बिरामी भएर गम्भीर अवस्थामा उपचाररत प्रगतिशील गायक जेबी टुहुरेलाई काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भेट्नुभएको छ । अहिले गायक टुहुरे बल्खुस्थित बयोधा अस्पतालको सीसीयू कक्षमा उपचाररत हुनुहुन्छ । टुहुरेलाई भेटेपछि शर्माले सामाजिक सञ्जालमा पोष्ट गरेर टुहुरेको स्वास्थलाभको कामना गर्नुभएको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँलाई ‘स्ट्रोक’ भएको हो । परिवारजनका अनुसार ७६ वर्षीय टुहुरे मंगलबार दिउँसो घर कलंकीमै अचानक बेहोस भएर लडेपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।
डेढ सयभन्दा बढी गीत गाएका टुहुरेकाे सबैभन्दा चर्चित गीत हो– ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’।
यस्तै ‘बसाइँ हिँड्नको ताँतीले बस्नेको मन रुँद छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’ बोलको गीत पनि निकै चर्चित छ । २०२४ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो ।
सुनसरीको धरान घर भएका उहाँ दोस्रो संविधान सभामा तत्कालीन एकीकृत नेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बन्नुभएको थियो ।
उहाँको नाममा जेबी टुहुरे फाउन्डेसनसमेत स्थापना गरिएको छ । २०७५ सालमा स्थापित फाउन्डेसनको अध्यक्ष उनकी छोरी निर्भीका छन् ।
काँग्रेस प्रवक्ता शर्माले लेख्नुभएको छ, ‘जेबि टुहुरे, अत्यन्तै गम्भीर स्थितिमा उपचाररत हुनुन्छ । नेपालको कम्युनिस्ट आन्दोलनको एक शसक्त आवाज सबल स्रस्टाको सिघ्र स्वास्थलाभ कामना !
आज बयोधा अस्पताल पुगेर, आदरणीय भाउजु र परिवारजनलाई भेटेर स्वास्थलाभ कामना गर्यौं । जेबि दाई स्वस्थ भएर फर्कनु होस्,भगवानसँग यहि प्रार्थना छ ।’
यस्तो छ, विश्वप्रकाश शर्माको स्टाटस