नेपालगञ्ज ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्प गर्नुपर्ने बताउनुभएको छ ।
निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को नेपालगञ्जमा जारी सातौँ महाधिवेशनमा बोल्दै सार्वजनिक तथा निजी शिक्षण संस्थाले दक्ष जनशक्ति उत्पादन गर्नेमा संकल्प गर्नुपर्ने बताउनुभयो ।
राज्यको ३० प्रतिशत व्यायभार बोकेको निजी शिक्षण संस्थाले विद्यार्थीलाई संस्कार र संस्कृति सिकाउनुपर्ने बताउँदै उहाँले वर्तमान अवस्थामा संस्कार र संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
“विज्ञहरुले नैतिक शिक्षा विषयका रूपमा राख्नुपर्छ भन्नुभएको छ,” उहाँले भन्नुभयो, “आजभोलि समाजमा अरजकता, अश्लीलता बढेर गएको छ, जिम्मेवारीबोध कम हुने, अधिकारको खोजी मात्रै हुने, आफ्नो भूमिकालाई बिर्सने संस्कार र सस्कृति बढेर गएको छ, यसलाई नियमन गर्ने भनेको शिक्षा हो ।”
शिक्षालाई व्यवस्थित गरी उत्पादन जनशक्तिलाई अनुशासित बनाउन सके बिग्रँदै गएको संस्कार र संस्कृृतिलाई लयमा फर्काउन सकिने उहाँको भनाइ थियो । मन्त्रालयले कुनै पनि शिक्षालाई विभेद नगर्ने बताउँदै बन्दै गरेका ऐन शिक्षामैत्री बन्ने बताउनुभयो ।
१० वर्षे शिक्षाका योजनाहरु सार्वजनिक गरेको बताउँदै मन्त्री पौडेलले निजी क्षेत्रको सम्पत्ति सुरक्षा गर्ने राज्यको दायित्व भएको बताउनुभयो ।
राज्यको तर्फबाट प्रचलित कानुनअनुसार सबैलाई समेटेर जाने बताउँदै उहाँले प्रदेश र स्थानीय तहलाई अधिकार दिने विषयमा कञ्जुस्याइँ नगर्ने बताउनुभयो ।