहले पक्कै दिएको थियो । विद्रोह सकेर शहर छिरेका आनन्दलाई पार्टीले ठाउँको ठाउँ ६ महिना निलम्बन गरिदियो । त्यतिबेला माओवादीको उपत्यका इन्चार्ज थिए जल्दाबल्दा नेता कमरेड रविन्द्र श्रेष्ठ ‘अनुकुल’ । अखिल क्रान्तिकारीको विरेन्द्र मा.वि. इकाइमा संगठित भएर जनकलाकारसम्म भएका थिए आनन्द । त्यतिबेला राजकुमार पुडासैनी, चेतबहादुर गुरुङ्गहरू अघिल्लो कक्षाका थिए भने बिमला सुवेदी र लक्ष्मी मुडवरीहरू दोस्रो कक्षाका थिए ।
कहिलेकाहीँ त लाग्छ उनलाई, चन्द्रकान्तका चेलाहरू अधिकांस बदमास भेटिए यो जिन्दगीमा । गोपी भण्डारीले ‘भोट माग्न जाउँ जगतलाई’ भन्दै थियो तर मनले मानेन र गइनँ, उनी भन्दै थिए । वकिल र राजनीतिज्ञहरू फटाहा हुँदारहेछन् भन्ने म चाहिँ प्रष्ट छु । किनकी त्यतिबेला पनि २ सयप्रति रसिद बढी छपाएर पैसा उठाएको थाहा भएपछि पार्टीले छानविन गरेको काण्ड थियो नानिदेखि देखिने छाँटाकाँटा । तर त्यसपछि के भयो थाहा भएन । मान्छेहरूको आस्था कहाँ कति थियो ? त्यो उनै जानुन् । तर स्वार्थ चाहिँ भरपुर थियो अधिकांशका । कुमरीको प्रभाव व्यापक देखिएपनि जानेर सहिद भए, बुझेर सहिद भए, त्यो उनै जानुन् बाँकी धेरैचाहिँ डरपोक र डरछेरुवा कमरेडहरू नै थिए ।
त्यो बेलाको विस्फोटमा भने आफ्नै सीप र लगानीको त्यो प्रयोग आनन्दले गरेका थिए । पार्टीको लाइनविपरित जानेहरूका विरुद्धको झण्डा हो । उबेला सल्यानबाट पहिलो समाचार आएको थियोे भने दोस्रो विष्फोटनको घटना नुवाकोटको कुमरीमा भएको थियो । त्यही सल्यानको समाचार पढेपछि उर्जा पाएका थिए आनन्दले । जनयुद्धको पूर्वसन्ध्यामा देशव्यापी साँस्कृतिक कार्यक्रमहरू सञ्चालन भएका थिए । यही समयमा नुवाकोट जिल्लामा हितबहादुर तामाङ, माइला लामालगायतका नेताहरूको केन्द्रीय भूमिका रहेको पाइन्छ । २०५२ मंसिरमा पूर्वी क्षेत्रका धेरै जिल्लाहरूको साँस्कृतिक अभियानको झल्झली छ सम्झना आनन्दसँग । अभियानमा थिए यस्ता गीतहरू, हेरौँ एक अंश ;
क्रान्तिकारी नेपाल मुक्त बनाइदेउ
आउ न जनताको छ आव्हान
निस्क न झट्टै निस्क
बन्दुक बोकेर निस्क ।
रोहित कोइरालाको यो गीत पूर्वेली बस्तीहरूमा गाउने नाँच्ने मात्रै होइन, जनयुद्धमा बन्दुक बोकेर लाग्ने क्रान्तिकारी युवाहरूलाई अगाध प्रेरणाको स्रोत थियो । त्यो अभियानमा तबला बजाउँदै देशभरी चहारेका आनन्दको दिलदिमागमा पूर्वपश्चिमको घरदैलो अभियान झल्झली आइरहन्छ । यो महासमरको यात्रामा आनन्दसँग टकराएकाहरू यतिबेला चाहिँ कोही ओइलाएका छन्, कोही विलाएका छन् । स्वार्थ बोकेर आउनेहरूको यस्तै ताल हुन्छ । त्यही भएर होला उनी अनुमान गर्छन् आस्था र व्यवहारको नापजाँच गरे सबैको हिसाबकिताब क्लियर हुन्छ । आज सबै आस्था÷सपना अँध्यारो भयो । अब उज्यालो आउला कसरी ? आनन्दको मनमा उकुसमुकुस छ, मन मडारिइरहेको छ । मन मरे पनि सपना नमरोस् आनन्दको चाहना भने यही छ । अनी ति रमणको आरोपभन्दा पनि केही किन गलत भए भन्दा पनि प्रतिसोधको आँखाले राजनीति गर्नेहरूको दिन ढिलो या छिटो बर्बादी नै देख्न पाइन्छ, आनन्दको ठोकुवा थियो । त्यतिबेला साँस्कृतिक मोर्चाको इन्चार्ज थिए मणी थापा । उनको चर्चीत गीत थियो, त्यो त्यतिबेला राज्यले गरेको प्रहरी दमनको भण्डाफोर गर्दै गाएको गीत हाम्रो रोल्पामा ;
हाम्रो रोल्पामा पुलिस काँग्रेस पसेर
झिटिझाम्टा गरिबका लगे लुटेर
आजपनि उस्तै छन् देशमा कथाहरू जनताको । कम्युनिस्टको नामधारी सरकार छ । एक थरी कम्युनिस्टमाथि उस्तै अत्याचार चलेको बेला थियो । उनै कवि एवं गीतकार मणि थापाले लेखेको गीत जस्तो छ योबखत कतिका कथाहरू । उही गीत गाउँदैछन् सामाना साँस्कृतिक परिवारको जनकलाकारहरू यतिबेला पनि किन होला ? यस्ताउस्ता दृश्यहरू आँखा अघि फन्फनी घुम्न थालेपछि कसरी होला त आनन्दको त्यो मनमा आनन्द ?









































