-प्रकाश फुयाल
ककनी १ नुवाकोट
हिजो वर्गविहीन समाजको
वाउसे गर्न हिँडेकाहरु,
सडकमा छन् कि महलमा छन् थाहा छैन
भन न ए हिजोका राता मान्छेहरु
आज तिमी कहाँ छौ ?
सदनमा छौ कि सडकमा छौ ?
झुपडीमा छौ कि दरवारमा छौ
हिजो तिमीले बोकेका जनताका मुद्दाहरु
कहाँ पोको पारेर राखेका छौ ?
भेरीमा फालेर आयौ कि राप्ती सेलाएर आयौ ?
आज हजारौं निर्मलाहरु भन्दै छन्
के यही हो हामीले पाएको गणतन्त्र ?
मालीकै भर नभएपछि
अव त फूलहरु पनि
फुल्न मान्दैनन् होला बगैँचामा सायद ।
आकाशतिर फर्केर हेर्छु
काला बादलहरु मडारिएको देख्छु
मन भित्र भित्र भुँईचालो जान्छ
हिजो जनताको बिचमा ठड्याईएका
सपनाका पुलिन्दाहरु गर्ल्याम गुर्लुम्म ढल्छन् ।
बिर्खे बाको आँखामा आँशु ज्युँ का त्युँ छन्
सपनाहरु ज्युँ का त्युँ छन्
खोई के गर्न भनेर हिजो तमसुक लिएका थिए रे
आज त ऋणको भारी बोकाएर पठाएछन्
धिक्कार छ ,
मैले भोगेको गणतन्त्र पनि यस्तै रहेछ ।
कति मरे थाहा छैन
कति बेपत्ता छन् थाहा छैन
घाईतेहरु शैन पल्टिएका घाउ सुम्सुमाउदै छन्
मर्नेहरु शहीद भए कि भएनन् थाहा छैन
बाँच्नेहरु गन्हाउने डकार फालेको फाल्यै छन्
यो त्रासदी भित्र रुमलीएकाहरु
घोर अन्धकार चिर्न
चीर निद्रामा सुतेकाहरु व्युँतेर
फेरी मसाल बाल्छन् कि बाल्दैनन् थाहा छैन ।