नुवाकोटमा अब तीन महिनाका लागि नदिजन्य सामान उत्खननमा रोक लगाइएको छ ।जिल्ला अनुगमन तथा समन्वय समिति नुवाकोटले तीन महिनाका लागि नदी उत्खननमा रोक लगाएको हो ।
जिल्ला समन्वय समितिले राखेको प्राकृतिक स्रोतधनको स्थानीय सरकार प्रमुखसहितको समन्वय बैठकमा असारदेखि असोजसम्म तीन महिना नदी उत्खननमा रोक लगाउने निर्णय भएको हो ।
बैठकले जिल्लाको त्रिशूली, तादी, लिखु, फलाखु, सलाखु, सामरी, कोल्पु लगायतका खोलाबाट बालुवा, ढुङ्गा, गिट्टी लगायतका सामग्री उत्खननमा पूर्ण निषेध गर्नुका साथै उत्खनन गर्ने सामान बगरमा लगे पनि त्यस्तो कार्य आपराधिक मानेर नियन्त्रण गर्न प्रहरी परिचालन गर्ने निर्णय गरेको छ।
असार १ गते भन्दा अगाडि उत्खनन गरेको सामग्रीलाई स्टक प्रमाणित गरी बिक्री वितरण गर्न पाइनेछ । जिल्ला समन्वय समितिको प्रमुख सन्तमान तामाङले नदीजन्य पदार्थको उपयोग सही तरिकाले हुन नसकेको बताएका छन्। उनले नदीजन्य पदार्थको सही उपयोगका लागि अनुगमनमा थप कडाइ गनुपर्ने र असार १ बाट भदौ मसासन्तसम्म नदीजन्य सामाग्री उत्खनन गर्नेलाई मुद्दा लगाउने निर्णय भएको बताएका छन्।
प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले अब असार साउन भदौ ३ महिनाभर कुनै पनि मेसीन औजार प्रयोग गरेर नदीजन्य वस्तु उत्खनन गर्न नपाइने बताए । यदि कसैले नियमविपरीत गरेमा कानुन बमोजिम कारबाही गरिने जानकारी दिए ।