नुवाकोट ३१ भदौ ।
नेकपा माओवादी केन्द्रका दिवंगत नेता पोष्टबहादुर बोगटीको स्मृतिमा नुवाकोटमा रक्तदान कार्यक्रम गरिएको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति नुवाकोट, सहिद प्रतिष्ठान नेपाल नुवाकोट र जनजागृत युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरे । बोगटीको दशौँ स्मृति दिवसको अवसरमा नुवाकोट पिपलटारमा रहेको पोष्टबहादुर बोगटी स्मृति पार्कमा कार्यक्रम गरिएको थियो ।
रक्तदानअघि आयोजना भएको स्मृति सभामा सांसद हितबहादुर तामाङ, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक पुष्प लामिछाने, बोगटीका धर्मपत्नी राममाया बोगटीलगायतले बोगटी योगदान र राजनीतिक जीवनको चर्चा गर्नुभएको थियो । दिवंगत नेता बोगटी तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष हुनुहुन्थ्यो । नुवाकोटमा जन्मिएका बोगटीको ६१ वर्षको उमेरमा २०७१ साल भदौ ३० गते हृदयघातका कारण निधन भएको थियो । बोगटीका एक मात्र छोरालाई तत्कालीन माओवादी जनयुद्धमा सहिद हुनुभएको थियो । उहाँका श्रीमती र छोरीहरु राजनीतिमा सक्रिय छन् ।