काठमाडौं ।
सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेकपाको भ्रातृ संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धुकुमारी चन्दलाई प्रहरीले पुनः पक्रेको छ । यसअघि विभिन्न जिल्लाबाट पक्राउ पर्दै आएकी चन्दलाई हिजो प्रहरीले दाङबाट पक्रेको हो।
उनी पक्राउ परेको यो आठौं पटक हो। सार्वजनिक मुद्दामा २५ दिन प्रहरी हिरासतमा बसेकी चन्दलाई आइतबार जिल्ला प्रशासन कार्यालय दाङले थुनामुक्त गर्न आदेश दिएको थियो।
सोही आदेशअनुसार दुई हजार रुपैयाँ धरौटीमा छुटेकी चन्दलाई प्रहरीले जिल्ला प्रशासन कार्यालयको गेटबाटै पुनः पक्राउ गरिएको हो। २०७५ चैत ११ मा अछाम जिल्लाबाट पक्राउ परेकी चन्दलाई कैलाली, बर्दिया,बाँके हुँदै २०७६ चैत ११ मा दाङ ल्याइएको थियो। पक्राउ परेकी चन्दलाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तु लैजाने बताइएको छ।
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माथी प्रतिबन्ध लगाएर धमाधम नेता कार्यकर्तालाइ पक्राउ गर्दै आएको छ ।