प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङले छहरे-टोखा सुरुङमार्ग निर्माण सकिने मिति तोक्न माग गर्नुभएको छ । आर्थिक वर्ष २७९/८० को बजेटमाथिको छलफलमा भाग लिँदै सांसद तामाङले वर्षौंदेखि छहरे-टोखा सुरुङको सम्भाव्यता अध्ययनमात्रै भनिएकोले यो सोच परिवर्तन गर्न सरकारसँग माग गर्नुभएको हो ।
‘काठमाडौं उपत्यकाको चारभञ्ज्याङमा सुरुमार्ग निर्माण गर्ने कुरा आर्थिक वर्ष २०७५/७६ देखि नै आएको हो । तर अहिले पनि छहरे-टोखा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भनिएको छ । यसरी भनेर हुँदैन । यति वर्षभित्र निर्माण कार्य सम्पन्न गरिसक्ने भन्ने हिसाबले सोच्नु पर्छ,’ उहाँले भन्नुभयो ।
पूर्वमन्त्री तामाङले बारम्बार छहरे-टोखा सुरुङको शीर्षक कायम गराएर ल्याउने तर तर काम अघि नबढाएर झारा टार्ने काम मात्रै गरेकोमा आपत्ति जनाउनुभयो । सुरुङको सम्भाव्यताका लागि मात्रै बजेट छुट्याउँदा आफूहरुले मतदाता/जनतालाई बुझाउनसमेत समस्या परिरहेको उहाँको भनाइ थियो । ‘छहरे-टोखा सुरुङको बारम्बार शीर्षक कायम भएर आउने तर काम नहुने अवस्था छ । यो झारा टार्ने खालको कार्यक्रमका रुपमा मात्रै लिने खतरा हुन्छ । त्यसले गर्दा हामी जनप्रतिनिधिले जनतालाई विश्वस्त तुल्याउन गाह्रो हुन्छ । त्यस विषयमा पनि सम्बन्धित मन्त्री र मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु,’ उहाँको भनाइ थियो । यस्तै बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर विस्थापन गर्दा प्रभावित जनताको जग्गा अधिग्रहण गर्नका लागि मुआब्जा बजेट नछुट्याइएकोमा पनि उहाँले आपत्ति जनाउनुभयो । ‘काठमाडौंलाई हराभरा, सुन्दर बनाउने भनिएको छ । व्यवस्थित सहर बनाउने भनिएको छ तर नुवाकोट र धादिङको बीचमा रहेको बञ्चरेडाँडामा फोहोर विस्थापन गर्दैगर्दा त्यहाँको स्थानीय जनतालाई पर्ने प्रत्यक्ष प्रभावलाई ख्याल गरेर जनताको जग्गा राज्यले ग्रहण गर्ने र त्यसका निम्ति सरकारको तर्फ मुआब्जा दिन कम्तीम १०-१५ अर्ब पैसा छुट्याएको हुनुपर्नेमा त्यो देखिएन । त्यसले गर्दा धेरै समस्या हुने देखिएको छ । त्यसैले सहरी विकासमन्त्रीजी यहाँ हुनुहुनुहुन्छ, उहाँ र मन्त्रालयको विशेष ध्यानाकर्षण गराउन चाहन्छु’ उहाँको भनाइ थियो ।