पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोधमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको आह्वान गरेको छ । बन्दको देशका केही भागमा प्रभाव देखिएको छ । नेकपाका कार्यकर्ताहरुले ललितपुरमा एउटा साझा बस तोडफोड गरेका छन् ।
ललितपुरको इटी चोकमा पेट्रोलपम्प नजिक बा ५ ख ८७५५ नम्बरको साझा बसको पछाडिपट्टीको भागमा विप्लवका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् । प्रहरीले काठमाडौंबाट २१ जना र ललितपुरबाट एकजना बन्दकर्तालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी सुशीलसिंह राठोरले जानकारी दिनुभयो ।
उता चितवनमा बिहानदेखि बन्द गराउँदै हिँडेका १० जना पक्राउ परेका छन् । सवारी रोक्दै हिँडेका १० जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा अनेरास्ववियु क्रान्तिकारीका बाग्मती प्रदेश इञ्चार्ज राजन साउदसहित अन्य कार्यकर्ता हुन् ।
बन्दको केही प्रभाव देखिएको छ । काठमाडौँमा सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् । कलंकी, नयाँबसपार्क, कोटेश्वर, बल्खु, बालाजुलगायतका स्थानमा यात्रुहरू गाडी कुरिरहेका देखिन्छन् । काठमाडौं उपत्यकाबाट बाहिरिने गाडीहरू पनि निकै कम छन् । काठमाडौं उपत्यकाभित्र निजी कार र मोटरसाइकलहरू भने चलिरहेका छन् । तर ती पनि अघिल्ला दिनको तुलनामा कमैमात्र चलेका छन् । यस्तै महाराजगञ्जबाट तीन जना र साँखुबाट दुई जना गरी पाँच जना बन्दकर्ता पक्राउ परेका छन् ।
बन्द गराउन सडकमा निस्केका ६ कार्यकर्तालाई प्रहरीले चोरमाराबाट पक्राउ गरेको छ । नवलपुरको चोरमाराको राजमार्गमा ढुंगामुढा राख्दै गरेको अवस्थामा पक्राउ गरेर कावासोतीमा ल्याइएको जिल्ला प्रहरीले जानकारी दियो ।
उता सुर्खेत बजार बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वको नेकपाका दुईजना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर–२ का २० वर्षीय दिनेश बोगटी र कालीकोटको सन्नी त्रिवेणीका ३० वर्षीय तुलाराज तिरूवालाई नियन्त्रणमा लिईएको हो।
Recent Comments