बलराम तिमल्सिना
पहिले तिमी पनि कमरेड थियौं
पहिले म पनि कमरेड थिएँ
पहिले हामी दुवै जना कमरेड थियौं
तिमी र म मात्र होइन
अरु धेरै जना कमरेड थियौं !
जति वेला हामी कमरेड थियौं
बगरमा, पत्करमा
भिर कन्दराहरूमा
र,चिहानमाथि पनि मजाले निदाउन सक्थ्यौं
काँधमा भिरेका गोलीका माला हामीलाई फूलका मालाजस्तै लाग्थ्यो !
जति वेला हामी कमरेड थियौं
विकट गाउँहरू हाम्रा राजधानी थिए
झुपडीहरू सिसमहलहरू थिए
बासी रोटी या बासी भात
पिज्जा र बर्गरभन्दा प्रिय थिए !
हामी कमरेड रहँदाका बखत
किसान र मजदूरहरू
हाम्रा नङ र मासुजस्तै साथी थिए
दलित र जनजातीहरूसँग
माछी र पानीझैं नाता थियो
सिङ्गै महिला संसार
आमाको काख झैं न्यानो थियो
मधेशीहरू र मुस्लिमहरू
वालसखा/सखी झैं
आत्मीय र भरोसायोग्य थिए !
जति बेला हामी कमरेड थियौं
हाम्रा आँखामा थियो
नविन बिहानीको सुन्दर सपना
झोलामा थिए
बर्ग दुश्मनका नामावली
कम्युनिष्ट घोषणा पत्र
सहिदका तस्विरहरू
एउटा रातो झण्डा
र प्रिय/ प्रियसीलाई लेखेका चिठ्ठीहरू !
कमरेडसँग भागेर अचेल हामी
गाउँको झुपडीमै छोडेर
कमरेड पहिचान
उतै फालेर कम्युनिष्ट घोषणा पत्र
रातो झण्डा
सहिदका तस्विर
र प्रेमपत्रहरू
सबै उतै मिल्काएर
हाड मासुको एउटा आकृति बोकेर
अचेल सहरका गल्ली गल्ली डुल्छौं
आफ्नै बिगत संझेर तर्सन्छौं
आफू विगतमा कमरेड भएको कुरा
लाजले लुकाएर अरुसँग
हामी अन्टसन्ट परिचय दिन्छौं !
अचेल हाम्रो झोलामा
बर्ग दुश्मनका नामहरू छैनन्
छन त ती नामहरूकै सूची छ
तर त्यसको सिरानमा लेखिएको छ
‘चन्दादाता मित्रहरूको नामावली’
अब हाम्रो झोलामा
छैन कम्युनिष्ट घोषणापत्र
लडाइँ अन्त गरेको घोषणापत्रले
कम्युनिष्ट घोषणापत्र अलपत्र भयो
न त छ रातो झण्डा झोलामा
बरु छन् –
सरकारी जमीनका लालपूर्जा
केही थान यौनवर्धक चक्कीहरू
र कण्डमका केही प्याकेटहरू !
अचेल हामीलाई
किसान मजदूर दुश्मन लाग्छ
तस्करहरू प्रिय लाग्छ
अचेल हामीलाई
जनजातीहरू किचकिचे
महिलाहरू उपभोग्य बस्तु
र मधेशीहरू बिचाराधीन नागरिक लाग्छ
जस्तो जस्तो लाग्थ्यो
हिजो हाम्रा दुश्मनलाई
आज हामीलाई त्यस्तै लाग्छ !
कमरेड कुहेपछि
कति वाहियात चिज बन्ने रहेछ
आज हामीलाई देखेर
आँखा छोप्नेहरू
जिब्रो झिक्नेहरू
र मुख बिगार्नेहरू देखेर
हामी आफैं छक्क पर्छौं !
अब हामीसँग केही पनि छैन
कसैलाई सुनाउन लायक
कुनै गर्व लाख्ने कुरा
छ भने एउटै कुरा छ –
बुढो लाउरेको कथाजस्तै
सुनाउन एउटै कुरा छ-
“पहिले पहिले हामी पनि कमरेड थियौं” !
Recent Comments