आदित्य कमल
भारत
उनीहरूले भने –
‘ती मलाई बचाउन आएका हुन् ‘,
‘ सबै आफ्ना-आफ्ना घरमा बस !’
उनीहरूको शरीरमा बर्दी
र हातमा हतियार थियो
बिना वर्दीको हाकिम पनि थियो सँगै
र साथमा थियो सरकारी आदेश !
मैले भनें – मसँग घर छैन
भाडाको टहरोबाट पनि निकालिएको हुँ
तिनले भने –
बहस नगर ,देश सङ्कटमा छ
अनि ती हिड्न आँटे !
म चिच्याइरहें –
‘अनि म तीन दिनदेखि भोकै पनि छु…. !!’
भोलिपल्ट ति फेरि आए
पोलिथिनमा खिचडी दिए
भने – ती मलाई बचाउन आएका हुन्
मैले सोधें – म कैलेसम्म
यो जर्जर छिंडीमुनि बसिरहौं ?
मैले कैलेसम्म भेट्टाउँछु खिचडी ?
अनि के बिहान बेलुकै पाइन्छ ?
तिनले भने –
बहस नगर ,अहिले भेटेको छस , खा
जहाँ छस ,बसिराख ; देश शङ्कटमा छ !
अर्को दिन ती फेरि आए
भने – ती मलाई बचाउन आएका हुन्
मैले सोधें – आजको खिचडी ?
तिनले भने –
यहाँबाट तीन किलोमीटर टाढा क्याम्प चलाएको छ
अब त्यहीं पाइन्छ …
मैले भनें – तर तपाईले त भन्नु भएको थियो
जो जहाँ छ……..
तिनले भने –
बहस नगर , देश सङ्कटमा छ
र ती हिड्न थाले …!
म खिचडी क्याम्पतिर लागें
त्यहाँ भोकाहरूको भिड थियो
मैले सोधें – यो के हो ?
उनीहरूले भने – यही त हो व्यवस्था
मैले जान्न चाहें –
के खिचडीको मात्रै ब्यबस्था गर्ने हो ?
तर त्यहाँ त खिचडी पनि अव्यस्थित थियो
भिड पनि अव्यवस्थित थियो
… त्यसपछि लाठी चल्न थाल्यो
हामीलाई लखेटियो…!!
ती फेरि लाठी लिएर मेरो अघिल्तिर थिए
भने – हामी तँलाई बचाउन आएका हौं
म चिच्याएँ-
‘हद भयो !’
‘तिमीहरू हामीलाई भोकै मार्न आएका हौ ‘
ती लाठी नचाउन थाले ,
भने-बहस नगर , हल्ला नगर
देश शङ्कटमा छ …र हिड्न थाले !
मैले हेरिरहें ….देश !
मैले हेरिरहें….खिचडी !
मैले हेरिरहें…भोकाहरूको भिड
असहाय , अलपत्र , आश्रयहीन !
मैले हेरिरहें ,त्यो देशको सीमानामा
यो छिंडीबाट त्यो छिंडी ,
एताबाट उता ,
हामीलाई लखेट्ने व्यवस्था ।
म चिच्याएँ – ए ,हामी सङ्कटमा छौं !
ती उभिए , लाठी देखाए र कराए –
‘चुप , बहस नगर , देश सङ्कटमा छ..! ‘
अनुवादः बलराम तिमल्सिना