एजेन्सी ।
बलिउड अभिनेता इरफान खानको निधन भएको छ । ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएको हो।
यही शनिबार उनकी आमा शहिदा बेगमको ९५ वर्षको उमेरमा निधन भएको थियो। सइदा बेगमको राजस्थानको जयपुरमा निधन भएपछि लकडाउनका कारण इरफानले अन्तिम संस्कारमा जान पाएका थिएनन्। आफैं पनि गम्भीर बिरामी परेका कारण अन्तिम संस्कारमा जान नपाएका उनले भिडियो कन्फरेन्समार्फत आमालाई बिदा गरेका थिए।
उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो। पछिल्लो पटक उनी मुम्बईको कोकिलाबेन अस्पतालमा उपचाररत थिए।
निर्देशक सुजीत सरकारले इरफान खानको निधनको पुष्टि गरेका छन्। इरफान एकसाताअघि घरको बाथरुममा लडेका थिए। त्यसपछि उनलाई अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। मार्च २०१८ मा इरफानलाई आफ्नो रोग थाहा भएको थियो। उनी आफैँले यो खबर सार्वजनिक गरेका थिए। लण्डनमा उचपारपछि उनी २०१९ अप्रिलमा भारत आएका थिए।
भारत आएपछि उनले ‘अंग्रेजी मीडियम’ फिल्मको सुटिङ गरेका थिए। राजस्थानको जयपुरमा सन् १९६७ मा जन्मिएका खानको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको ‘अंग्रेजी मिडियम’ हो । उनले सन् १९८८ मा रिलिज भएको सालम बम्बे मुभिबाट करियर सुरु गरेका थिए। उनलाई सन् २०११ मा भारतको प्रतिष्ठित पद्यमश्री अवार्डबाट सम्मानित गरिएको थियो। इरफानले बिरामी परेयता एउटा मात्र चलचित्र ‘अंग्रेजी मिडियम’मा अभिनय गरेका थिए। उनले सलाम बम्बे, मकबुल, पानसिंह तोमर, लञ्चबक्स, हाइदर, हिन्दी मिडियम जस्ता चलचित्रमा अभिनय गरेका छन्। इरफान हलिउडमा समेत सफलता हासिल गरेका सीमित भारतीय अभिनेतामध्ये पर्दछन्। स्लमडग मिलेनियर, जुरासिक वर्ल्ड, अमेजिङ स्पाइडर–म्यान तथा लाइफ अफ पाइ उनले अभिनय गरेका हलिउड चलचित्र हुन्।