नवलपुर ।
यस वर्षको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार ज्योति अधिकारीलाई प्रदान गरिएको छ । राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट प्रदान गरिने २० हजार राशीको पुरस्कारका लागि परेका आवेदक मध्येबाट ‘नेपाल समय डटकम’ मा कार्यरत चितवनकी अधिकारीलाई प्रदान गरिएको हो । आज नवलपुरको कावासोतीमा आयोजित पुरस्कार वितरण कार्यक्रममा गण्डकी प्रदेश विधायन समितिका सभापति तथा नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले पुरस्कार राशीसहित दोसल्ला र सम्मान पत्र प्रदान गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले राधाले समाजप्रति गरेको योगदान कहिल्यै भुल्न नहुने बताउनुभयो । उहाँले आफ्नो पीडा लुकाएर नै समाज परिवर्तनमा लागेकी राधाको साहसप्रति सम्मान व्यक्त गर्नुभयो । राधा क्यान्सर सचेतना फाउण्डेसनको सुझावअनुसार नै गण्डकी प्रदेशमा महिलाहरुको पाठेघर र स्तन क्यान्सरको उपचार निःशुल्क गरिएको भन्दै उहाँले भन्नुभयो ‘फाउण्डेसनका तर्फबाट हामीलाई धेरै सुझाव पनि दिनुभयो । राधाको उपचार नजिकैबाट देख्यौँ र हामीले पहल गरेर प्रदेशभरिका आमा दिदी बहिनीको पाठेघर र स्तनक्यान्सरको उपचार निःशुल्क बनायौँ’।’
उहाँले पत्रकारिताको माध्यमबाट आवाज बुलन्द बनाएर पीडितहरुको पक्षमा लाग्न पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । यस्तै कार्यक्रममा बोल्दै नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले हिंसामा परेका महिला तथा पुरुषका लागि सहयोग गर्न रकम विनियोजन गरेको बताउनभयो । उहाँले जुनसुकै हिंसालाइ निरुत्साहित गर्न आफू सदैव तयार हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा फाउण्डेसनका अध्यक्ष प्रकाश बस्यालले हरेक अस्पतालमा क्यान्सर परिक्षणको सुविधा उपलब्ध गराउन पहल गर्नुपर्ने बताउनुभयो । उहाँले क्यान्सर अस्पतालमा बिरामीहरुले सहजै सेवा पाउन कठिन भएको बताउनुभयो ।
‘क्यान्सर अस्पतालमा सहजै सेवा पाउन मुस्किल छ पहिलो स्टेजमा पुगेको बिरामी उपचारका लागि पालो पर्खदा पर्खदै तेस्रो स्टेजमा पुग्छ यसको व्यवस्थापनमा प्रदेश सरकारले चासो दिनुपर्यो’ उहाँले भन्नुभयो ।
फाउण्डेसनले स्वर्गीय पत्रकार राधा बस्यालको जन्मजयन्तीमा हरेक वर्ष हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्दै आइरहेको छ । वि.सं. २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गते स्तन क्यान्सरबाट निधन भएको थियो । एक दशक भन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जीवनपछि व्यक्तिगतरुपमा घरेलु हिंसा र क्यान्सरसँग लड्नु परेको थियो ।
क्यान्सर लागेपछि राधाले पत्रकारितासागै समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सञ्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ गाउँमा सचेतना अभियानसमेत चलाउनुभएको थियो । राधाको निधनपश्चात फाउन्डेसनलाई उहाँका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिनुभएको छ । गत वर्षको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार बर्दीयाकी समृद्धा केसीलाई प्रदान गरिएको थियो ।